देशकै नमुना गाउँपालिका बनाउन दोस्रो कार्यकालको उम्मेदवारी : भुपाल पोखरेल
गीता पाण्डे
गुल्मी, १७ बैशाख । धुर्कोट गाउँपालिकामा अध्यक्षका उम्मेदवार भुपाल पोखरेलले अधुरा र अपूरा कामहरु सम्पन्न गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
अघिल्लो कार्यकालमा आफूले गाउँपालिकाको विकासका निम्ति जग बसालेको भन्दै त्यसलाई पूरा गर्न र देशकै नमुना गाउँपालिका बनाउन आफूले दोस्रो पटकका लागि पुनः उम्मेदवारी दिएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका पोखरेलले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा युवाहरुबाट परिवर्तन सम्भव छ भन्ने उदाहरण यसअघिकै कार्यकालमा प्रमाणित भएको बताए ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानीकरण अनुदानका लागि १७ सूचकका आधारमा मूल्याङ्कन गर्दा धुर्कोट गाउँपालिका देशमै तेस्रो भएको थियो । १०० अंकमा धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अंक ल्याएको थियो । दोस्रो हुने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले ७७ दशमलव ११ अंक ल्याएको थियो भने पहिलो हुने डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८ दशमलव ६९ अंक ल्याएको थियो ।
गाउँपालिकामा अधुरा कामहरु पूरा गर्नका लागि पुनः यहाँका स्थानीयहरुको माग अनुसार नै आफ्नो उम्मेदवारी भएको उनको दाबी छ ।
पाँच बर्षको कार्यकालमा आफूले गाउँपालिकाभित्रका ८० प्रतिशत स्थानीयका घरमा एक घर एक धारा पुगेको, गाउँपालिकालाई गुल्मी जिल्लामै पहिलोपटक खरको छानामुक्त गाउँपालिका घोषणा गरेको, गाउँपालिकाको आफ्नो प्रशासकीय भवनसँगै सभाहलहरु निर्माण गरेको बताए ।
युवाहरुलाई गाउँमै व्यावसायिक रुपमा कृषि र पशुपालनका माध्यमबाट स्वरोजगार बनाउने, सडक सञ्जालहरुलाई स्तरोन्नतिसँगै कालोपत्रे गर्ने, बसाई सराइँको दरलाई कम गर्न सामुदायिक विद्यालयहरुको शिक्षालाई गुणस्तरीय बनाई देशकै नमुना गाउँपालिका बनाउने उनको उद्घोष छ ।
उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका महेन्द्र भण्डारी अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । अघिल्लो कार्यकालमा उनी नेपाली कांग्रेससँगको तालमेलबाट अध्यक्ष बनेका थिए ।
गुल्मीमा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष, सत्यवती गाउँपालिकाका अध्यक्ष, मालिका गाउँपालिकाका अध्यक्ष, मदाने र इश्मा गाउँपालिकाका उपाध्यक्ष र धुर्कोट गाउँपालिकाका अध्यक्ष दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन् ।
यस्तो रहनेछ आज दिनभरको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै, आजराति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर २९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।
माओवादी पदाधिकारी बैठक आज बस्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे अध्यक्ष निवास खुमलटारमा बस्न लागेको हो । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाको क्यान्सरको निःशुल्क उपचार शुरु
काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार सेवा शुरु गरिएको छ । अस्पतालले मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको सम्पूर्ण उपचार निःशुल्क सेवा शुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सरको उपचार निःशुल्क गर्ने गरी गएको कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको थियो । अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो । सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौं र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो । स्वास्थ्यमन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्ने गरी पहल सुरु गरेका थिए । बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि पनि निःशुल्क प्रदान गरिने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०८० चैत १४ गते विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग बालबालिकामा हुने क्यान्सरको उपचारका निम्ति निःशुल्क औषधि प्राप्तिको सम्झौता गरेको थियो । नेपालमा हरेक वर्ष झण्डै १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ ।
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज हुँदै
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत उम्मेदवारको नामावली आज प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बुधबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय सिमा तोकिएको छ । भोलि नै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि ३ सय २३ जनाको उम्मेदवारी परेको छ । कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ ।