बिना तालिम विदेशिंदा काम र तलब पाउनै समस्या

बिना तालिम विदेशिंदा काम र तलब पाउनै समस्या

काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुले आवश्यक तालीम नलिइकन गएकै कारण उनीहरुले राम्रो काम र तलब पाउने गरेका छैनन् ।

रोजगारीका लागि गएका अन्य देशका कामदारले आवश्यक सीप सिकेर आउने गरेको तर नेपालबाट जाने कामदारहरुसँग सीप नहुने भएकै कारण अन्य देशका नागरिकको तुलनामा नेपाली कामदारले जोखिमयुक्त र अरूले छोडेका काम गर्नु परिरहेको छ ।

फिलिपिन्सलगायतका देशबाट जाने कामदार विदेश जानुअघि कुनै न कुनै तालीम अनिवार्य गरिए पनि नेपालको सन्दर्भमा त्यो लागू हुनसकेको छैन ।

नेपालमा शिक्षा मन्त्रालयअन्तर्गतका प्राविधिक शिक्षा तथा तालीम परिषद् (सीटीईभीटी), श्रम मन्त्रालयअन्तर्गत व्यावसायिक तालीम केन्द्रबाट विभिन्न सीपमूलक तालीम दिने गरिए पनि ती तालीम वैदेशिक रोजगारीलाई लक्षित गरिएका छैनन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र सुरक्षित आप्रवास परियोजना (सामी)ले वैदेशिक रोजगारलाई नै लक्षित गर्दै विभिन्न तालीम दिने गरेका छन् । तर नेपालबाट विदेश जाने संख्याको तुलनामा त्यो तालीम पाउनेको संख्या निकै न्यून रहेको छ ।

बोर्ड स्थापनापछि हालसम्म २० हजारलाई निःशुल्क तालीम दिएको कार्यकारी निर्देशक रघुराज काफ्लेले जानकारी दिनुभयो ।

यो वर्ष पनि थप १० हजारलाई सीपमूलक तालीम दिने गरी प्रस्ताव आह्वान गरिसकेको उहाँले बताउनुभयो ।

यस्तै सामीका ‘टिम लिडर’ सीता घिमिरेले वैदेशिक रोजगारलाई लक्षित गर्दै आफूहरुले पछिल्लो पाँच वर्षमा आठ हजार जनालाई तालीम दिइसकेको जानकारी दिनुभयो ।

सामीले विभिन्न इन्स्टिच्यूटहरुमार्फत कुक, वेटर÷वेट्रेस, हाउसकिपिङ, सरसफाई, कफी मेकर (बरिस्ता), फ्रन्ट अफिसलगायतका क्षेत्र, निर्माण क्षेत्रअन्तर्गत मेशन, स्काफोल्डिङ, आल्मुनियम फब्रिकेटर, वेल्डिङ, फर्निचर एण्ड फर्निसिङ, प्लम्बिङ, इलेक्ट्रिसियन, सटरिङ कार्पेन्टर, स्टिल फिक्सर, हाउसपेन्टिङ, कार्पेन्टर, हाउस वायरिङलगायतको तालीम दिने गरेका छन् । यस्तो तालीम वैदेशिक रोजगारीमा जानेहरुलाई निःशुल्क दिइएको उहाँको भनाई छ ।

यो वर्ष पनि एक हजारलाई तालीम दिने लक्ष्य राखिएको र सोहीअनुसार विभिन्न इन्स्टिच्यूटहरुमार्फत तालीम दिने कार्य भइरहेको उहाँले बताउनुभयो । यस्तै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँगको समन्वयमा एक हजार ५०० जनालाई तालीममा व्यवस्थापकीय खर्च ब्यहोर्ने सहमति सामीले गरेको छ ।

हाल सामी परियोजनाले पुरुषका लागि एक महिनाको मेशन, शटरिङ कार्पेन्टर र स्काफोल्डीङ तालीम तथा महिलाका लागि गार्मेन्टको आवासीय तालीम दिइरहेको छ । सो तालीमपश्चात खाडी राष्ट्रमा मान्यताप्राप्त संस्थाले सीप परीक्षण गरी प्रमाणपत्र दिने भएकाले सो तालीम अन्तर्राष्ट्रियस्तरको हुने गरेको घिमिरेले बताउनुभयो । आफूहरुले तालीम दिएर पठाएकाले अन्यको तुलनामा बढी तलब र सेवा, सुविधा पाएको अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

काठमाडौँ मनमैजुमा रहेको बहुउद्देश्यीय क्यापिटल ट्रेनिङ सेन्टरमा सामीको एकमहिने स्काफोल्डिङको तालीम लिइरहेका म्याग्दी, धौलागिरी गाउँपालिकाका खप्रसाद विकले आफू कुवेत जान चाहेको र तालीमपछि राम्रो तलब र काम पाउने आशा व्यक्त गर्नुभयो ।

सोही तालीम केन्द्रमा मेशनको तालीम लिइरहेका रोल्पा नगरपालिका–५का शेरबहादुर केसीले तालीमपछि आफूलाई विदेशमा गएपछि सहजै काम गर्नसक्छु भन्ने आत्मविश्वास बढेको बताउनुभयो । विदेश जान नपाए देशभित्रै पनि यो काम गर्न सकिने ठानी आफूले मेशनको तालीम लिइरहेको उहाँको भनाई छ ।

एक हप्ताको तालीम अनिवार्य

सरकारले कम्तीमा एक हप्ताको सीपमूलक तालीम लिएका व्यक्ति मात्रै वैदेशिक रोजगारीमा जानका लागि योग्य बन्ने तयारी थालेको छ ।

बिना तालीम वैदेशिक रोजगारीमा जाँदा कमाई पनि राम्रो नहुने, कामको सिलसिलामा जोखिम बढी हुने कुरालाई मध्यनजर गर्दै श्रम तथा रोजगार मन्त्रालयले तालीम अनिवार्य गर्ने तयारी गरेको हो ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले अबको एक वर्षभित्र अनिवार्य रुपमा तालीम लिएकालाई मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने गरी तयारी थालिएको जानकारी दिनुभयो ।

उहाँले एक महिना वा सोभन्दा कम समयको छोटो तालीम, एक महिनाभन्दा बढी र तीन महिनाभन्दा कम समयको मध्यम तालीम र तीन महिनाभन्दा बढी समयको लामो अवधीमा गरी तीन तहको तालीमको प्रस्ताव कार्यविधिमा गरिएको बताउनुभयो ।

सकेसम्म एक महिना नभए कम्तीमा एक हप्ता तालीम लिएकाले मात्रै विदेश जान पाउनेगरी बोर्डले नीतिगत व्यवस्था गर्न लागेको हो ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तयार पारी हालै श्रम तथा रोजगार मन्त्रालयले पारित गरेको ‘वैदेशिक रोजगारमूलक सीप विकास तालीम सञ्चालन कार्यविधि’ अनुरुप अब तालीमका कार्यक्रम अघि बढाइनेछ ।

सोही प्रावधानअनुसार तालीम नलिएकाको हकमा अबको एक वर्षपछि श्रम स्वीकृति नदिने नीति ल्याउन लागिएको हो । रासस

जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै

काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ ।  यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ ।   कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ ।  ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ ।  काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ ।  खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो।  विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।  अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

लोकप्रिय