‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन
म्याग्दी, पुष ९ । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब संकलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो ।
सो गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिशुकल्याण माविमा अगुवा कृषक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको रोहवरमा उक्त अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
“जङ्गलमा खेर गएको वनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहर, पातपतिङ्गर र पिसाब मिलाएर जैविक मल उत्पादन गरी बिक्री गर्ने गरी अभियान सञ्चालन गरेका हौँ,” उनले भने ।
तरकारी खेतीमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै उर्वराशक्ति बढाउन कृषि विज्ञ वीरेन्द्रप्रकाश पोख्रेलले कृषकलाई अनुरोध गरे । सो अवसरमा जिल्लामा मानवमूत्र सङ्कलनको अवस्था, यसबाट आयआर्जन, कृषकको जीवनस्तरमा आउने परिवर्तन लगायतका विषयमा तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो ।
मङ्गलाका कृषकले मानवमूत्र सङ्कलन गरेर तरकारी खेतीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक किसानलाई पिसाबबाट आम्दानीको हिसाब गर्ने बनाएर उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन अभियान सञ्चालन गरिएको अध्यक्ष रोकाले बताए । उनले सार्वजनिक स्थान र विद्यालयका शौचालमा पिसाब सङ्कलन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाले सानो लगानीमा समेत पर्याप्त आम्दानी गर्न मिल्ने क्षेत्रको पहिचान गरिरहेको छ । कृषकलाई उक्त अभियानका लागि साथ दिनसमेत अनुरोध गरिएको छ । मानव मलमूत्रसँगै पशु मलमूत्र पनि सँगसँगै सङ्कलन गरी भकारो सुधार कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । रासस
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।