महसुल नबुझाउने सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु
गोदावरी । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।
प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम एक करोड ५३ लाख ४९ हजार ३६५ रहेको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् ।
एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख दुई हजार ६०७ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।
लाइन काटिएका सरकारी कार्यालयबाट एक लाख ४८ हजार ६४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।
वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ ।
लाइन काटेको ६ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको छ । रासस
आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्रमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । त्यसैगरी दीर्घकालीन लक्ष्यः सन् २ हजार १०० सम्म ४० हजार ००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्दै नेकपाले शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ । नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता सहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ । ऊर्जा क्षेत्रमा गरिएका प्रतिबद्धताहरू : · प्रतिव्यक्ति विद्युत खपत आगामी पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्याइनेछ । · विक्रम सम्वत् २१०० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन पहल गरिनेछ । · नयाँ आयोजनाहरूको विद्युत खरिद सम्झौता खोल्नुका साथै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तो सम्झौता गर्न सक्ने व्यवस्था मिलाइनेछ । · आगामी ५ वर्षमा १०,००० मेगावाट थप गरी राष्ट्रिय प्रणालीको क्षमता १५,००० मेगावाट पुर्याइनेछ । · विद्युत निर्यात सुनिश्चित गर्न भारत र बङ्गलादेशसँगको सम्झौता प्रभावकारी बनाइनेछ । · नवीकरणीय ऊर्जा (सौर्य, वायु, माइक्रो/साना जलविद्युत) प्रवद्र्धन गरी नवीकरणीय ऊर्जा मिश्रण बढाइनेछ । · जलविद्युत आयोजनाहरूको वातावरणीय तथा सामाजिक सुरक्षण सुनिश्चित गर्दै दिगो विकास मोडेल अपनाइनेछ । · शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देशको लक्ष्यसहित ऊर्जामैत्री देश घोषणाका लागि आवश्यक कार्यहरू गर्ने । · ऊर्जा क्षेत्रमा स्वदेशी तथा बाह्य लगानी अभिवृद्धि गर्न नीतिगत तथा कानुनी सुधार गर्ने । ग्रामीण तथा सहरी विकास · अव्यवस्थित बसोबास हटाउँदै व्यवस्थित र एकीकृत वस्तिको विकास गर्ने, गाउँ तथा नगरका बसोबास क्षेत्रमा आधुनिक सेवा र सुविधा पुर्याइनेछ । · आगामी ५ वर्षभित्र छानिएका २० वटा शहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण वस्तिलाई स्मार्ट भिलेज बनाउन प्रभावकारी परियोजना सञ्चालन गरिनेछ । · आगामी ५ वर्षभित्रमा सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइनेछ । · एक परिवार एक आवास इकाईको अवधारणा अन्तर्गत सरकारी र निजी क्षेत्रको लगानीमा पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाई निर्माण गरिनेछ ।
काठमाडौँका यी क्षेत्रमा आज बिहान ११ देखि १ बजेसम्म बिजुली कटौती हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न क्षेत्रमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी फिडर र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । प्रभावित क्षेत्रहरूमा लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका भागहरू छन् । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्र पनि प्रभावित हुनेछन् । यो कटौती काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण लाइनलाई भूमिगत बनाउने र भूमिगत केवलहरू जोड्ने कार्यका लागि आवश्यक रहेको प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रले जनाएको छ । तोकेको कार्य निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा बिजुली छिट्टै सुचारु हुने सूचनामा उल्लेख गरिएको छ ।
