जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट, बिरामी घर फर्केपछि मात्रै आउँछ

जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट, बिरामी घर फर्केपछि मात्रै आउँछ
काठमाडौं, भदौ १८ ।  अस्पतालबाट बिरामी निको भई घर पुगेपछि मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट चिकित्सकको हातमा पुग्ने गरेको छ । समयमा रिपोर्ट नआए पनि धेरैजसो बिरामी निको भएर घर फर्कने गरेका छन् । बिरामीले आफूलाई लागेको रोगबारे जानकारीसमेत पाउँदैनन् ।

कतिपय बिरामी रिपोर्टपछि त्रसित बन्ने गरेको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए । ‘हामीले अनुभवका आधारमा बिरामीलाई औषधि चलाएका हुन्छौँ,’ पुनले भने, ‘बिरामी निको भएर घर जान्छन्, पछि रिपोर्टमा स्वाइनफ्लु, स्क्रब टाइफस पोजेटिभ देखिन्छ । फ्लोअपमा आउँदा रोग थाहा पाउँछन्, कतिपय अस्पतालमै बेहोस हुन्छन् ।’

नमुना परीक्षण गराउने बिरामीको संख्या सोचेभन्दा बढी भएकाले रिपोर्टमा ढिलाइ भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । अहिले निजी र सरकारी सबै स्वास्थ्य संस्थाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना आउने गरेका छन् । ‘त्यसैले हामीले समयमा रिपोर्ट दिन नसकेका हौँ । भएका उपकरण प्रयोगमा ल्याएर भरपुर सेवा दिएका छौँ,’ प्रयोगशालका उपमहानिर्देशक विष्णु उपाध्यायले भने । हाल स्क्रब टाइफस, मौसमी इन्फ्लुएन्जाका बिरामी बढी देखिएकाले देशभरिका नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रित भएका छन् ।

रिपोर्ट नहेरी औषधि चलाइन्छ
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक ५० जना रुघाखोकी, ज्वरो, झाडापखालाका बिरामी आउने गरेका छन् । सरुवारोग विशेषज्ञ डा. पुनले धेरैजसो बिरामीको नमुना परीक्षण गर्ने गरेको बताए । ‘बिरामीको लक्षणका आधारमा भर्ना गराएर उपचार सुरु गर्छौँ, अनुभवका आधारमा औषधि चलाउँछौँ,’ उनले भने, ‘बिरामी पूर्णरूपमा ठीक भएर घर पुगेपछि स्वाइनफ्लु पोजेटिभ वा स्क्रब टाइफस पोजेटिभ रिपोर्ट आउँछ ।’

उनले केही समय अनुमानमा औषधि चलाउन सकिए पनि कहिलेकाहीँ रिपोर्टमा अरू नै रोग देखिएको अवस्थामा गम्भीर समस्या निम्तिन सक्ने बताए । ५० बिरामीमध्ये ४३ जनाको रिपोर्ट निको भएर घर गएपछि आउने गरेको पुनको भनाइ छ । ‘सुरुका दिनमा रिपोर्ट आउन एक साता लाग्थ्यो,’ उनले भने, ‘अहिले तीनदेखि चार दिनमा रिपोर्ट आउँछ । तर, धेरै बिरामी निको भएर गइसकेका हुन्छन् । बिरामी स्वयंलाई के रोग लागेको थियो भन्ने पनि जानकारी हँुदैन ।’

महत्वपूर्ण रिपोर्ट दिन तोकेर 
डा.रुणा झा 
निर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
सरकारी स्वास्थ्य संस्थाले भन्दा चाँडो रिपोर्ट दिएका छौँ । तर, महत्वपूर्ण रिपोर्टका लागि हामीले दिन तोकेर दिने गरेकाले रिपोर्टमा समय लागेको हो । जनशक्ति र कम उपकरणले पनि काम गर्न केही समस्या परेको छ । एउटा नमुना परीक्षण गर्दा खर्च धेरै आउने भएकाले महत्वपूर्ण नमुना संकलन गरेर सातामा दुुईपटक परीक्षण गर्छौँ । हप्ताभरि नमुना संकलन गरी बिहीबार र शुक्रबार परीक्षण गरेकाले ढिलाइ भएको हो ।

यसरी गरिन्छ परीक्षण
इन्फ्लुएन्जा वा कुनै पनि रोगको परीक्षण गर्दा पहिले गुण पत्ता लगाउनुपर्छ । ‘ए’ वा ‘बी’ के हो भनेर छुट्याउनुपर्छ । आएका नमुना गुणस्तर संकलन भए नभएको बारे परीक्षण गरिन्छ । गुणस्तर नमुना संकलन भएको हो भन्ने प्रमाणित भएपछि इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ मेसिनमा हालिन्छ । त्यसमा इन्फ्लुएन्जा कुनै एउटा देखिएमा त्यसको प्रजाति पत्ता लगाउनुपर्ने हुन्छ । यसरी सबै उपकरण जुटाएर परीक्षण गर्दा पाँच घन्टा समय लाग्न जान्छ । बिहानैदेखि काम गरेको खण्डमा दिनमा दुई लट परीक्षण गर्न सकिन्छ । एक लटमा ७० वटा नमुना परीक्षण गरिन्छ । त्यसलाई हेर्दा बढीमा एक दिनमा एक सय ५० नमुना परीक्षण गर्न सकिन्छ ।

नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला केन्द्रित
डा. विष्णु उपाध्याय 
उपनिर्देशक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
अहिले विभिन्न प्रकारका रोगको प्रकोप देखापरेकाले प्रयोगशालामा नमुना परीक्षणका लागि आउने हुँदा बिरामीको चाप अत्यधिक बढेको छ । हामीसँग तीनवटा उपकरण सञ्चालनमा छन् । ती उपकरणलाई बिहानदेखि राति अबेरसम्म निरन्तर सञ्चालनमा ल्याउँदा पनि बिरामीको चापलाई कम गराउन सक्ने अवस्था हामीसँग छैन । परीक्षणका लागि आएका नमुना धेरै हुँदा चार दिनसम्म रिपोर्ट आउन समय लाग्छ । -नयाँ पत्रिकाबाट

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय