नयाँ प्रधानमन्त्री नियुक्तिमा नयाँ ‘बहस’

नयाँ प्रधानमन्त्री नियुक्तिमा नयाँ ‘बहस’

काठमाडौं, माघ २४ । नयाँ प्रधानमन्त्री नियुक्तिको निम्ति संघीय संसद्को पहिलो बैठक अनिवार्य हुने/नहुने भन्नेमा फरक-फरक मत देखा परेका छन्।

सांसद पदको शपथ लिएपछि प्रधानमन्त्री नियुक्त हुने बाटो खुल्ने भन्दै महान्यायाधीवक्ताले बैठक अनिवार्य हुने तर्क गरेका छन्।

तर वामपन्थी गठबन्धनले ‘विगतको अभ्यास र संवैधनिक व्यवस्था अनुसार’ त्यो आवश्यक नहुने बताएको छ।

प्रतिनिधि सभालाई पूर्णता दिन राष्ट्रिय सभाको चुनावको अनिवार्यता सम्बन्धी विवादमा केही हप्ता बितेको थियो।

राष्ट्रिय सभा चुनावको नतिजा ‘तीन दिनभित्र’

उदाहरण

यसअघि संसद्‌मा सहमतिको आधारमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेकाले संसद् बैठकमा सहभागी हुन सांसदले शपथ लिनु पर्थ्यो। तर अहिलेको संविधानमा प्रष्ट व्यवस्था छ। शपथ लिनु पर्दैन।

सुवास नेम्बाङ, एमाले नेता

लामो बहसपछि बुधवार हुन लागेको राष्ट्रिय चुनावको मुखमा प्रधानमन्त्री बन्न वा संसद्लाई पूर्णता दिन सांसदले शपथ लिनु पर्ने/नपर्नेमा मतभेद देखापरेको हो।

संविधानमा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेतालाई वा त्यो नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

वाम गठबन्धन सरकार गठनको प्रतिक्षामा छ

तर यसअघि संसदबाट प्रधानमन्त्री निर्वाचित हुने प्रावधान वर्तमान संविधानमा नरहेको बताउँदै पूर्वसभामुख एवं नेकपा एमालेका नेता सुवास नेम्बाङ भन्छन्, “यसअघि संसद्‌मा सहमतिको आधारमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्था रहेकाले संसद् बैठकमा सहभागी हुन सांसदले शपथ लिनु पर्थ्यो। तर अहिलेको संविधानमा प्रष्ट व्यवस्था छ। शपथ लिनु पर्दैन।”

उनी लगायतका कतिपयले २०४७ सालको संविधान अनुसार संसदको बैठक अघि नै गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री नियुक्त भएको उदाहरण पेश गर्छन्।

‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’

तर्क

अहिलेको संविधानअनुसार त्यो अवस्थासँग तुलना गर्न मिल्दैन। संघीय संसद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको दाबी गर्ने हो। संसद्ले पूर्णता पाउन सपथ ग्रहण गर्नुपर्‍यो। त्यसैले सरकार गठनको निम्ति पनि संसदको पहिलो बैठक बस्नुपर्छ।

वसन्तराम भण्डारी, महान्यायाधीवक्ता

तर महान्यायाधीवक्ता वसन्तराम भण्डारीको तर्क छ, “बहुदलीय व्यवस्थामा बहुमत प्राप्त नेतालाई प्रधानमन्त्री बनाउने हो। तर अहिलेको संविधानअनुसार त्यो अवस्थासँग तुलना गर्न मिल्दैन। संघीय संसद्ले पूर्णता पाएपछि प्रधानमन्त्रीको दाबी गर्ने हो। संसद्ले पूर्णता पाउन सपथ ग्रहण गर्नुपर्‍यो। त्यसैले सरकार गठनको निम्ति पनि संसदको पहिलो बैठक बस्नुपर्छ।”

वाम गठबन्धनले नयाँ सरकार गठनको बाटो खुला गर्न प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको थियो।

राष्ट्रपति

नयाँ सरकार गठनको प्रक्रिया राष्ट्रपति कार्यालयले अघि बढाउने व्यवस्था छ

‘देउवाले बाटो खोलिदिने राष्ट्रपतिको विश्वास’

राष्ट्रिय सभा चुनावको मुखमा त्यस सम्बन्धमा प्रधानमन्त्रीको मनसायबारे कानूनमन्त्री यज्ञबहादुर थापाले भने, “निर्वाचन आयोगले संघीय संसद्को अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि, संघीय संसद्ले पूर्णता पाएपछि राजीनामा बारे सोच्छौं।”

निर्वाचन आयोगले फागुनको पहिलो साता संघीय संसदको अन्तिम परिणाम बुझाउने ठानिएको छ। त्यसपछिको प्रक्रिया राष्ट्रपति कार्यालयले अघि बढाउने छ।

उक्त कार्यालयका एकजना अधिकारीले ‘संवैधानिक प्रावधान र अन्य ध्यानाकर्षणलाई मध्यनजर गरेर छलफल चलिरहेको’ बताए। उनका अनुसार त्यसबारे शीतल निवास दुई-तीन दिनमा टुंगोमा पुग्नेछ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय