जलविद्युत आयोजनाको काम तीव्र

जलविद्युत आयोजनाको काम तीव्र

म्याग्दी, माघ ६ । सव–स्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत आयोजनाको कामले गति लिएको छ ।

नेपाल विद्युत प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो ।

उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सव–स्टेसनको अभावमा अनुमति लिएर बसेका दर्जनौं आयोजनाको कामअघि बढेको छ ।

म्याग्दीको नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण कार्यले तीव्रता पाएको छ ।

वेगमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, पिप्लेमा ४० मेगावाटको राहुघाट, नारच्याङमै ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् ।

मुस्ताङको टुकुचेमा १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

नौ वर्षअघि रोवष्ट इनर्जी प्रालिले निर्माण प्रक्रिया थालेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु गरेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । “वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत काम पूरा गरे पनि सवस्टेसन र प्रसारण लाइन कुरेर बसेका थियौँ”, शर्माले भने– ‘जति छिटो पूर्वाधार बन्छ, त्यति गतिमा आयोजनाको काम अघि बढाउँछौँ ।’

नारच्याङमै निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाले पनि आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सुरुङ, बाँध र विद्युत गृह बनाउने काम तीव्ररुपमा अघि बढाएको जनाएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बहुप्रतिक्षित सव–स्टेसन र प्रसारण लाइनको काम सुरु भएसँगै कालीगण्डकी र आसपासका नदीमा जलविद्युत आयोजना बनाउन लगानीकर्ता सक्रिय बनेका बताए ।

‘जेनेरेसन लाइसेन्स लिई पिपिए गरेर बसेका आयोजना अघि बढाउन राम्रो वातावरण बनेको छ’ केन्द्रीय सदस्य श्रेष्ठले भने ‘म्याग्दीमात्र नभएर समग्र धौलागिरि क्षेत्रमा जलविद्युत् विकासको सम्भावना बढेको छ ।’

वि.सं २०७५ को साउनमा सम्पन्न गर्ने लक्ष्यसहित दाना र कुश्मामा सवस्टेसनका साथै प्रसारण लाइनको काम गर्न रु.दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी टाटा प्रोजेक्ट चिन्ट इलेक्ट्रिकले कार्यक्षेत्रमा परिचालित भएर कामलाई तीव्रता दिएको छ ।

ठेकेदारले सव–स्टेसन निर्माण हुने ठाउँको जग्गा सम्माउने र घेराउ गर्ने काम सकेर पूर्वाधार निर्माण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार ट्रान्समिसन लाइनको नक्सांकनको काम पनि अन्तिम चरणमा पुगेको छ ।

‘निर्धारित समयभित्रै आयोजना सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ’, प्रमुख घोषले भने– ‘स्थानीयस्तरबाट सहयोग, विपद्लगायतका समस्या नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन्छ ।’

सवस्टेसन बनाउन दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । पर्वतको खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सवस्टेसन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ ।

खुर्कोटमा जग्गा अधिग्रहण प्रक्रियामा मुआब्जामा सहमति नजुट्दा आयोजनाको काम करिब डेढ वर्षपछि धकेलिएको हो । दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् ।

यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले बताए ।

महसुल नबुझाउने सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु

गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् । एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् । वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ । रासस

काठमाडौंका यी स्थानमा आज बन्द रहनेछ छ विद्युत आपूर्ति

काठमाडौं । काठमाडौंका केही स्थानमा आज विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् सेवा अवरुद्ध हुने यसअघि नै जानकारी गराइसकेको छ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो । चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुनेछ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  

काठमाडौंका यी स्थानमा हुनेछैन ७ देखि १३ गतेसम्म विद्युत् आपूर्ति (तालिकासहित)

काठमाडौं । काठमाडौंमा आइतबार (भोलि) देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

६० अर्ब बराबरको आईपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका निम्ति अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गएको मंसिर २५ गते बसेको बैठकबाट आवश्यक निर्णय गरिएको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका निम्ति अनुरोध गर्ने निर्णय गरेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति ९नेटवर्थ०को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पुँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ सेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आमनागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत सेयर सर्वसाधरणमा बिक्री गरेको थियो ।

लोकप्रिय