घर बनाउनका लागि दबाब दिन प्राधिकरण गाउँमा

घर बनाउनका लागि दबाब दिन प्राधिकरण गाउँमा

गोरखा, असार ६ । गत वर्षको भदौमा रु ५० हजारका दरले अनुदान रकम लिए पनि घर निर्माण सुरु नगरेका भूकम्पपीडितलाई छिटो घर बनाउन दबाब दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखाको गाउँगाउँ पुगेको छ ।

प्राधिकरणका जिल्ला प्रमुख राजेन्द्र कार्कीले सुलिकोट गाउँपालिका पुगेर छ हजार ६०७ जना लाभग्राहीमध्ये पाँच हजार ८८३ जनालाई पहिलो किस्ता उपलब्ध गराएपनि उनीहरुले घर नबनाएका कारण दोस्रो र तेस्रो किस्ता वितरण प्रभावित भएको बताउनुभयो ।

सुलिकोटमा बारपाक, स्वाँरा, सौरपानी, ताकुमाझ लाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवादेउराली गाउँ पर्छन् । यी गाउँका भूकम्पपीडितमध्ये ३१३ जनाले मात्रै दोस्रो किस्ताको रकम बुझेका छन् । पहिलो किस्ता बुझेर घरको जगसहित डिपिसी गरेपछि दोस्रो किस्ता माग गर्न पाइने प्रावधान रहेको छ । तर पहिलो किस्ता बुझेका अधिकांश भूकम्पपीडितले घर बनाउन सुरु नगर्दा दोस्रो किस्ता वितरण हुन सकेको छैन ।

सुलिकोटका ९०० भूकम्पपीडितले आफूहरु वास्तविक भूकम्पपीडित भए पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै उजुरी दिएका थिए । तीमध्ये २२२ लाभग्राहीको सूचीमा परेको कार्की बताउनुहुन्छ । पुनःनिर्माणको वर्तमान अवस्था, गतिविधि, समस्या, चुनौती र समाधानका उपाय खोजी गर्ने उद्देश्यले आफूहरु गाउँ अभियानमा हिँडेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – “आफ्नो गाउँ, टोल, गाउँपालिकामा किन घर बनेनन् भन्नेबारे जनप्रतिनिधिले चासो र चिन्ता लिनुपर्छ । प्राविधिक गाउँ–गाउँमा खटाएका छौँ । पहिलो किस्ता वितरण गरिसक्यौँ, दोस्रो किस्ता किन माग गर्नुहुन्न ? खुरुखुरु घर बनाउनुहोस् हामी अनुदान छिटोछिटो पठाउँछौँ ।” लालपुर्जा नभएका, सुकुम्बासीलगायतका समस्या पनि छिट्टै समाधान गरिने कार्की बताउनुहुन्छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यकारी प्रमुख, वडा सचिव, निर्वाचित अन्य सदस्य, प्राविधिक राखेर प्राधिकरणले अन्तक्र्रिया कार्यक्रम गरी पुनःनिर्माणलाई तीव्रता दिन आग्रह गरेको छ । कार्कीले भन्नुभयो – “घर भत्केर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन भने अब वडाध्यक्षसहितको टोलीले लाभग्राही पहिचान गर्नेछ । त्यसका लागि छिट्टै कार्यविधि आउँछ । स्थानीयस्तरबाटै लाभग्राहीको पहिचान गरी अनुदान रकम दिने व्यवस्था मिलाउँछौँ ।”

सुलिकोट–६ का बाबुलाल गुरुङले चारपटकसम्म प्राविधिक तथा इञ्जिनियर बोलाएर घर देखाए पनि दोस्रो किस्ता नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – “चारपटकसम्म प्राविधिक बोलाएर घर देखाए, तर मापदण्ड पुगेको छैन भनेर दोस्रो किस्ताको फाइल अघि बढाइदिनुभएन । मापदण्डमात्रै हेरेर हुँदैन, भूकम्पप्रतिरोधी घर छ भने अनुदान रकम पाउनुपर्छ ।”

यस्तै सुलिकोट–१ बारपाकका वडाध्यक्ष रोशन विकले प्राधिकरणले घरका मापदण्ड तथा प्राधिकरण नै गठन हुनुपूर्व त्यहाँ बनिसकेका घरले अनुदान रकम पाउँछन् या पाउँदैनन् भन्दै प्रश्न गर्नुभयो । उहाँले प्राधिकरणले जारी गरेका बाहेक अन्य नक्सामा आधारित रहेर बनाइएका घरलाई पनि दोस्रो किस्ता वितरणमा आलटाल गरिएकामा स्थानीयवासीले दुःख पाएका बताउनुभयो ।

उहाँले भन्नुभयो – “बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान बनाउने भनिएको छ । घेराबारका लागि टेन्डर पनि भइसक्यो भन्ने सुनेँ । त्यहाँका ४० घरधुरीका दलितलाई कहाँ स्थानान्तरण गर्ने हो कसैले चासो र चिन्ता देखाएका छैनन् ।”

सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले प्राविधिकबीच समन्वय गर्ने एकजना वरिष्ठ प्राविधिकको गाउँपालिकामा खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमा जताततै घर बनाउनुपर्नेछ । निर्माण सामग्रीको मात्रै होइन प्राविधिकको पनि अभाव झेल्नुपर्दा पुनःनिर्माणले गति लिन सको छैन । बर्खा लाग्यो, पीडित टहरामा बसिरहेका छन् । धमाधम पीडितले घर बनाउन थाले र अनुदान रकम पनि वितरण गर्न सकियो भनेमात्रै पुनःनिर्माणले गति लिन्छ ।”

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निजी आवास पुनःनिर्माणलाई रु दुई अर्ब बजेट आएको भन्दै अहिलेसम्म जम्मा रु ५० करोडमात्रै खर्च भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रु दुई अर्ब बजेटमध्ये एक वर्षमा जम्मा रु ५० करोड खर्च भएको छ । दोस्रो र तेस्रो किस्ता माग नभए असारपछि बजेट फ्रिज भएर जान्छ ।” गत वर्ष भदौमा ५४ हजार लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिएको थियो ।

जिल्लाका ५८ हजार ५०३ लाभग्राहीमध्ये ५४ हजारले गत वर्ष भदौमा रु ५० हजारका दरले अनुदान रकम बुझेका थिए । तीमध्ये चार हजारले मात्रै दोस्रो किस्ता बुझेका छन् । पहिलो किस्ता बुझ्ने र दोस्रो किस्ता रकम माग गर्नेको सङ्ख्याबीच धेरै अन्तर छ । यसबाट अधिकांशले घर बनाएका छैनन् भन्ने देखिन्छ ।

जनमत पार्टीले मनायो राष्ट्रिय धोती दिवस

काठमाडौं । काठमाडौं- जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त(सिके) राउतले लामो संघर्षपछि मुलुकमा गणतन्त्र आइसक्दा पनि पश्चगामी मानसिकता अझै कायम रहेकाले धोती दिवस मनाउन बाध्य भएको बताएका छन्। बुधबार माइतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नेपाल विविधतापूर्ण देश हो। यहाँ अनेकौँ, जातजातिहरु, भाषाभाषीहरु, भेषभुषा भएका मानिसहरु छन्। हाम्रो लागि त्यो कमजोरी होइन। यो हाम्रो लागि सम्पती हो। यो सबैलाई हामीले सम्मान गर्नुपर्छ। त्यही आशयले हामी आज राष्ट्रिय पोशाक दिवस मनाउँदै छौँ,’ उनले भने,’नेपालमा लामो समय एकल भाषाभाषी लाद्ने चेष्ठा गरियो। लामै संघर्ष गर्यौँ। त्यसपछि गणतन्त्र आइसक्दा पनि कतै न कतै त्यो पश्चगामी मानसिकता अझै छ। त्यसैले हामी यो दिवस मनाउन बाध्य भएका हौँ। आज कुनै एकल जाजातिको मात्रै भेषभुषा मनाउने दिवस होइन। सबैले आफ्नो मौलिक भेषभुषा लगाउने हो।’ उनले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गरे। उनले सबैलाई सम्मान गर्नसके मात्रै देशको भलो हुने बताए। उनले सबैले सबैको अपनत्व स्वीकार गरेर आफ्नो-आफ्नो पोशाक लगाइ पोशाक दिवस मनाउनुपर्ने बताए। उनले अरुलाई स्वीकार गर्न नसक्नु पश्चगामी मानसिकता भएको बताए। राष्ट्रिय धोती दिवसको अवसरमा मधेसी समुदायका नागरिकहरु धोती लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका थिए। उनीहरुले धोती हाम्रो शान हो, मधेसीको पहिचान हो, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

स्याङ्जामा एक अर्ब २५ करोडको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जामा यसवर्ष एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालका अनुसार गत वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा १५ प्रतिशत समेत वृद्धि भएको हो। अघिल्लो वर्षमा पनि अत्याधिक सुन्तला उत्पादन भएको थियो।  यसवर्ष २० देखि २१ हजार मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र र सुन्तला सुपरजोन परियोजनाले जनाएको छ। अघिल्लो वर्ष २२ हजार मेट्रिक टन र गतवर्ष १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लाभर २ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती छ। ती मध्ये १ हजार ३ सय ७० हेक्टरमा सुन्तलाले उत्पादन दिएका छन् भने बाँकी ८ सय ८० हेक्टरमा हुर्कदो अवस्थाका सुन्तला छन्। जिल्लाभर ४ हजार भन्दा बढी सुन्तला व्यवसायी  किसान छन्।  यहाँका ११ पालिकाका ९७ वडामध्ये ७/८ वडा बाहेक सबै वडामा सुन्तलाको उत्पादन राम्रो छ। कालीगण्डकी गाउँपालिका र चापाकोटका केही वडा बाहेक अन्य सबै पालिकामा सुन्तलाका खेती विस्तार भएका छन्।  विसं. २०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएपछि सुरुमा १७ वडामा परियोजना लागू भएको थियो। पछिल्ला केही वर्षयता भने जिल्लाभर सुन्तला सुपरजोन परियोजना समेटिएको छ। सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत् जिल्लाभर समेटिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना इकाई कार्यालयले जनाएको छ।  स्थानीय पालिका,प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजना र कृषि ज्ञान केन्द्रमार्फत् पनि किसानलाई आवश्यक सहयोग हुँदै आएको छ।  तर, सुपरजोन परियोजनाको भने सहयोग उल्लेख्य छ।  सुन्तला रोपण र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि स्याहार सम्भार,खाद्य पोषणलगायतसम्मका गतिविधि र उपकरण खरिदलगायतमा केही प्रतिशत छुटदेखि अनुदानसम्मका सुविधा उपलब्ध गराउँदै आएको बरिष्ट कृषि अधिकृत अजय अधिकारीले जानकारी दिए।  सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ। सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ। यहाँका पाखा, पखेरा र खेत बारीका गहगह्रामा सुन्तला झुलेका छन्। हिजोआज सुन्तला पाकेर पहेंलपुर बनेका छन्। सुन्तलाको बिरुवा रोपेको ५ देखि ६ वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुची सुन्तला खेतीमा गएको हो। अझ कलमी बिरुवाले त रोपेको दुई/तीन वर्षमै फल दिन थाल्छ। वर्षको दुई/चार पटक मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन हुन्छ।  बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने दर्जनौं किसान छन् यहाँ।  यहाँका प्रायजसो सबैका घर घर सुन्तलाका बिरुवा छन्। स्थानीय पालिकाले पनि सुन्तलालाई विशेष प्राथमिकतामा राखेको छ। सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा सुन्तला उत्पादन हुन्छ। कूल उत्पादनको ३० प्रतिशत भन्दा बढी पुतलीबजारमा सुन्तला उत्पादन हुने गर्दछ।  पुतलीबजार, वालिङ्, अर्जुनचौपारी, भीरकोट, बिरुवा, आँधीखोला, गल्याङमा अत्याधिक सुन्तला खेती हुन्छ। यसैगरी, दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। कालीगण्डकी, चापाकोट र हरिनासका केही बडा बाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ।  स्याङ्जामा आन्तरिक रुपमा कार्त्तिकको अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ। सुन्तला व्यापारी पनि मंसिर पहिलो सातादेखि नै किसानका घर बगैचामै पुगेर किन्ने गर्छन्। अहिले सुन्तला व्यापारी बगैचामा पुगिसकेका छन्। यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, चितवन, नारायणघाट,काठमाडौं हो।

बाँके कुष्ठरोगको उच्च जोखिममा

बाँके । एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँके कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ बिरामी रहेको छन् । साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एक जना रहेका जानकारी दिए । पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो । बिरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए । अस्पतालले आफ्नो बहिरङ्ग सेवामार्फत गत आर्थिक वर्षमा १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको थियो । साइनिङ अस्पतालले कुष्ठरोग सेवालाई विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारुले बताए । अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारुले जानकारी दिए । गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच आठ सय ३८ र अन्य प्रयोशाला परिक्षण ११ हजार तीन सय १८ रहेको थियो । सन् १९९६ मा नेपालगञ्ज टिवी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले सुविधा सम्पन्न भवनबाट पश्चिम नेपाल र आसपासको क्षेत्रका कुष्ठरोगीको उपचार सेवा प्रदान गर्दै आएको आएको अस्पताल प्रमुख थारुको भनाइ छ । जानकी–१ का सेवाग्राही गुलाम हसमत साईले कुष्ठरोग प्रभावित बिरामीलाई आइएनएफको साइनिङ अस्पताल भगवान् जस्तै बनेको बताए । आफूले साइनिङ अस्पतालको माध्यमबाट उपचार पाइरहेको उल्लेख गर्दै धेरैको ज्यान जोगाउन अस्पतालले उल्लेखनीय भूमिका खेलेको उनको भनाइ छ । जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण काक्र्रक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । कुष्ठरोग अहिले पनि जनस्वास्थ्यको समस्याका रूपमा रहेको बताउँदै रानाले समाजमा रोगीहरू लुकेर बसेको हुनसक्ने भएकाले शिविरअन्तर्गत खोजी अभियान सञ्चालनको आवश्यकता रहेको औँल्याए । उनले विगतको तुलनमा रोगीको सङ्ख्या कमी भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

आजबाट जन्मने पुस्तालाई भनिने छ ‘जेनेरेशन विटा अर्थात जेन बी’

आजको दिन एउटा नयाँ पुस्ता जन्मिएको छ। जेनरेशन जेड (Gen Z) र अल्फा (Alpha) जस्तै, जेनरेशन बीटा पनि एक यस्तो संसारमा हुर्किनेछ, जसमा प्रविधि र वातावरण तीव्र गतिमा परिवर्तन भइरहेका छन्। यसले नवप्रवेशी पुस्ताको जीवनमा के अर्थ राख्छ भनेर बुझ्न प्रयास गरौँ। सन् २०२५ को पहिलो दिन जन्मेका बच्चाहरू केवल वर्षकै पहिलो मात्र होइनन्, उनीहरू नयाँ पुस्ताको पहिलो प्रतिनिधि हुन्। २०२५ देखि २०३९ बीच जन्मिने व्यक्तिहरूलाई जेनरेशन बीटा भनिनेछ, जो हाम्रो समयको सातौँ पुस्ता हुनेछ। जेनरेशन बीटा को विशेषता यस पुस्ताले विश्वको १६ प्रतिशत जनसङ्ख्या ओगट्ने अपेक्षा गरिएको छ, र यसमध्ये धेरैले २२औँ शताब्दीको प्रारम्भ हेर्नेछन्। तर, जेनरेशन जेडको तुलनामा, जसले एनालग प्रविधिबाट डिजिटलमा रुपान्तरण देख्यो, जेनरेशन बीटा एक अत्यधिक प्रविधिमा एकीकृत संसारमा हुर्कनेछन्। कृत्रिम बौद्धिकता (AI) को विकासले उनीहरूको जीवनलाई गहिरो रूपमा परिवर्तन गर्नेछ, जसको परिणामस्वरूप उनीहरूले अति उच्च प्रविधिगत दक्षता देखाउनेछन्। तर यो पुस्ताले जलवायु परिवर्तनको प्रभाव पनि उत्तराधिकारमा पाउनेछ। मोनाश सेन्टर फर युथ पोलिसी एण्ड एजुकेशन प्राक्टिस का निर्देशक लुकस वाल्शका अनुसार, विश्वले जलवायु परिवर्तनलाई नियन्त्रण गर्न पर्याप्त कदम चाल्ने सम्भावना कम छ। वाल्श भन्छन्, "ठूला र अस्तित्वगत चुनौतीहरू नयाँ होइनन्, तर सामुदायिक सोचको अस्वीकृतिले कुनै ठोस कार्यलाई अवरोध पुर्याउँछ।" उनका अनुसार, "हामीले विचारधाराहरू र राजनीतिक दृष्टिकोणहरूको विखण्डन देखेका छौँ। कुनै ठूला कथानक (grand narrative) ले निर्णय प्रक्रियालाई अघि बढाउने मार्गदर्शन गरिरहेको छैन।" सबैभन्दा ठूलो परिवर्तन के हुनेछ? आजका युवाहरूको एउटा महत्वपूर्ण विशेषता हो—संस्थाहरू प्रतिको अविश्वास। वाल्शले भने, "हामीले वर्षेनी देख्यौँ कि मुख्यधारको राजनीतिक संस्थाहरूलाई युवा पुस्ताले चासो र आलोचना गर्दै आइरहेका छन्।" यो आलोचना त्यस्तो आर्थिक र सामाजिक संरचनाबाट उत्पन्न भएको हो, जसले युवाहरूलाई विस्थापित गरिरहेको छ। उनले थपे, "पुरानो पुस्ताले बनाएको खेल भन्छ: 'तिमीले थप प्रमाणपत्र र तालिम पाउँछौ भने, राम्रो काम र घर पाउनेछौ।' तर, यो खेलको नियम कोले बनाएको भन्ने सोच्न युवाहरू बाध्य छन्।" तर मेलबर्न विश्वविद्यालयका समाजशास्त्र प्राध्यापक ड्यान वुडम्यानका अनुसार, संस्थाहरूको अविश्वास वा अस्वीकृतिको प्रभाव अझै स्पष्ट छैन। "जेनरेशन बीटा एउटा यस्तो संसारमा जन्मिँदै छ, जहाँ शताब्दीयौँसम्म पुस्तालाई आकार दिने संस्थाहरू प्रतिको विश्वास कमजोर हुँदै गएको छ," उनले भने। जेनरेशन बीटाको भविष्य वाल्शका अनुसार, "अत्यधिक परिवर्तन भइरहेका बेला भविष्यको अनुमान गर्न कठिन छ। हामीले जेनरेशन एक्स, बुमर्स वा जेनरेशन बीटा जस्ता नामहरू समयसँगै पछिसम्मै हेरेर मात्र दिने गरेका छौँ।" वुडम्यान भन्छन्, "हामीले पछिल्लो समय मात्र यस्ता पुस्ताको भविष्यबारे अनुमान गर्न थाल्यौँ, जसको हालै जन्म मात्र भएको छ वा अझै जन्मिन बाँकी छ।" अन्ततः, जेनरेशन बीटाले कसरी विश्वलाई रूपान्तरण गर्छ भन्ने कुरा भविष्यमै निर्भर छ। तर, यस पुस्ताले उच्च प्रविधि, जलवायु परिवर्तनको प्रभाव, र संस्थागत परिवर्तनहरूको सामना गर्दै नयाँ इतिहास लेख्ने निश्चित छ।  

लोकप्रिय