निरन्तर बढ्दै छ सुनको मूल्य, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा केहि दिन यता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो ।
बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
विश्व योग दिवस २०८२: अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्व योग दिवस २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनसमुदाय, योग साधकहरू र विश्वभरिका योगप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिँदै योगलाई "हाम्रो प्राचीन सभ्यताको अमूल्य निधि" भन्नुभएको छ । जसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई सँगसँगै समृद्ध बनाउने उल्लेख गर्नुभएको छ। "यस वर्षको विश्व योग दिवसको नारा 'Yoga for One Earth, One Health' ले हामीलाई व्यक्तिगत स्वास्थ्य र सामाजिक चेतनाको विकाससँगै आत्मानुशासन, सन्तुलन र शान्तिको मार्गमा डोर्याउन प्रेरित गरेको छ," उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। अध्यक्ष प्रचण्डले योगको उत्पत्ति र विकास भएको ऐतिहासिक पृष्ठभूमि रहेको नेपाललाई विश्वभरिका योग साधकहरूका लागि एक आदर्श गन्तव्यका रूपमा स्थापित गर्न सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ। विश्वभर हरेक वर्ष जुन २१ तारिखमा मनाइने योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्।
नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद् व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।
विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प
दुम्किवास — लगातार वर्षापछि विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुनः बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवास खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। गए रातिदेखि परेको वर्षाले खोलामा बाढी आएपछि बनाइएको डाइभर्सन बगाएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, बाढीका कारण एक यात्रुवाहक बस समेत बगेको छ। यद्यपि, सो बसमा रहेका सबै यात्रुहरू सकुशल उद्धार गरिएको जनाइएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाइएको छ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
काठमाडौं— देशभर मौसमी गतिविधि तीव्र बनेका कारण आज अधिकांश स्थानमा बदलीसहित वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो १० बजेदेखि ११ बजेसम्म वर्षा सुरु हुने र दिनभर यदाकदा पानी पर्ने क्रम जारी रहनेछ। “वर्षा सुरु भइसकेको छैन, तर दिउँसो हल्कादेखि मध्यम वर्षा हुनसक्छ,” मौसमविद्हरूले जानकारी दिएका छन्। सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च पहाडी र हिमाली भूभागमा पनि आज हल्का वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनी र पश्चिमी वायुले असर पुर्याउँदै हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको पश्चिम भू-भागमा पश्चिमी र स्थानीय वायुले आंशिक असर पुर्याएको विभागले जनाएको छ। साथै, भारतको पश्चिम बंगाल नजिकै बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ।