पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ — जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)लाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

बुधबारदेखि सुरु थुनछेक बहस बिहीबार सकिएलगत्तै जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले थुनामा राखेर अनुसन्धान गर्ने आदेश गरेकाे थियाे । तत्काल देखिएका प्रमाणका आधारमा शाहले बलात्कार गरेकाे देखिन आएकाेले पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएकाे हाे । शाहविरुद्ध मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।

शाहको पक्षबाट ११ कानुन व्यवसायी र पीडितको पक्षबाट ९ जनाले बहसमा भाग लिएका थिए । अभियोगपत्र दर्ता भएलगत्तै मंगलबारै अदालतले शाहको बयान लिएको थियो । शाहविरुद्ध पूर्वीनवलपरासी जिल्ला अदालतमा पनि सोही प्रकृतिको मुद्दा दर्ता भएको छ ।

प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोगपत्र दर्ता गरेसँगै गत मंगलबार दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो । साेही मुद्दामा पक्राउ परेका कृष्ण जाेशीलाई भने एक लाख धराैटीमा छाेड्न आदेश दिईएकाे छ । paul shah

प्रतिपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । विपक्षी दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन्। बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनर्स्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्दै प्रमुख प्रतिपक्ष दल माओवादी, प्रतिपक्ष दलहरू रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन् । माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा टुंग्याएको छ । विज्ञले वेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठुलो क्षति भएको निष्कर्षसहित विपक्षी दलहरूले पीडितलाई तत्काल राहत उपलब्ध गराउन ज्ञापनपत्र बुझाउन लागेको जनाएका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको तयारी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।

आज जुम्लामा जनसभाको तयारी, अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने

जुम्ला ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनसभालाई सम्बोधन गर्न आज जुम्ला पुग्नुभएको छ । उहाँले सिंजा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  नेकपा माओवादी केन्द्र जुम्लाका अनुसार खस भाषा र सभ्यताको केन्द्र सिंजाको कनकासुन्दरीमा अवलोकन तथा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष नवराज न्यौपानेका अनुसार कनकासुन्दरीको गोरुचौरमा जनसभाको तयारी हुँदैछ । जिल्ला ईन्चाज नरेश भण्डारीका अनुसार अध्यक्ष प्रचण्डले अहिले राराको अवलोकन गरिरहनुभएको छ । 

भ्रष्टाचारको जगमा बनेको ओली सरकार ढाल्नैपर्छः लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको ढोकाबाट प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस भएको आरोप लगाएका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ गरी पोखरा पुर्‍याइएका लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा ओलीले जनतालाई सधैँ दुःखमा राखेर र आफूलाई डेढ वर्ष लगाएर झुटो मुद्दामा फसाएको बताए । उनले सरकार नढलेसम्म ओलीले निर्दोष मान्छे फसाउँदै जाने भएकाले सरकार ढल्नुपर्ने तर्क पनि गरे । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मलाई जस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो । म फेरि पनि भन्छु – न्याय अदालतको एकदमै धेरै विश्वास गर्छु ।’ आफू अदालती प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले थपे, ‘यिनीहरूको यो वर्चस्व र राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ने र जनतालाई सधैँ दुःखमा राख्ने अन्तिम लडाइँ हो । राम्रो मान्छे फसाउने यिनीहरूको सत्ता अब अन्त्य हुनुपर्छ । पोखरामा भएका र देश विदेशबाट नेपाली नागरिकहरू एक भएर सरकारको विरोध गर्न अनुरोध गर्छु ।’

रास्वपा प्रदर्शनमाथि प्रहरी हस्तक्षेप, पानीका फोहरा र अश्रुग्याँस प्रहार

पोखरा। स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेता कार्यकर्तालाई हटाउन खोज्दा तनाव सिर्जना भएको छ । पार्टीका सभापति रवि लामिछानेलाई 'राजनीतिक प्रतिशोध' मा समातिएको भन्दै रास्वपाका नेता कार्यकर्ताले सहिद चोकमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्रबाट प्रदर्शनकारीलाई हटाउन प्रहरीले पानीको फोहरा हानेको छ । केहीबेर प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेलसमेत भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । सहिद चोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

लोकप्रिय