जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः प्रचण्ड

जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः प्रचण्ड

काठमाडौँ, असोज ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे ।

उनले भने, “मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र अन्य रुपमा देखिएका जलवायु परिवर्तनका असरका कारणले विभिन्न क्षेत्रमा द्वन्द्व देखिन थालेका छन् ।”

शान्ति र सुरक्षाका लागि सम्मानित जीवनको प्रत्याभूति एउटा पूर्वशर्त भएको बताउँदै अध्यक्ष दाहालले त्यसको आधार समावेशी, समानता र दिगो विकास भएको उल्लेख गरे । उनले भने, “देश र जनताका बीचको तीव्र विभाजन र असमानता पनि आजको वास्तविकता हो । हाम्रो समयको गरीबी एउटा अत्यन्तै डरलाग्दो चुनौती हो ।”

लाखौँ मानिस अहिले पनि गरीबीको रेखामुनि रहन बाध्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसबीचमा लाखौँ मानिस केही दशकयता गरीबीको रेखाबाट बाहिर आए पनि धनी र गरीबबीचको खाडल फराकिलो बन्दै जाँदा अशान्तिको खतरा बढेको बताए ।

विश्व शान्ति र सुरक्षाका लागि मिलेर विकास गर्ने र समृद्ध हुने महत्वलाई अन्तर्राष्ट्रिय समुदायले व्यापकरुपमा आत्मसात् गर्नु एउटा खुसीको विषय भएको उल्लेख गर्दै उनले भने, “यसलाई व्यापक रुपमा स्वीकारिएको छ, कि शान्ति बिना विकास हुँदैन र विकास बिना शान्ति हुँदैन । हामी भन्न सक्छौ कि तुलनात्मक रुपमा हामी विश्वको शान्तिपूर्ण अवधिमा छौँ ।”

दिगो शान्ति र सुरक्षा तथा सुव्यवस्था प्राप्तिका लागि मुलुक मनैदेखि मिलेर लागिरहे पनि केही मुद्दाहरु सामूहिक प्रयासबाट पनि समाधान हुन बाँकी रहेको उनको भनाइ छ ।

विश्वव्यापीकरण र तीव्र विकास, सूचना तथा सञ्चार प्रविधिले विश्वलाई एउटा एउटै गाउँमा रुपान्तरण गरिदिएको स्मरण गर्दै अध्यक्ष दाहालले भौतिक वातावरण र प्रविधि, संस्कृति र मान्यताका साथसाथै हाम्रा आशा र चाहनामा पनि हामी एक अर्कामा निर्भर छौँ भने ।

“विश्वव्यापीकरणले ल्याएका चुनौतीको पनि सँगै सामना गरिरहेका छौँ । हामीसँग आशावादी हुने कारण छन् । एउटा देशमा भएको प्रविधिको विकास र अन्वेषणले विश्वभरिका मानिसको जीवनलाई सहज बनाइदिएको छ”–अध्यक्ष दाहालले भने, “विश्वको एउटा भागमा भएको तीव्र र दिगो आर्थिक विकासले बाँकी विश्वका लागि समृद्धिको आशा जगाएको छ ।”

विश्वको एउटा भागको शान्ति र स्थिरताले विश्वको अर्को भागलाई त्यही दिशामा धकेल्न प्रोत्साहित गरेको उल्लेख गर्दै उहाँले न्युयोर्क वा साङ्घाईको शेयरबजारमा हुने उतारचढावले विश्व अर्थतन्त्रलाई तरङ्गित बनाउने बताए ।

“न्युयोर्क, पेरिस वा काबुलमा हुने आतङ्कवादी आक्रमणले जहाँ सुकैका जनतालाई पनि शान्त र सुरक्षित महसुस गराउँदैन”–अध्यक्ष दाहालले भने, “इबोला भाइरसलाई एउटा देशबाट अर्को देशमा प्रवेश गर्न राजनीतिक सीमा र बलियो अध्यागमन नीतिले रोक्न सक्दैन । विकसित मुलुकका उद्योगहरुद्वारा उत्सर्जित विषालु ग्यासले त्यस्तो ग्यास उत्सर्जन नगर्ने मुलुकको जलवायुमा खराब असर पारेको हुन्छ ।” आतङ्कवाद, क्रुर हिंसा र अन्तरदेशीय अपराधको संयन्त्र तीब्ररुपमा फैलिइरहेकामा उहाँले चिन्ता व्यक्त गरे ।

जनता र देशलाई जोड्न चीनले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले सबैलाई हित हुने गरी बजारलाई एकीकृत गर्ने र क्षेत्रीय आर्थिक सहयोग अभिवृद्धि गर्ने ‘वेल्ट एण्ड रोड इनिसियटिभ’को कार्ययोजनाले अन्तर्राष्ट्रिय समुदायबाट व्यापक सहयोग प्राप्त गरेको बताए ।

उहाँले भन्नुभयो, “नेपाल विश्वस्त छ कि बिआरआइले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउनेछ र यस क्षेत्रमा सेवा, वस्तु र जनताको आवतजावतको अप्ठयारा, अवरोधलाई हटाउने छ ।”

यातायातमा सुधार र कनेक्टीभिटीको पहुँचले एकीकृत बजारका लागि सहयोग गरी व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ प्राप्त हुने बताउँदै अध्यक्ष दाहालले बिआरआईको मातहतमा यातायातको पूर्वाधारको सहयोगले पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा र वाणिज्यको अप्ठ्यारा हटाएर चीनसँग जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “हामी विश्वास गर्छौ कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्नति अनि साझा समृद्धिका हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्ने छ ।”

जातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र ‘वीन वीन’ सहयोग साझा समृद्धिको अवधारणा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई यसले निश्चय नै निरुत्साहित गर्न सघाउनेछ भने ।

‘विकासको रेल यात्रामा दौडिरहेको छ’ भन्ने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिन फिङले प्रायः अन्तर्राष्ट्रिय समुदायलाई भन्ने गरेको सुन्दा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै अध्यक्ष दाहालले भने, “शान्ति, सुरक्षा र समृद्धिको बाटोमा सँगै हिँड्न चीन तयार रहेको अभिव्यक्ति हो त्यो । सद्भावको मुख्य तत्व शान्तिपूर्ण र स्थिर समाजका लागि साझा समृद्धि र समावेशी विकासमा अन्तरनिहित रहेको म विश्वास गर्छु ।”

शान्तिपूर्ण र स्थिर समाज तथा समावेशी विकासमा आफूहरुले सामूहिक प्रतिबद्धता जनाएको बताउँदै उनले जलवायु परिवर्तनका सन्दर्भमा दिगो विकास लक्ष्य र पेरिस सम्झौता उदाहरणका रुपमा रहेका स्मरण गरे । अध्यक्ष दाहालले भने, “हामीसँग संयुक्त राष्ट्रसङ्घ जस्ता संस्था स्थापित भएका छन् र वास्तविक शान्ति र सुरक्षाका लागि अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरुले हाम्रा साझा कार्यसूचीलाई सहजीकरण गरिरहेका छन् ।”

नेपालले पटक–पटक संयुक्त राष्ट्रसङ्घ घोषणापत्रका सिद्धान्तको वकालत गर्दै आएको जानकारी गराउँदै अध्यक्ष दाहालले संविधानमा विश्व शान्तिका लागि नेपालको प्रतिबद्धता प्रतिविम्बित भएको बताए ।

समारोहमा अध्यक्ष दाहालले विश्व शान्ति र सुरक्षामा नेपालको निरन्तर प्रतिबद्धता खुशीसाथ व्यक्त गर्दै भने, “शान्तिपूर्ण तरिकाबाट सशस्त्र द्वन्द्वको समाधान गर्ने बिरलै उदाहरण हामीले हाम्रो नमूनायोग्य र घरेलु शान्ति प्रक्रियामार्फत प्रस्तुत गरेका छौँ ।”

दिगो भविष्य, सुरक्षा र बचाउका लागि सामूहिक र केन्द्रिकृत प्रयासलाई जोड दिँदै उहाँले हामी सबैका लागि एउटै भविष्य निर्माण गर्न सबैसँगै मेहनत गर्नुपर्ने बताए  । उनले भने, “हाम्रो भविष्यलाई राम्रो बनाउने वा खराब बनाउने हाम्रै हातमा छ । म पूर्ण विश्वस्त छु कि विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गर्न यो सहभागिताबाट एउटा ठोस निष्कर्ष आउने छ ।” रासस

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

पोखरा । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।  पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेको उहाँले उल्लेख गर्नुभयो । “पाँच जनाको मृत्यु भएको यकिन भएको छ, एक जनालाई क्याम्प एकबाट उद्धार गरेका छौं," शेर्पाले भन्नुभयो ।  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको हो । हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झर्नुभएको थियो । यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक शेर्पाले जानकारी दिनुभयो । 

आगामी हिउँदमा बढी वर्षा र गर्मी हुने पूर्वानुमान

काठमाडौं । यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो। विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ। विभागले जनाएअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकोब छ। त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ।  बाँकी भू—भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ। अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिलाई पोस्ट मनसुन पनि भनिन्छ। यो अवधिमामा नेपालमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ।  गत वर्ष पनि पोस्ट मनसुनमा बढी पानी परेको थियो। गत वर्ष ७५.३ मिलिमिटर पानी परेको विभागले बताएको छ। यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको थियो। जसअनुसार जेठ १८देखि असोज १४ गतेसम्मको अवधिमा १७ सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भनेको सरदरभन्दा १६ प्रतिशतले बढी हो। यस वर्ष पुस १६ गतेसम्म कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ। यस्तै बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशका मध्य भू—भाग, मधेस प्रदेशका पूर्वी भू—भाग र बागमती प्रदेशका उत्तरी भू—भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी भू—भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।  

विपतको सामना गर्न छायाँ सरकारको अभ्यासमा माओवादी

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ उपत्यका र आसपासका जिल्लामा गत साता बाढी पीडित प्रभावित क्षेत्रमा पुगेर ‘छायाँ सरकार’ को अभ्यास गरे । माओवादीले औपचारिक रुपमा छायाँ सरकार नबनाए पनि प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले काठमाडौंको बल्खु, ललितपुरको नख्खु र काभ्रेको पनौतीलगायतका क्षेत्रमा पीडितलाई भेटेर आश्वासन समेत दिए । ‘सरकारले साथ नदिए पनि प्रमुख प्रतिपक्ष दल तपाईको दुःख पीडामा सँगै छ,’ दाहालको भनाइ थियो, ‘पीडितको उद्दार र राहतका लागि सरकारलाई दबाव दिएका छौँ । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं ।’ पूर्व प्रधानमन्त्रीका हैसियतमा होइन, छायाँ सरकारको प्रमुखको हैसियतले उनले पीडितसँग कुराकानी गरे । एमालेले २०५२, कांग्रेसले २०७६ मा औपचारिकरुपमै छायाँ सरकार बनाएका थिए । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो प्राकृतिक विपत्तिमा पीडित माझ पुगेर अनौपचारिक रुपमा पार्टीले छायाँ सरकारको भूमिका निभाएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएको बेला आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएपछि सरकारले सर्वदलीय बैठक बोलाउन ढिला गर्‍यो । तर प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले दाहालले असोज १३ मा सर्वदलीय बैठक बोलाए । प्रमुख प्रतिपक्षले बाढी, पहिरो पीडितका लागि उद्दार र राहतका लागि भन्दै सर्वदलीय बैठक बोलाएर छायाँ सरकारको अभ्यास गर्‍यो । त्यही दिन कार्यवाहाक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएपछि दाहालले आयोजना गरेको त्यो बैठक स्थगित गरे । त्यसअघि भदौ १२ मा दाहालले विज्ञप्ति जारी गरी प्रभावित परिवारको उद्दार र राहत दिन सरकारलाई दबाव दिएका थिए । सरकारले बाढीपीडितको उद्दारमा ढिलासुस्ती गरेपछि असोज १३ मा दाहालले सरकारको चर्को आलोचना समेत गरेका थिए । ‘तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु,’ उनको भनाइ थियो, ‘राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।’ त्यही दिन बसेको पदाधिकारी बैठकले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने निर्णय गर्‍यो । साथै, बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आंकलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको थियो । असोज १३ मै ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जनाको उद्दार गर्ने चणिलाल तामाङलाई आफ्नो निवास खुमलटार बोलाएर सम्मान गरे । असोज १४ मा उनले बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धारमा लाग्न जनवर्गीय संगठडन र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिएका थिए । असोज १५ मा दाहाल सहयोगीसहित बाढी प्रभावित क्षेत्र ललितपुरको बल्खु र ललितपुर नख्खु र भक्तपुरको हनुमन्तेमा क्षेत्रमा गइ पीडित उद्धारमा लाग्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष संयुक्त रुपमा लाग्न आग्रह गरे । ‘यो संकटको बेलामा सत्ता पक्ष बिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गर्दछु,’ दाहालको भनाइ थियो, ‘प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको हो ।’ त्यही दिन उनले प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियान सुरु गरे । सरकारले पूर्व तयारी नगर्दा ठूलो क्षति भएको उनले बताए । ‘मौसमको पूर्वानुमान हुँदाहुदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षति भयो’ दाहालको भनाइ थियो । बल्खु पीडितमाझ उनले संकटको सामना गर्न अभिभावकत्व गर्न तयार भएकाले प्रभावित क्षेत्रमा आएको बताए । सरकारबाट बाहिरिएपछि कमिज, टोपी र स्पोर्टस् जुत्तामा सर्वसाधारणबीच गइरहेका दाहाल असोज १६ मा पनि उस्तै पोसाकमा बाढी र पहिरोबाट बढी प्रभावित क्षेत्रमा गई पीडितको दुःखमा आफ्नो पार्टी भएको उल्लेख गर्दै सरकारले बाढी, पहिरो प्रभावितको दुःखमा ध्यान नदिएको आरोप लगाए । ‘पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ’ उनको भनाइ थियो, ‘जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउनुपर्छ ।’ दाहालले असोज १८ मा यातायात व्यवसायी र यातायात मजदुर संगठनका पदाधिधकारीलाई बोलाएर यातायातको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जुन प्रतिबद्धता सरकारले गर्नुपर्ने भए पनि उनी आफैँ अघि सरेका हुन् । उनले दसैंको समयमा गाउँ फर्किने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए । त्यही उनले दिन माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै आफूले पहिलो पटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाए प्राकृतिक विपत्ति कम हुने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दलको हैसियतले विपद् प्रभावित क्षेत्रको अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझेका थिए । त्यस्तै, शनिबार दाहालले सरकारले जनताको काम नगरे आफ्नो दलले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको दाबी गरे । ‘जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको छ,’ उनको भनाइ थियो । आइतबार माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा विपद् व्यवस्थापनका लागि २० बुँदे ज्ञापनपत्र बुझायो । पछिल्लो प्राकृतिक विपत्तिमा सरकारले पहल कदमी लिन नसकेको माओवादीको आरोप थियो । ‘सरकारका तर्फबाट जे जस्तो भूमिका निर्वाह भएपनि हामी प्रतिपक्षी दलको हैसियतमा विपद् यवस्थापनका हरेक चरणमा सरकारसागै रहेका छौं,' ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारका तर्फबाट विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारी हुनुपर्ने भए पनि पछिल्लो प्रकोपमा राज्यको उपस्थिति शून्य प्रायः हुन पुगेको घटना ज्यादै दुःखद् छ ।’ माओवादीले सरकारकै आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असौज १० गते नै विशेष बुलेटिन प्रकाशित गर्दै भारी वर्षाको सम्भावनाबारे सचेत गराएको उल्लेख गरे पनि सरकारले बेवास्ता गरेको जनाएको कान्तिपुर दैनिकले लेखेको छ ।  ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उच्च जोखिममा रहेका जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन तथा प्रतिकार्यका लागि तयार रहन सुरक्षा निकाय तथा मातहतका निकायलाई निर्देशन दिएको अवस्थामा ४ घण्टासम्म जीवन रक्षाको गुहार गर्दै मृत्युवरण गर्नुपर्ने नियति जनताले भोग्नुपर्‍यो’ माओवादीको ज्ञापनपत्रमा लेखिएको छ, ‘काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा अबिरल वर्षा, बाढी र पहिरोका कारण जनताले ठूलो त्रासदी भोगिरहादा राज्यको उपस्थिति कतै देखिएन ।’ सरकारकै निकायमा उचित समन्वय हुन नसक्दा ठूलो क्षति नभएको उल्लेख गर्दै माओवादीले सर्वदलीय पहल गर्न कांग्रेस-एमाले गठबन्धन सरकार चुकेको बताएको छ । ‘एकातिर सरकारी निकायहरुबीच समन्वय र सरकारका तर्फबाट सर्वपक्षीय एकीकृत पहलका लागि समन्वय हुन सके न भने अर्कोतिर विपद् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता काहिा कतै देखाएन,’ माओवादीको भनाइ छ, ‘जनतामाझ सरकार पुग्नुको साटो सिंहदरबारको पर्खालभित्र सीमित सरकारप्रति जनस्तरबाट भएको आलोचना र आक्रोसलाई सरकारको ने तृत्वले गम्भीरतापूर्वक लिन सकेन ।’ माओवादीले ‘राजधानीको मुटुमै समेत उद्धारका लागि गुहार लगाउँदा समेत भिजिबिलिटीको बहाना बनाएर उद्धार हुन नसकेको, प्रधानमन्त्री विदेश भ्रमणमा रहेको बेला मन्त्री, कर्मचारी नेतृत्व तथा विपतसँग सम्बन्धित अन्य पदाधिकारी समेत प्रभावित क्षेत्रमा नगएको’ आरोप लगाएको छ । ‘पूर्वानुमानका आधारमा रात्रि बस सञ्चालनमा रोक लगाउन सकिएन, प्रकोपपूर्व नै जोखिमजन्य स्थानहरूबाट जनतालाई सुरक्षित स्थानान्तरण जस्ता कार्य हुन सकेनन् । यी कमजोरी सरकारका तर्फबाट हुन पुग्दा यसले झन जनधनको क्षति निम्तियो’ माओवादीको आरोप छ, ‘हामीले वर्तमान सरकारबाट समेत यस्तै तदारुकता एवं उच्च समन्वयकारी भूमिका अपेक्षा गरेका थियौं। तर यस्तो गम्भीर परिस्थितिमा प्रभावित क्षेत्रमा उपस्थिति त परै जाओस् , मन्त्रिपरिषद्को आपतकालीन बैठक समेत बस्न सकेन ।’

हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चान गरेको प्रधानमन्त्रीको झुटो दाबी

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलिब्रिज मर्मत गरी यातायत सञ्चालन गरिएको झुटो दाबी गरेको हेवाखोलामा ह्युम पाइपहरू राखेर यातायात सञ्चालन गरिने भएको छ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा ह्युम पाइपहरू राखेर डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओलीले हिजै हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चानमा ल्याइएको बताएका थिए। सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि काम शुरु भइरहेको छ । आज बेलुकीसम्ममा डाइभर्सनको निर्माण पूरा गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुबेदीले बताउनुभयो । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जाने आउने सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने भक्तजनको संख्या घटेको छ। । यस्तै ढुवानी सेवासमेत ठप्प हुँदा थप समस्या भएको छ । पाँचथर, ताप्लेजुङका सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले सुरुवातदेखि नै यातायात सञ्चालन गर्न सबै विकल्प सहित पहल गरिरहेका छन् । पाँचथरको फिदिम नगरपालिका र त्यहाँका सुरक्षा निकायले फड्के समेत निर्माण गरेर राहत पु¥याएका छन्। तत्कालको समस्या समाधानका लागि डाइभर्सनले काम गर्ने भन्दै बेलीब्रिज निर्माण गर्नसमेत आवश्यक पहल भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

लोकप्रिय