पूर्वप्रधान न्यायाधिश गोपाल पराजुलीको पेन्सन पट्टा पनि विवादमा, बढाउन खोजे ७ महिना

पूर्वप्रधान न्यायाधिश गोपाल पराजुलीको पेन्सन पट्टा पनि विवादमा, बढाउन खोजे ७ महिना

नागरिकतासम्बन्धि विवादमा मुछिएको पूर्व मुख्य न्यायाधिश गोपाल पराजुलीले पेन्सनको अवधि समेत बढाउन खोजेको देखिएको छ । उनको फरक फरक मितिका नागरिकताका कारण पेन्सनको अवधि पनि विवादित बनेको हो । कान्तिपुर दैनिकले पराजुलीको फरक फरक मितिका नागरिकताका आधारमा पेन्सन पट्टा बनाउने विषयमा विस्तृत समाचार प्रकाशित गरेको छ ।

समाचारमा उल्लेख छ :

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं पराजुलीले भने प्रधानन्यायाधीशकै हैसियतले चैत १ लाई कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो ।

छिटो अवकाश हुने प्रमाणपत्र लुकाएर पदावधि लम्ब्याएका पराजुलीले आफ्नो पेन्सनसमेत ७ महिना ९ दिन बढाउन खोजेका हुन् ।

गत फागुन ३० गते न्यायपरिषद्ले पत्र पठाई प्रधानन्यायाधीश पराजुलीको एसएलसी चारित्रिक प्रमाणपत्रमा नयाँ जन्ममिति भेटिएको र त्यसका कारण न्यायपरिषद् ऐनअनुसार २०७४ साउन २१ गते नै अवकाश हुनुपर्ने ठहरसहित पराजुलीलाई पत्र पठाएको थियो । परिषद् सचिवालयले सोही पत्रको बोधार्थ ‘निवृत्तिभरण अधिकारपत्र (पेन्सनपट्टा) उपलब्ध गराउने व्यवस्था हुन’ भनी निजामती किताबखानालाई पठाएको थियो ।

किताबखाना स्रोतका अनुसार न्यायपरिषद्कै पत्रअनुसार पेन्सनपट्टाको तयारी गर्दागर्दै सर्वोच्चबाटै अर्को पत्र आएको थियो । प्रधानन्यायाधीश पदबाट अवकाश पाएको भोलिपल्ट पराजुलीले प्रधानन्यायाधीशको सचिवालयमा पत्र लेखी आफूले अवकाश पाएको मिति २०७४ चैत १ कायम गर्न लगाए । उक्त पत्रमा तोक लगाउँदा उनी प्रधानन्यायाधीश पदमा थिएनन् भने सोही दिन उनले राष्ट्रपति कार्यालयमा राजीनामासमेत बुझाएका थिए ।

पराजुलीको निर्देशनअनुसार स्वकीय सचिव वीरेन्द्र गौतमले सर्वोच्च अदालत प्रशासन र न्यायपरिषद्लाई समेत चिठी लेखेका थिए । पराजुलीको वैयक्तिक विवरण प्रमाणित गरेका सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायले लेखेको पत्रमा समेत पराजुलीले २०७४ चैत १ गते अवकाश पाएको उल्लेख छ ।

उक्त पत्र न्यायपरिषद् र निजामती किताबखानामा दर्ता गरिएको छ । ‘पदबाट अवकाश पाएपछिको व्यक्तिका नाममा प्रधानन्यायाधीशको सचिवालयबाट पत्र जानु नै गलत हो,’ सर्वोच्च प्रशासन स्रोतले भन्यो, ‘गोपाल श्रीमान्बाट अवकाशपछि समेत शक्ति र पदको दुरुपयोग भयो ।’ अघिल्लै दिन पदबाट अवकाश पाएका पराजुलीले भोलिपल्ट चैत १ मा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेरै राजीनामा दिएका थिए । तर उनको सम्पूर्ण सुविधा एवं अधिकार अघिल्लै दिनदेखि समाप्त भएको थियो ।

यी विषयलाई बेवास्ता गरी राष्ट्रपति कार्यालयले समेत न्यायपरिषद्लाई २०७४ चैत १ मा राजीनामा दिएको विवरण राखेर जानकारी गराउने नाममा पत्र पठायो । ‘अवकाश पाइसकेका व्यक्तिको राजीनामा बुझ्नुको कुनै अर्थ हुँदैनथ्यो,’ स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयले समेत अघिल्लै दिन न्यायपरिषद्बाट पराजुलीको अवकाशको जानकारी पाएकै हो ।’

दुई थरी चिठी पाएपछि निजामती किताबखानाको नेतृत्व अवकाश मिति किटान गर्ने विषयमा अन्योलग्रस्त छ । अन्य निजामती कर्मचारीको हकमा आफैंले मिति किटान गरेकोमा किताबखानाले भने यकिन मिति कायम गरिदिन अनुरोध गरी न्यायपरिषदका साथै सर्वोच्च अदालत प्रशासनमा समेत पत्र लेखेको छ । न्याय परिषदका सचिव नृपध्वज निरौलाले गत फागुन ३० को पत्राचारलाई नै आधार मानेर दोस्रो पटक पत्र पठाइएको प्रतिक्रिया दिए । उनले भने, ‘परिपक्व नभएकाले परिषद् सचिवालयको पछिल्लो पत्रबारे मैले बोल्न मिल्दैन ।’

किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले पूर्वप्रधानन्यायाधीश पराजुलीको अवकाशबारेको जानकारी आए पनि त्यसबारे थप कुराकानी गर्न नमिल्ने बताइन् । ‘उहाँको पेन्सनपट्टा बन्ने प्रक्रियामै छ,’ उनले भनिन्, ‘यसबारे हामीले थप बोल्ने चलन छैन । आवश्यक परे सूचना अधिकारीले सहयोग गर्नुहोला ।’ तर निजामती किताबखानाकै अर्को स्रोतले भने पराजुलीको अवकाश मितिबारे दुई थरी विवरण आएपछि दुवै निकायमा फेरि पत्राचार भएको पुष्टि गर्‍यो । ‘हामीले सर्वोच्च अदालत र न्यायपरिषद् सचिवालयमा पत्र पठाएकामा सर्वोच्चबाट जवाफ आएको छैन,’ स्रोतले भन्यो, ‘न्यायपरिषद्ले भने आधार र कारणसहित २०७४ साउन २१ कै अवकाश मिति कायम गरेको छ ।’ किताबखाना स्रोतका अनुसार ३ पृष्ठ लामो पत्रमा चारवटा बुँदा समावेश छन् ।

न्यायपरिषद् ऐनले ‘न्यायाधीश नियुक्त भएको र अवकाश हुने मिति, योग्यता, अनुभव र विशेषज्ञतासम्बन्धी विवरण’ अभिलेख राख्ने अधिकार न्यायपरिषद्लाई दिएको उल्लेख गर्दै पत्रमा परिषद्ले नै अवकाश हुने मितिबारे न्यायाधीशलाई जानकारी गराउने उल्लेख छ । पत्रलाई उल्लेख गर्दै किताबखाना स्रोतले भन्यो, ‘सचिवालयले कुनै न्यायाधीश उमेरका कारणले अवकाश हुने भएमा सम्बन्धित न्यायाधीश र निजामती किताबखाना लगायतका सम्बन्धित निकायलाई यसको जानकारी दिने काम सचिवको तहबाट विगतदेखि गर्दै आएको छ ।’

किताबखाना स्रोतका अनुसार पराजुलीको प्रवेशिका प्रमाणपत्र न्यायपरिषद् सचिवालयमा नभएकाले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट मगाएर हेर्दा २०३० साल साउन २१ गते जारी भएको नागरिकताको प्रमाणपत्रका आधारमा कायम हुने जन्ममिति गणना गरिएको भनी पत्रमा उल्लेख छ । जसअनुसार पराजुली २०७४ साउन २१ मा नै ६५ वर्ष पुगेको देखिन्छ । आफ्नो विवरण लुकाएकाले उनले ७ महिना ९ दिन बढी पदमा बसेर सुविधा लिएका थिए ।

पत्रलाई उल्लेख गर्दै स्रोतले भन्यो, ‘तत्कालीन प्रधानन्यायाधीश पराजुलीको ६५ वर्षे उमेर हद गत साउन २१ मै पूरा भइसकेको अभिलेखबाट स्पष्टत: देखिएकाले कार्यार्थ जानकारी गराइएको हो । किताबखाना स्रोतका अनुसार गत ६ गतेको पत्रमा पराजुलीको कागजातका साथै फरकफरक उमेर देखिने प्रमाणपत्रको प्रतिलिपिसमेत पठाइएको छ ।

डा. केसीले मागे सूचना
डा. गोविन्द केसीसहितको टोलीले सोमबारै निजामती किताबखानाकी महानिर्देशकलाई भेटेर पराजुलीले बदनियतपूर्वक सेवा अवधि ७ महिना ९ दिन बढाएको भन्दै त्यसविरुद्ध भएको कारबाहीको सूचना माग गरेको छ । ‘सुविधा फिर्ता गर्न, गैरकानुनी अभिलेख रद्द गर्न र कानुनी कारबाही गर्न हालसम्म यस कार्यालयबाट भएका कामकारबाहीको सूचना पाऊँ,’ निवेदनमा भनिएको छ । भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘विवरण झुक्याएर बढी अवधिको सुविधा लिएको देखियो । त्योसमेत फिर्ता हुनुपर्छ । झुक्याएर लिएको अतिरिक्त सुविधा फिर्ता नगर्दासम्म पेन्सनपट्टा उपलब्ध गराउन मिल्दैन ।’

नजिरले पनि दिँदैन
विषयवस्तु फरक भए पनि पूर्वप्रधानन्यायाधीश पराजुलीकै जस्तो विवाद सीमा प्रशासन कार्यालय, दार्चुलाबाट अवकाश पाएका शाखा अधिकृत रामबहादुर सिंहको हकमा समेत देखिएको थियो । उनले किताबखानाको अभिलेखअनुसार २०६७ जेठ ४ मा ५८ वर्षे उमेरहदका कारण अवकाश हुनुपर्ने थियो । तर किताबखानाको त्रुटिले उनी २०६८ भदौ १९ सम्म पदमा रहे । पछि, किताबखानाले नै पुरानो मितिमा अवकाश भएको ठहरिने भन्दै त्यसपछि लिएको तलबभत्ता लगायतका सुविधा फिर्ता गर्न पत्राचार गर्‍यो ।

पत्रविरुद्ध परेको मुद्दाको फैसलाका क्रममा सर्वोच्च अदालतले अवधिभन्दा बढीको सुविधा लिए त्योसमेत फिर्ता हुनुपर्ने नजिर स्थापित गर्‍यो । ‘कुनै कर्मचारीले अवकाश हुने अवधिभन्दा बढी सेवामा रही तलबभत्ता भुक्तानी लिएको भएमा निजले पाउने निवृत्तिभरणबाट असुल गरेरमात्रै पेन्सनपट्टा बनाउनुपर्नेछ भन्ने स्पष्ट कानुनी व्यवस्था छ,’ फैसलामा भनिएको छ । तर उक्त मुद्दामा भने शाखा अधिकृत सिंहको बदनियत नदेखिएकाले बढी अवधिको पेन्सन फिर्ता गर्नुपरेन ।’

तत्कालीन न्यायाधीश सुशीला कार्की र प्रकाश वस्तीको संयुक्त इजलासले २०७० वैशाख २९ गते गरेको फैसलाले बदनियतका साथ सेवा अवधि लम्ब्याएको भए सुविधासमेत फिर्ता हुनुपर्ने मान्यता स्थापित गरेको छ ।

‘सम्बन्धित कर्मचारीले नोकरीमा बढी समय कायम रहने दुराशयले कपटपूर्ण काम गरेको देखिए अवकाश हुनुपर्ने मितिपछि लिएको रकम सम्बन्धित कर्मचारीबाट असुल गर्नुपर्ने मान्यता पनि स्वीकार गरेको पाइन्छ,’ फैसलामा भनिएको छ, ‘नारायण यादवविरुद्ध जिल्ला शिक्षा कार्यालयको मुद्दामा जागिर प्रवेश गर्दा पेस गरेको नागरिकताको जन्ममिति घटाई अर्को प्रमाणपत्र पेस गरी अदालतलाई समेत झुक्याएको तथ्यका आधारमा अवकाश मितिपछिको तलबभत्तासमेत असुल गर्न सकिने सिद्धान्त यसै अदालतले कायम गरेको छ ।’

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय