‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरेन्द्र कर्ण, विरगञ्ज । प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा यो योजना लागू भएपछि बालिका तथा किशोरीका अभिभावकले उत्साहपूर्वक सो योजनाअन्तर्गत छोरी जन्मिएपछि जन्म दर्ता गर्ने, विद्यालय पठाउनुको साथै दाइजो प्रथाजस्ता विकृति अन्त्य हुनमा बल पुग्ने र सो कार्यक्रम कोशेढुंगा सावित हुने जनप्रतिनिधिको भनाइ रहेको छ ।

गर्भमै छोरीलाई मार्ने सामाजिक विकृति अन्त्य हुने, सानैमा विवाह हुने, दाइजो प्रथाजस्ता कुरीतिलाई अन्त्य गर्नमा यो कार्यक्रमले सहयोग गर्ने भएकाले अन्य स्थानीय निकायले पनि यो कार्यक्रम लागू गर्दै गइरहेका छन् । पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’अन्तर्गत नगरपालिका क्षेत्रभित्र छोरी जन्मिएमा ३५ दिनभित्र जन्मदर्ता गराएमा बालिकाका लागि २० वर्ष उमेरसम्ममा रु १० हजारको एकमुष्ठ बीमाको व्यवस्था गरेको छ भने २० वर्षपछि मात्र छोरीको विवाह गरेमात्र सो जम्मा भएको बीमा रकम दिने बाध्यात्मक व्यवस्था गरेपछि जन्मदर्ता गराउनेको संख्या बढ्दै गएको छ ।

हामीले यो योजना लागू गरेपछि जन्मदर्ता गराउनेको संख्या बढ्नुको साथै छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास हुनुको साथै दाइजो प्रथा उन्मूलन हुने विश्वास पोखरीया नगरपालिकाका उपप्रमुख सलमा खातुनले लिनुभएको छ । उहाँले यो योजना जिल्लाका अन्य स्थानीय निकायले पनि लागू गर्नुपर्नेमा जोड दिँदै राससलाई भन्नुभयो– यो योजनाका कारण बालिका, किशोरी र महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य हुने विश्वास छ ।

यसैगरी, ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजनाअन्तर्गत बारा जिल्लाको प्रसौनी गाँउपालिकाले पनि छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी प्रमाणपत्र लिने अभिभावकलाई रु १० हजारको दरले २० वर्षसम्म जन्मेको छोरीको नाममा बैंकमा रकम जम्मा गर्ने निर्णय गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताउनुभयो । बालविकासको न्यूनीकरण, छोरीलाई उचित शिक्षा दिनमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास जनप्रतिनिधिले लिएका छन् । नेपाल अधिराज्यको सविधानले पनि बालिका, किशोरी तथा महिला माथि हुने सबै थाले विभेदको अन्त्य गरी उनले पढ्न र बाँच्न पाउने अधिकारलाई सुरक्षित गरेकाले यो योजनाप्रति आकर्षण बढ्दै गएको छ ।

‘बेटी पढाऔँ बेटी बचाऔँ’ भन्ने योजना व्यवहारमा नदेखिने र बजेट सिध्याउने प्रदेश सरकारको योजना हो भन्ने टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ, प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भने यो नाराले तराईमा छोरीप्रति देखिने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्ने देखिन्छ भन्नुभयो । प्रदेश नं २ मा जरा गाडेर बसेको दाइजो प्रथा, बालविवाह तथा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा विश्वस्त भएपछि पर्सा र बाराका अन्य स्थानीय निकायले पनि आउँदा दिनमा यस्ता कार्यक्रम लागू गर्दै जाने बताइएको छ । -रासस

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय