चुनावपछि उपत्यकाको सडक पिच रोकियो

चुनावपछि उपत्यकाको सडक पिच रोकियो

कञ्चनपुर, पुस १ । काठमाडौं उपत्यकामा सडक सुधार आयोजनाले अगाडि बढाएका सबै सडकमा अवरोधलाई हटाएर मात्रै सडक पिच गर्नुपर्ने भएको छ। आयोजनाले अगाडि बढाएका आधा दर्जनभन्दा बढी सडकमा भएको अवरोध वर्षौसम्म पनि हटाउन नसक्दा सडक विभागले यथास्थितिमै सडक पिच गर्ने प्रस्ताव गरेको थियो।

सडक विस्तार गरेर तोकिएको २२ मिटर बनाएर मात्रै कालोपत्रे गर्नुपर्ने र त्यसभन्दा कम काम भएका ठाउँमा पिच गरेर ठेक्का सम्पन्न गर्न नपाइने आयोजनाका प्रवक्ता विश्व विजयलालले अन्नपूर्णलाई जानकारी दिए। उनले भने, ‘हामीले पूरै साइट क्लियर नभएका तर १८/२० मिटरको बाटो भएका स्थानका सडक पिच गर्ने प्रस्ताव गरेका थियौं, उक्त प्रस्तावलाई सरकारले स्वीकृति दिएन।’ अब साइट क्लियर भएका र कुनै अवरोध नभएका स्थानमा धूलो हटाउने गरी काम गर्ने बाहेकको कुनै प्रगति नहुने पनि उनको भनाइ छ।

स्थानीयले सडकको मापदण्डअनुसार २२ मिटरभित्र परेका घर भत्काउन नदिएको, संगठित विरोध गरेका र अदालतबाट पनि यस्तो मुद्दाको पूर्ण किनारा नलागेकाले पनि यथास्थितिमै पिच गर्ने योजनलाई सरकारले स्वीकृति नदिएको बुझाइ विजयलालको छ। हाल विभिन्न प्रकारको अवरोधले सडक विस्तार रोकिएका कलंकी-नागढु‌गा, चाबहिल- साँखु, जोरपाटी-सुन्दरीजल, कर्मनाशा-हरिसिद्धि-गोदावरी, ढोलाहिटी-सुनाकोठी-चापागाउँसहितका सडकमा साइट क्लियर भएका र पूर्ण रूपले तोकिएको मापदण्ड पुगेका सडक मात्रै पिच हुने र बाँकी खण्डको अवरोध हटाएर विस्तारपछि मात्रै पिच हुने पनि उनले बताए।

अवरोध नहटेका ठाउँमा हटाएरै काम गर्नुपर्छ भन्ने सरकारको बुझाइ हो ।

सडक विस्तारका क्रममा जहाँजहाँ अवरोध आएको छ त्यो ठाँउ छोडर जाँदा विस्तार भइसकेका स्थानका स्थानीयलेसमेत बिरोध गर्न सक्ने र आवश्यक सडक विस्तार गर्न समस्या हुने भएकाले यथास्थितिमै सडक पिच गर्न समस्या भएको उल्लेख छ। अवरोध नहटेका ठाउँमा हटाएरै काम गर्नुपर्छ भन्ने सरकारको बुझाइ हो। सर्वोच्च अदालतले समेत गत असोज २ गते उचित क्षतिपूर्ति दिएर मात्रै सडक विस्तार गर्ने फैसला गरेको छ। यो फैसलाबाट सडक विस्तारका क्रममा पीडितलाई उचित मुआब्जा दिनुपर्ने उल्लेख छ। यो फैसलाको पूर्ण पाठ आइनसकेकाले यसलाई कार्यान्वय गर्न भने समस्या भएको पनि सडक विभागले जानकारी दिएको छ।

काठमाडौं उपत्यकाका एक दर्जन सडक विस्तारको काम साढे दुई वर्षदेखि सुरु भएको भए पनि स्थानीयको अवरोध तथा अन्तरनिकाय समन्वय अभावले आधा पनि सकिएको छैन। उपत्यका भित्र र रिङरोडलाई जोड्ने यी सडक विस्तारको काम गर्ने समय गत असोजदेखि सकिएको भए पनि अधिकांशको प्रगति अझै निराशाजनक छ।

बाटो बढाउने काम अझै अन्योलमा हुँदा समयमा नै नबन्दा ठेक्का नसकिने र करोडौं रुपैयाँ ठेकेदारले अन्यत्रै प्रयोग गरेर लाभ लिइरहेका छन्। विकास-निर्माणको काम ठप्प छ भने ट्राफिक व्यवस्थाप तथा वातावरणीय प्रदूषणसहितको समस्याले मानवीय जीवन नै अस्तव्यस्त भइरहेको छ। सडक विभागले १८ महिनेदेखि साढे दुई वर्षसम्ममा सकिने गरी ठेक्का लगाएका उपत्यका सडकको निर्माण सक्नुपर्ने समय नै सकिसकेको छ तर सडकको हालत जस्ताको जस्तै छ।

यसले गर्दा विकास निर्माण हुन सकेको छैन भने कहिले सडक निर्माण सकिन्छ भनेर भन्न सकिने अवस्था पनि नभएको उपत्यका सडक विस्तार अयोजनाको भनाइ छ। उपत्यकामा हाल विभिन्न आठ वटा सडकको करिब ५० किमि विस्तारको ठेक्का लागेको छ। यीमध्ये सबैजसो सडकमा साइइट क्लियर हुन नसक्नु, स्थानीयको विरोध, अन्तर निकायबीचको समन्वयमा कमजोर र अदालती अल्झनले काम रोकिएको छ।

त्रिपुरेश्वरदेखि कलंकीहुँदै नागढुंगासम्म जाने सडकमै १३ सय वटा वटा अवरोध रहेको छ। यो सडक जम्मा १२ किलोमिटर दूरीको मात्रै हो। सडकमा रहेको अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म कतिपयमा काम सुरु नै नभएको, सुरु भएकामा पनि ठाउँठाउँमा (सीमित स्थानमा) मात्रै काम भएको, काम पूर्ण हुन नसक्दा सडक बिजोक अवस्थामा अझै यात्रुले यात्रा गरिरहनुपरेको छ।

सडक विस्तारमा अवरोध गर्नेमा विद्युत्का पोल, ट्रान्सफर्मर, टेलिफोन पोल तथा तार, टेलिकम म्यानहोल, टेलिफोन क्याविनेट, खानेपानी ट्यांकी, रूख, सडकबत्ती, घरटहरा तथा पर्खाल, खानेपानीको पाइपसहितका समस्या छन्। अदालतको आदेशले रोकेको स्थानमा र त्यसबाहेकका धेरैजसो स्थानमा स्थानीयले उचित क्षतिपूर्ति दाबी गरेका छन्। घर भत्काउँदा जग्गासहितको क्षतिपूर्ति स्थानीयले मागेका कारण पनि तत्काल समस्या सल्टाएर अगाडि बढ्न नसकिएको सडक विभागको भनाइ छ।

सडक विस्तार आयोजनाका अनुसार विभिन्न अवरोधका साथै मापदण्डविपरितका भौतिक संरचना भत्काउन नपाउनु नै मुख्य समस्या हो। अदालतको आदेशले रोकेको घर क्षेत्रमा निर्णय नभएसम्म कुनै कारबाही गर्न नपाइने र त्यसबाहेकका स्थानमा पनि स्थानीयको अवरोध रहेकाले काम गर्न समस्या भएको उनको भनाइ छ। अवरोध हटाउन अन्तरनिकाय समन्वय पनि कमजोर रहेको गुनासो आयोजनाको छ। -अन्नपुर्णबाट

नयाँसडक क्षेत्रका सडकमा आजदेखि पार्किङ निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि नयाँसडक क्षेत्रमा सवारी साधन पार्किङ्मा रोक लगाउने भएको छ । महानगरले नयाँसडक क्षेत्रका कालोपत्रे सडकहरुमा पार्किङ निषेध गर्न लागेको हो । धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महावौद्ध, वीरअस्पताल तथा आसपासका कालोपत्रे सडकमा पार्किङ् निषेध लागू हुनेछ । त्यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । उक्त स्थानमा तीन सय वटा चारपांग्रे र सात सय वटा २ पांग्रे सवारी साधन पार्किङ गर्न सकिने दाबी गरिएको छ । नयाँसडक क्षेत्रलाई पार्किङ् निषेध गरेर विशेष सरसफाइ अभियान थाल्ने महानगर प्रहरीले जनाएको छ ।

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ । उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेमध्ये ७।२ किमीमा दुईतर्फी कालोपत्रे सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ ।” त्यसपछि बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । रासस

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लियो

चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम राजमार्गमा पर्ने यो सडकको अहिले वीरेन्द्र क्याम्पसचोकदेखि लायन्सचोकसम्म तीब्र रुपमा काम अगाडि बढेको छ । २० दिनअघि बजार क्षेत्रमा रहेको खानेपानी र ढलको समस्या समधान भएसँगै कामले गति लिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षको औपचारिक कार्यक्रम सुरु हुनभन्दा अघि नै धुलोमुक्त सडक निर्माण गरी सक्न निर्माण कम्पनीसँग सहमति भएको बताइन् । निर्माण कम्पनीसँग पटक–पटक छलफल र संवाद गरी निर्माणलाई छिटो र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न अनुरोध गरिएको उनले बताइन् । सडकको गोन्द्राङदेखि चौबिसकोठीसम्मको फाईनल कालोपत्रे गर्ने काम एक महिनासम्म सक्ने गरी काम अगाडि बढाइएको निर्माण कम्पनी सगुन जेभीले जनाएको छ । यस्तै पुलचोकदेखि लायन्सचोकसम्म एक तहको कालोपत्रेको काम भईसकेको छ । महानगरपालिका कार्यालयदेखि लायन्सचोकसम्म खानेपानीको लाईन, दुई वटा कल्र्भट र ओरालो भूभाग भएकाले काम गर्नलाई कठिनाई भएको थियो । भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ गतेदेखि औपचारिक उद्घाटन गर्ने कार्य तालिका तय गरिएको भएपनि मूख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ पुलचोक सडक तीब्र निर्माणको काममा रहेकाले भ्रमण वर्षलाई आगामी फागुन १८ गते गर्ने गरी समय तोकिएको छ । निर्माण कम्पनीका अनुसार यो सडक फागुनको पहिलो हप्तासम्म एक तहको कालोपत्रे गरी सक्ने सहमति गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार गोन्द्राङदेखि चौबिसकोठीसम्म फाईनल कालोपत्रे र सकेसम्म रङ रोगनको काम गर्ने अघि बढेको छ । निर्माण कम्पनीलाई रोकिएको भुक्तानी दिन अर्थ मन्त्रालयमा फाईल पठाईएको उनले जानकारी दिइन्। फागुनको पहिलो सातासम्म पुलचोकदेखि वीरेन्द्र क्याम्पस चोकसम्म पहिलो चरणको कालोपत्रे हुनेमा विश्वस्त रहेको प्रमुख पौडेको भनाई छ । पुलचोक–गोन्द्राङ ६ लेन सडकका कन्ट्याक्ट म्यानेजर सुनिल ढुङगनाका अनुसार सडको भौतिक प्रगति ७५ र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ । वीरेन्द्र क्याम्पसदेखि लायन्सचोकसम्म नाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइन् । यस्तै, लायन्स चोकदेखि रोटरी भवनसम्म सब ग्रेड गर्ने कार्य सुरु भईरहेको छ भने फागनुको दोस्रो सातासम्म (डिबिएम फस्ट लेयर)पहिलो चरणको कालोपत्रे भईसक्ने म्यानेर ढुङ्गानाले बताए। २०७७ साल माघदेखि सुरु भएको ६.०८ किलोमिटर सडकको मंसिर महिनामै सकिएको छ । निर्माण कम्पनीले म्याद थप गर्ने प्रकृयामा छ ।

रेलमार्गको रेखाङ्कन गर्दा मानववस्ती प्रभावित नहोस् : माओवादी केन्द्र चितवन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वी-पश्चिम (मेची-महाकाली) द्रुत रेलमार्ग रेखाङ्कन गर्दा मानववस्ती विकासको मोडेल र कम धन सम्पत्ती क्षति हुने गरी तयार गर्न आग्रह गरेको छ । माओवादी केन्द्र चितवनका संयोजका रामचन्द्र अधिकारीले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचार माध्यम, सरोकारवाला निकाय र पिडित संघर्ष समितिबाट प्राप्त जानकारी र सुचना अनुसार चितवन जिल्लाका राप्ती, खैरहनी, र.न.पा.र भरतपुरका विभिन्न वडामा मानवबस्तीलाई प्रभावित हुने गरी सबै एरिया रेखाङ्कन गरीएको भन्ने विषय प्रति नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्ति मार्फत उनले लमार्गको सिमा र प्रभावित क्षेत्रफल र रेखाङक्नको विषयमा स्थानिय सरकार, सरोकावाला निकाय, राजनीतिक दल, प्रभावित जनतासँग कुनै पनि संवाद, छलफल, अन्र्तक्रिया र सहमति बिना गरिएको कुराले यो निर्णय आफैमा अवैज्ञानिक, अव्यवस्थित र विकास निमार्णको मोडेलमा नै प्रश्न चिन्ह उठ्ने गरी भएको समेत बताएका छन् । साथै उनले रेलमार्ग रेखाङ्कनको वैकल्पिक, वैज्ञानिक, व्यवस्थीत र जनहित हुने बनाउने कुरामा प्रतिबद्ध रहेको समेत बताएका छन् । यस्तो छ विज्ञप्ति

लोकप्रिय