धौलागिरिको फेदमा होटल व्यवसाय

धौलागिरिको फेदमा होटल व्यवसाय

म्याग्दी । वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ ।

राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ ।

तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिनुभएको छ । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् ।

“पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मिलाउनुभएको छ । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ ।

उहाँले निर्माण गर्नुभएको पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् ।

होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातांैँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताउनुभयो ।

होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भन्नुभयो ।

इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउनुहुन्छ । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उहाँले भन्नुभयो ।

होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गर्नुभएको हो । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उहाँले भनाइ छ ।

धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उहाँले सोलारमार्फत बिजुली बाल्नुभएको छ । “खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उहाले भन्नुभयो । उहाँले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गर्नुभएको छ ।

पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताउनुभयो । अन्तिम मानवबस्ती बगरगाउँदेखिमाथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् ।

देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउनुभयो । रासस

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय