टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई सेवा र राजश्व बृद्धिमा ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन्। मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

नेपालका धेरै क्षेत्रमा नकारात्मक सूचक रहेको बेला टेलिकमले सकारात्मक नतिजा दिइरहेको भए पनि अब यतिमा मात्रै सन्तुष्टि लिने अवस्था नरहेकाले गुणस्तर र सेवा वृद्धिका योजना बनाउन उनले आग्रह गरिन् । ‘१८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?’– मन्त्री शर्माले भनिन्– ‘तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण उर्जा क्रान्ति संभव भयो, हामीले हरेक निकायलाई यसरी नै नयाँ सोंचसहित अघि बढाउन आवश्यक छ ।’

नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा नै सन्तुष्टि देख्ने वातावरण बनाउनुपर्ने उनले बताइन् । उनले भनिन्– ‘हामी यस्तो वातावरण बनाऔं कि नेपाल टेलिकममा महत्वपूर्ण जीवन बिताएर अन्तिममा विदाइ हुँदै गर्दा हरेक कर्मचारीले मेरो योगदानका कारण नेपालमा सञ्चार क्रान्ति भयो भनेर गर्व गर्न सकून् । तपाइँहरुको सकारात्मक काममा सरकारको सँधै साथ रहन्छ, गलत कामका लागि कुनै दबाब दिइने छैन ।’

नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रुपमा योगदान गर्ने दुबै भूमिका रहेको औल्याउँदै मन्त्री शर्माले परम्परागत सोंच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गरिन्। ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उनले ग्राहकसँग मीठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्वोधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिए ।

आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा ‘हाइवे कनेक्टिभिटी’को योजना अघि सारेको स्मरण गराउँदै उनले अबको केही समयभित्रै राजमार्गको सबै क्षेत्रमा फोन र इन्टरनेटको पहुँच स्थापित गर्न आग्रह गरिन। ‘सामान्य अवस्थामा पनि यात्राका बेलामा सबैभन्दा बढी सञ्चार सम्पर्क गर्नु आवश्यक हुन्छ, त्यसमा पनि दुर्घटना, विरामी आदिका लागि राजमार्गको सबै क्षेत्रमा सञ्चार सम्पर्क आवश्यक हुन्छ’– मन्त्री शर्माले भने– ‘दैनिक हजारौं गाडी चल्ने राजमार्गमा लाखौं यात्रुले सेवा पाउने र उनीहरुले ब्यापार पनि बढाउने भएकाले हाइवे कनेक्टिभिटी टेलिकमको महत्वपूर्ण परियोजनाको रुपमा अघि बढ्नुपर्छ, यसको शीघ्र नतिजाको अपेक्षा गरेको छु ।’

आफूहरु सामान्य दिन कटाउने हिसाबले नभई देशलाई नयाँ अभियानमा अघि बढाउने उद्देश्यका साथ सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उनले टेलिकमलगायत आफ्नो मन्त्रालय माताहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताए । टेलिकमलाई पूर्ण डिजिटलाइजेसन गर्दै हरेक शाखामा कार्यदलहरु बनाएर निश्चित समय तोकेर सुधारलाई अभियानकै रुपमा अघि बढाउन पनि मन्त्री शर्माले निर्देशन दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले सेवा र गुणस्तरलाई नयाँ ढंगले अघि बढाउन आग्रह गरे। टेलिकमले अघि सार्न खोजेको ‘भिजन २०३०’लाई निर्णय प्रक्रियामा लगिने उल्लेख गर्दै उनले दूरसञ्चार विधेयकलगायतका आवश्यक कानुन परिमार्जन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले राष्ट्रको सञ्चारको रुपमा रहेको टेलिकमको गुणस्तर र सेवा बृद्धि गर्दै लैजाने बताए । अबको सेवा डेटामा केन्द्रित भएकाले ग्राहकको चाहनाअनुसार सेवा थप्दै लैजाने र ग्राहक सेवा केन्द्रलाई आगामी असारभित्र पूर्णरुपमा सुधार गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

दुई दिनसम्म चलेको अन्तर्क्रियामा दूरसञ्चार क्षेत्रका विश्वब्यापी प्रवृत्ति र टेलिकममा गर्नुपर्ने सुधारका बारेमा विज्ञ भुपेन्द्र भण्डारी, भिजन २०३० बारे प्रबन्धक वृजेश शर्मा, नीति कार्यक्रम र बजेटबारे प्रबन्धक शोभन अधिकारी, सेवा र मर्मत सुधारबारे प्रबन्धक शालिग्राम पराजुली, बजार र ब्यापार विस्तारबारे प्रबन्धक रिना डंगोललगायतले आधारपत्र प्रस्तुत गरेका थिए।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय