छठपछि सरकारविरुद्ध कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा

छठपछि सरकारविरुद्ध कडा आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसले छठलगत्तै सरकारविरुद्ध सशक्त सडक आन्दोलन गर्ने भएको छ । कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भने,‘ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् । हाम्रो पार्टीले मुलुकको पछिल्लो समग्र परिस्थितिको बारेमा मुल्यांकन गर्नेछ । सरकारका कारण पैदा भएको निराशालाई जनताको बीचमा लिएर जान्छौं ।’

महतले आफूहरुले सरकारका गलत क्रियाकलापबारे अहिले खबरदारी गरिरहेको जनाए । यद्धपी उनले आवश्यक पर्यो भने छठपछि सरकारविरुद्ध सशक्त रुपमा सडक र सदनमा संघर्ष गर्ने बताए ।

उनले भने,‘चाडबाड सकिएलगत्तै हामी सरकारविरुद्ध आन्दोलन छेड्छौं । केही समय दिउँ भनेर नै हामी माइल्ड विरोध गरेका हौं । अब सदन र सडकमा सरकारका गलत क्रियाकलापबारे सशक्त रुपमा उत्रिन्छौं ।’ उनले पार्टीको अब बस्ने केन्द्रिय कार्य समिति र महासमिति बैठकमा समेत सरकारको गलत क्रियाकलापविरुद्ध कसरी अघि बढ्नेबारे बृहत्त छलफल गर्ने जानकारी दिए ।

महतले भने,‘सरकारले आफूले जे चाह्यो, त्यही गर्न पाउने लाईसेन्स पाएको ठानेको छ । यसलाई हामीले दुर्भाग्यपूर्ण ठानेका छौं । त्यतिमात्रै होईन, सरकारले संवैधानिक निकाय र न्यायालयलाई पनि छायाँमा राख्ने काम गरेको छ । सुरक्षा निकाय र कर्मचारीतन्त्रलाई व्यवसायिक रुपमा काम गर्न दिईएको छैन । पार्टीप्रति बफादार हुनेहरुलाई मात्रै बढुवा र सरुवा गर्ने काम सरकारले गरिरहेको छ ।’

ओली सरकारले आफूलाई भोट नहाल्नेजतिलाई विभेद गरिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकार उदासिन बनेको छ । चरम महँगी भएको छ । यस्तो मुल्यवृद्धि यसअघि भएकै थिएन् । सरकारले मिलेमतोको संस्कृतिलाई प्रोत्साहन गरिरहेको छ । कानूनलाई होईन, हामीलाई फलो गर भन्ने उद्देश्यले उहाँहरुले जनतालाई व्यवहार गरिरहनुभएको छ ।’

स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई करको भारमा पारेको आरोप लगाउँदै महतले भने,‘यसले गर्दा मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्रिने कुरा निरुत्साहित बनेको छ । यसअघिका सरकारको तुलनामा अहिले लगानी स्वात्तै घटेको छ।’

मुलुकमा पछिल्लो समय व्यापार तथा व्यवसाय गर्ने वातावरणसमेत नबनेको उनको गुनासो छ । उनले भने,‘अहिले रुल बेस्ड प्रणाली छैन । जनतामा करको मार अत्यधिक परेको छ । यसले मुलुकमा रोजगारीको अवसर सिर्जना हुन सकेन। यो पाराले कसरी मुलुक समृद्ध हुन्छ ?’

उनले पछिल्लो समय सरकारका कारण मुलुकमा संस्थागत भ्रष्टाचार मौलाएकोपनि आरोप लगाए । महतले थपे,‘वाईड बडी खरिदमा पनि ठूलो भ्रष्टाचार भएको छ । बुढीगण्डकी जलविद्युत परियोजनामा त्यस्तै भएको छ । चिनी काण्डपनि त्यस्तै छ । सरकारमा बसेकाहरुले राष्ट्रलाई होईन, व्यक्तिको फाईदा हेरेर आँखा चिम्लिएर भ्रष्टाचार गरिरहेका छन्।’

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले वर्तमान ओली नेतृत्वको सरकारको क्रियाकलापबाट उत्पन्न अहिलेको परिस्थितबाट जनताले चाँडोभन्दा चाँडो मुक्ति चाहेको बताए । उनले भने,‘ओलीजीले भनेजस्तो अब समृद्ध नेपाल र सुखी नेपाली नारा पूरा हुने कुनै छाँटकाँट छैन् । अब मुलुक समृद्ध र जनता सुखी हुने होईन, यही पाराले त जनता झन–झन दुःखी हुनेछन् ।’

सरकारको पछिल्ला गतिविधिहरुलाई आफूहरुले गम्भिरताका साथ हेरिरहेको उनले स्पष्ट पारे । उनले भने,‘जनताका आवाज, पीर, मर्कामा हामी सशक्त भूमिका निर्वाह गर्छौं । चुप लागेर बस्दैनौं ।’ आउने निर्वाचनमा आफ्नो पार्टी एक्लैले सरकार बनाउने पनि उनले घोषणा गरे ।
फरक प्रसँगमा उनले कञ्चनपुरमा अहिले सरकारले नाटक देखाईरहेको पनि आरोप लगाए । उनले भने,‘१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यत्रो दिन बित्यो, तर रक्षक नै भक्षक भएको पाईयो । प्रहरी पनि सरकारकै संयन्त्र हो नि । सरकारकै छत्रछायाँमा यो भैरहेको छ ।’

सर्लाहीमा आफ्नो पार्टीका कार्यकर्ता रामविलाष महतोको हत्या गरिएको घट्ना कोट्याउँदै उनले भने,‘त्यहाँ हामीले जितेको क्षेत्र हो । अब यतातिर लाग्छौं कि लाग्दैनौं भनेर जबरजस्ती गरियो । होईन भने, तिमीहरु सबैलाई ठीक पार्छौं भन्दै हत्या नै भयो । ठाडै कसले गर्यो, के गर्यो भन्ने थाहा छ । सरकारले नै अहिले अपराधीलाई संरक्षण गरिरहेको छ । कांग्रेस सरकारमा हुँदा कहिल्यै विपक्षीलाई यस्तो गर्यो त ?’
फरक प्रसँगमा उनले पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्नुको कारण निर्वाचनपछि पार्टीको परिणाम कमजोर भएकोले यही मौका छोपेर नेतृत्वको आलोचना गरौं भन्ने हिसाबले भएको भएपनि त्यसलाई आम कार्यकर्ताको पंक्तीले नरुचाएको स्पष्ट पारे ।

उनले भने,‘हाम्रा नेता तथा कार्यकर्ताहरुले अहिले तपाईहरु एक भएर अघि बढ्नुहोस, आँफैभित्र विवाद गर्ने बेला होईन भनेर भन्नुभएको छ । उहाँहरुले नेताहरुलाई आफ्ना कुराको चर्चा, बहस तथा छलफल केन्द्रिय समितिमा राख्न आग्रह गर्नुभएको छ । त्यतिमात्रै होईन, व्यक्तिलाई होईन पार्टीलाई केन्द्रविन्दु राखौं भन्ने आवाज बुलन्द भएको छ ।’

पार्टीका क्रियाशिल सदस्य हटाएर साधरण सदस्यहरुले नै महासमिति, महाधिवेशन प्रतिनिधि र केन्द्रिय सदस्य चयन गर्नेगरि विद्यान मस्यौदा तयार पार्न लाग्नुभएको छ अरे नि भनेर सोधिएको प्रश्नमा उनले भने,‘यो विषय विधान मस्यौदा समितिले टुँगो लगाएको छैन् । अहिलेपनि हामी छलफलमै छौं । के गर्दा राम्रो हुन्छ, त्यही गर्छौं । गुण र दोषको आधारमा हामी निश्कर्षमा पुग्छौं ।’

त्यस्तै उनले सभापतिलाई असिमित अधिकार दिन लागिएको छ भनेर हल्ला चलाएपनि त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले भने,‘अहिले जति अधिकार प्राप्त भएको छ, त्यो अधिकार त प्रयोग गर्न दिईएको छैन् । न त सभापतिले नै अधिकार माँग्नुभएको छ । न त उहाँ सँधै सभापति नै हुनुहुन्छ । किन असिमित अधिकार चाहियो ?’

Source: Hamrakura dot com

पार्टी फूट्ने हल्लाका पछाडि नलाग्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको भन्दै त्यसका पछि नलाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै यस्तो हल्लाका पछि नलाग्न नेता कार्यकर्तालाई भनेका हुन् । ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु । यो हल्ला नियोजित रूपमा कसैले चलाएको हो । यसमा कुनै सत्यता नभएकाले यसका पछि नलाग्न आग्रह गर्न चाहन्छु’, अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सो पार्टीको प्रचार विभागले भनेको छ ।  बैठकमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल लगायत छन् । यसैगरी बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर र प्रदेश अध्यक्ष सरिता भुसाललगायत प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् ।

सभामुखले संसदको अधिवेशन बोलाउन लागेका हुन ?, बोलाए समिति सभापति र सचेतकको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दफावार छलफलका लागि विधेयक रहेका समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकसँगको बैठक सुरु भएको छ । सभामुखको सचिवालयका अनुसार बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् । त्यस्तै दफावार छलफलका लागि विधेयक रहेका समितिहरूमा राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति र अर्थ समिति छन् । संसद्को‍ आगामी अधिवेशनमा बिजनेस अभाव हुन नदिन सभामुखले यो छलफल गर्न लागेको बताइएको  भएपनि आगामी अधिवेशन कहिले बोलाउने भन्ने बारे भने टुंग्गो छैन । अध्यादेश मार्फत साना पार्टी फुटाएर एमालेलाई पहिलो दल बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामा सत्तारुढ दलकै नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेपछि सभामुखले यस किसिमको बैठक बोलाएका हुन् । विपक्षी दलहहरुले सरकारले अध्यादेश मार्फत दलहर विभाजनको प्रस्ताव ल्याउन लागेका कारण विशेष अधिवेसनको माग गर्ने बारे छलफल चलाएका बेला सभामुखले सो बैठक बोलाएका हुन् ।

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताउनुभएको छ । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको बताउनुभयो । हिजो मात्रै बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उहाँले भन्नुभयो– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’ सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताउनुभयो । आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उहाँले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने बताउनुभयो । सरकारले एकपछि अर्को नाजाजय हर्कत गर्दै जाँदा जनतामा सरकारविरोधी भावना बढ्दै गएको उहाँले स्पष्ट गर्नुभयो । उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र एउटा सामान्य प्राविधिक त्रुटिलाई लिएर उपसभामुख हटाउन खोज्ने, बाढीपहिरोपछि उद्धार, राहत र पुनर्स्थापनामा ध्यान नदिनेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार आफैले भ्रष्टाचारीको संरक्षकको रुपमा प्रस्तुत गर्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित राजनीतिक उपलब्धिमाथि प्रहार हुन थालेकाले अब सडकबाट जनतालाई अपिल गर्न ढिलाई गर्न नहुने ठानेर नै पार्टीले जनप्रदर्शनको कार्यक्रम तय गरेको बताउनुभयो । ‘सरकार गठन गर्नेबेला नै दुई दलीय व्यवस्थाको वकालत गरिएको थियो, त्यो निरंकुश सोंच हो । अहिले पनि कतै न कतै गठबन्धनभित्र यसखालको सोंच हटेको छैन’– उहाँले भन्नुभयो– ‘यसलाई अघि बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने षड्यन्त्र जारी नै छ, यी सबै षड्यन्त्रका विरुद्ध सशक्त खबरदारी जरुरी छ ।’  

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने भएको छ ।  सरकारका गलत कदमको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराउनुभएको हो । उहाँले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन पनि दिनुभएको छ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न खबरदारी सभा थालिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले सहकारीपीडित, मिटरब्याज र लघुवित्तपीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिबिधिविरुद्ध खबरदारी गर्न थालेको जनाएको छ ।

लोकप्रिय