प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको चुनौतीको चाङमा आयोग
काठमाडौं, भदौ १४ ।
प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८९ दिन बाँकी हुँदासम्म पनि निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन पाएको छैन । यी दुई महत्वपूर्ण ऐनसँगै निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आयोगले पाएको छैन ।
क्षेत्र निर्धारणको प्रतिवेदन, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी ऐन नहुँदा निर्वाचनको तयारी गर्न समस्या भएको आयोगको भनाइ छ । ऐनअनुसार निर्माण गर्नुपर्ने नियमावली, निर्देशिकाको मस्यौदा पनि पूरा हुन सकेको छैन । निर्वाचन क्षेत्र तय नहुँदा मतदाता नामावलीलाई अन्तिम रूप दिन पनि समस्या रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
आयोगले अहिले निर्वाचनका लागि आवश्यक बजेटको पनि तयारी गर्न सकेको छैन । आवश्यक कानुनको अभावमा निर्वाचन सामग्रीहरू तय नहुँदा बजेट आकलन गरी सरकारसँग माग गर्न नसकिएको आयोगको भनाइ छ ।
१४ लाख ९६ हजार मतदाता थपिए
प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि १४ लाख ९६ हजार मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनसम्म करिब एक करोड ४१ लाख मतदाता थिए । १० मंसिरको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि भने करिब एक करोड ५६ लाख मतदाता हुनेछन् । आयोगले थपिएका मतदाता नामावलीको रुजु गर्ने काम गरिरहेको शर्माले जानकारी दिए ।
प्रदेश प्रमुख अझै नियुक्त भएनन्
संविधानमा प्रदेश सभाको अधिवेशन आह्वान र प्रदेश सभाका सदस्यको शपथग्रहण प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । यो व्यवस्थाअनुसार प्रदेश प्रमुख र प्रदेशको राजधानी निर्वाचनअघि नै तोक्नुपर्ने हुन्छ । तर, अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गर्नेबारेमा छलफल नै सुरु भएको छैन । ‘प्रदेशको केन्द्र र प्रदेशको राजधानी तोक्ने विषयमा सरकारले छलफल गरेको छैन,’ सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले भने, ‘सरकारले अहिले निर्वाचन मात्र तोकेको छ ।’ कांग्रेस नेता रामचन्द्र पौडेलले यो विषयलाई सरकारले छलफल गरी टुंगोमा पुर्याउने बताए । एमाले उपाध्यक्ष भीम रावलले प्रदेश सभाको निर्वाचनसँग प्रदेशको केन्द्र र प्रमुखको विषय नजोडिने बताए । निर्वाचन भएलगत्तै पनि यी विषयमा सरकारले आवश्यक निर्णय लिन सक्ने उनको भनाइ छ । दलबीचमा यो विषयमा छलफल नभएको उनको भनाइ छ ।
करिब १५ अर्ब आवश्यक
प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि करिब १५ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । आयोगभित्र अनौपचारिक रूपमा भएको छलफलमा उक्त रकम अनुमान गरिएको हो । तर, आयोगले यकिन बजेट बनाइसकेको छैन । आयोगको आर्थिक महाशाखाले आवश्यक बजेटबारे अध्ययन गरिरहेको जनाएको छ ।
चुनौतीको चाङमा आयोग
कानुनको अभाव
निर्वाचनका लागि आवश्यक ऐनमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐन अहिलेसम्म संसद्बाट पारित भएको छैन । अहिले पनि छलफलमा रहेका ती विधेयक पारित भएर आयोगमा पुगेपछि मात्र त्यसअनुसार निर्देशिका र नियमावली बनाउनुपर्ने हुन्छ । तसर्थ आयोगले तत्काल निर्वाचन तयारी सुरु गर्न आवश्यक पर्ने नियमावली, निर्देशिका बनाउन चाहेर पनि बनाउन सक्दैन ।
क्षेत्र निर्धारण प्रतिवेदन
निर्वाचन क्षेत्र निर्धारण आयोगले १५ भदौभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ । अहिलेसम्म आयोगले प्रतिवेदन तयार गर्न सकेको छैन । आयोगका पदाधिकारीबीचमै मापदण्ड र संख्याको विषयमा मतभेद छ । आयोगले एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र पर्ने गरी क्षेत्र निर्धारण गर्नुपर्नेछ ।
मतपत्र छपाइ
आयोगलाई दुई तहको निर्वाचनका लागि छाप्नुपर्ने मतपत्रको संख्या पनि निकै चुनौतीपूर्ण छ । प्रदेश सभा र प्रतिनिधिसभाका लागि करिब तीन करोड ५० लाख मतपत्र छाप्नुपर्ने हुन्छ । त्यसका लागि करिब ४० दिन लाग्ने र ढुवानीका लागि करिब २० दिन लाग्ने आयोगका कर्मचारीको भनाइ छ । अहिले आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र एउटा र समानुपातिकका लागि अर्को मतपत्र बनाउने तयारी गरेको छ । दल, सरकार र आयोगबीच सहमतिपछि उक्त ढाँचाको मतपत्र बन्न लागेको हो । यस्तै मतपत्र छाप्नका लागि मसीको व्यवस्थापन गर्नुपर्नेछ भने आवश्यक कागज व्यवस्थापन पनि अर्को चुनौती छ ।
मतदाता शिक्षा
स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा कमजोर हुँदा मत बदर संख्या बढेको थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रयोग गर्ने मतपत्र दुईवटा हुने व्यवस्थाले मतदाता झुक्किने सम्भावना देखिएको छ । दसैँ, तिहार, छठजस्ता ठूला चाडपर्वका यही बीचमा परेकाले समयको चापको कारण मतदाता शिक्षा चुनौतीका रूपमा देखिएको छ ।
व्यवस्थापकीय चुनौती
निर्वाचनका लागि आवश्यक पर्ने ६७ प्रकारका सामग्री व्यवस्थापन गर्न आयोगलाई गाह्रो छ । आयोगका कर्मचारीका अनुसार निर्वाचन अवधिमा अन्य समयमा भन्दा बढी बिदा परेको र दुईवटा निर्वाचन एकैपटक गर्नुपर्ने भएकोले चुनौती थपिएको छ । विगतझँै निर्वाचन सामग्रीको आवश्यक सहयोगका लागि छिमेकी मुलुक भारत र चीनसँग आग्रह गरिनेछ । मतदानका लागि चाहिने अधिकांश सामग्री नेपालमा प्राप्त नहुने र ती सामान विदेशबाट ल्याउनुपर्ने हुँदा व्यवस्थापनमा चुनौती छ ।
जनशक्ति व्यवस्थापन
निर्वाचनमा खटिने जनशक्ति व्यवस्थापन पनि निकै चुनौतीको रूपमा देखिएको छ । दक्ष जनशक्तिको साथै दुईवटा तहको निर्वाचन भएकाले विगतको निर्वाचनमा भन्दा बढी जनशक्ति आवश्यक पर्छ । निर्वाचन सुरक्षाका लागि तीनै सुरक्षा निकाय परिचालन गर्ने रणनीति निर्माण गर्नु, थप सहयोगका लागि म्यादी प्रहरी भर्ना गर्नु आयोगका लागि अर्को चुनौती हो । एकैपटक दुवै तहको निर्वाचन हुने भएकाले त्यसका लागि आवश्यक कर्मचारी परिचालन पनि चुनौतीपूर्ण हुनेछ ।
सुरक्षा चुनौती
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पनि अर्को चुनौतीका रूपमा रहेको छ । निर्वाचन अवधिको अघि र पछि आवश्यक पर्ने सुरक्षा व्यवस्थापनका लागि म्यादी प्रहरीको भर्नासमेत गर्नुपर्ने हुन्छ । स्थानीय निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन भएका थिए । देशभर एकै चरणमा निर्वाचन हुने हुँदा सुरक्षा पनि चुनौतीका रूपमा रहेको आयोगको भनाइ छ ।
मौसम प्रतिकूल
हिउँ पर्ने समयमा निर्वाचन हुन लागेका कारण हिमाली जिल्लामा निर्वाचन समयको मौसम चुनौतीका रूपमा देखा परेको छ । निर्वाचन आयोगले यही चुनौतीलाई मध्यनजर गरी ४ मंसिरमा पहिलो चरणमा ३५ जिल्लामा निर्वाचन गर्न सुझाब दिएको थियो । मंसिरको सुरुदेखि नै हिमाली क्षेत्रमा हिउँ पर्ने भएकाले त्यस्तो कठिन परिस्थितिमा निर्वाचन व्यवस्थापन आयोगका लागि चुनौतीपूर्ण बन्नेछ । – नयाँ पत्रिकाबाट
बालेनको कटाक्ष -'टुँडिखेल र खुल्लामन्च पनि एमाले-कांग्रेसका कार्यकर्तालाई दिने अध्यादेश पास भएछ'
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी भएकोमा सत्तारू दल एमाले र कांग्रेसप्रति तिव्र असन्तुष्टि जनाएका छन्। राष्ट्रपतिले भूमि सम्बन्धी अध्यादेश जारी गरेको केही समयपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै बालेनले असन्तुष्टि जनाएका हुन्। शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।’ यसअघि राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गर्न अस्वीकार गरेका थिए । तर राष्ट्रपति पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश प्रधानमन्त्रीको अनुरोधमा जारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सच्याउने प्रतिबद्धता जनाएपछि राष्ट्रपति पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका हुन्।
देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् । मन्त्रीहरुसँग सामूहिक छलफल गर्न उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।
समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे । समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने । आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।
सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी
काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी दिए । ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ । ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।