जुम्लाकाे तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने
जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले उक्त जानकारी दिए। तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्ताविक आयोजनाको ‘डिजाइन डिस्चार्ज’ ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नापजाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए। प्रस्ताविक आयोजनाका लागि तिला नदीमा सात मिटर उचाइको बाँध निर्माण गरी तिला नदीको पानीलाई ‘साइड इेन्टेक गेट’मार्फत ग्राभेल ट्र्यापमा पुर्याइने छ । सर्ज साफ्टबाट पानीलाई २८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत ३६ मिटर लम्बाइ, १६ मिटर चौडाइ र ३२ मिटर गहिराइ भएको अर्धसतही विद्युत्गृहमा पुर्याई ३८ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए। उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा लगेर जोडिने छ । विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्वारा पुन: तिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचनाहरु तिला नदीको बायाँ किनारमा रहने छन् । आयोजना कुल लागत नेपाल सरकारको रु सात अर्ब ५६ करोड ७४ लाख ३७ हजार ४०५ लाग्ने अनुमान गरिएको विभागका उपसचिव शाहले बताए। आयोजनाबाट उत्पादन भएको विद्युत् ३० दशमलव २० किमी लामो र १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल सात दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा चार दशमलव ७७२ हेक्टर र निजी जग्गा दुई दशमलव ८१३ हेक्टर छ । आयोजना निर्माण अवधिमा स्थानीयले ३० देखि ३२० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्ने छन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिए। विद्युत् गृहको उचाइ समुद्री सतहबाट क्रमण: दुई हजार ३० मिटर र एक हजार ९४५ मिटरको अवस्थिति रहने छ । आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिन्छ । प्रत्यक्ष प्रभावित धरधुरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ । तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माण अगाडि बढ्ने आयोजनाले जनाएको छ ।
पच्चिस वर्षपछि प्रभावितलाई भोटेकोशी हाइड्रोको सेयर
सिन्धुपाल्चोक । भोटेकोशी पावर प्रोजेक्टले स्थानीय प्रभावितलाई निःशुल्क १० प्रतिशत सेयर दिने निर्णय गरेको छ । जेनजी समूहले सेयरको मागसहित आन्दोलन गरेपछि भोटेकोशी गाउँपालिका र हाइड्रोपावर कम्पनीबीच सहमति भएको हो । ४५ मेगावाट क्षमताको उक्त आयोजनामा सेयरको माग राख्दै जेनजी समूहले एक सातादेखि उत्पादन बन्द गराएको थियो । आयोजनाले असोज २ गते जेनजी समूहलाई अलग राखी गाउँपालिका कार्यालयमा गोप्य वार्ता सुरु गरेपछि समूहले असन्तुष्टि जनाउँदै कार्यालयमा तोडफोड गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि भोटेकोशी पावर प्रालिका बबिन प्रधान र प्रेम साउद, जेनजी समूहका प्रतिनिधि फुर्पा शेर्पा, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनुर्पु शेर्पा र वडा नं. ३ का अध्यक्ष निमा शेर्पाले वार्ता गर्दै १० प्रतिशत सेयर निःशुल्क दिने सहमति गरेका छन् । जेनजी प्रतिनिधि फुर्पा शेर्पाका अनुसार भोटेकोशी इन्भेस्टमेन्ट प्रालिको नाममा उक्त सेयर कायम गर्ने र तत्काल ५२ जना जेनजी समूहका सदस्यलाई कम्पनीको बोर्डमा समावेश गर्ने निर्णय भएको छ। सहमति ४५ दिनभित्र कार्यान्वयन गर्ने उल्लेख छ । सहमतिपछि हाइड्रोपावरले असोज २ गते बेलुकीदेखि नै उत्पादन सुरु गरेको छ । भोटेकोशी पावर प्रोजेक्टले २०५७ सालदेखि विद्युत् उत्पादन गर्दै आएको हो । सुरुमा ३६ मेगावाटबाट सुरु भएको आयोजनाले केही समयपछि नौ मेगावाट थप गरी हाल ४५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको बाँध भोटेकोशी गाउँपालिका–२ दसकिलोमा र पावरहाउस झिर्पुमा रहेको छ । आयोजनालाई निकट भविष्यमा सरकारलाई हस्तान्तरण गर्ने तयारी छ ।

