चैतेदशैँ र रामनवमी पर्व मनाइँदै

चैतेदशैँ र रामनवमी पर्व मनाइँदै

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्रीरामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दशैँ र मध्याह्नमा नवमी परेका दिन रामनवमी पर्व मनाउनुपर्ने शास्त्रीय वचन रहेकाले दुवै पर्व यस वर्ष आइतबार नै परेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको सुपुत्रका रुपमा श्रीरामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँच ग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मेका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरे ।

समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।

जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुशी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुशरण गर्न सकेमात्र यो पर्व मनाउनुको अर्थ हुन्छ, उनले भने।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।

यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा श्री प्राप्त हुने शास्त्रीय मान्यता छ । यसैगरी बत्तीसपुतलीस्थित श्री रामचन्द्र मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि आज पूजा आराधना गर्ने भक्तजनको भीड लाग्छ ।

परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दशैँ मानिन्थ्यो । चैतको गर्मीका कारण असोजको नवरात्रमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रुपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैँ भनिन्छ ।

यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने उल्लेख छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकिय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

यस दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ वास हुने कुरा व्रतार्क नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरे । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी श्रीरामचन्द्रले मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिए । यही सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

सेतो मत्स्येन्द्रनाथ रथ यात्रा

चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा पनि शुरु गरिन्छ । आजैका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई असनसम्म, दोस्रो दिन असनबाट कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मत्स्येन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

मत्स्येन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मत्स्येन्द्रनाथको रथयात्रा पनि आजै शुरु हुने समितिका अध्यक्ष गौतमले बताए ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय