भत्किएको पुलमुनि सांसद गौतमको अनशन

भत्किएको पुलमुनि सांसद गौतमको अनशन

काठमाडौं । बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आमरण अनशन थालेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइमन्त्री गौतम बर्दियाको विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका हुन्।

जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि उनी नदी तटमा अनशन बसेका हुन्। जब्दीघाटको भत्किएको पुल हटाएर तुरुन्त नयाँ पुल निर्माण गर्नुपर्ने गौतमको पहिलो माग छ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो।

भारतमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा

काठमाडौं । हाल देशभर स्थानीय र पश्चिमी वायुसँगै भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको छ। आइतबार बिहान कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। देशका बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि कोसी र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको पनि सम्भावना छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।   कस्तो होला सोमबार र मंगलबारको मौसम? २०८१ कात्तिक १२ गते सोमबार दिउँसोː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। रातिː कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाकोसमेत सम्भावना रहेको छ। २०८१ कात्तिक १३ गते मंगलबार दिउँसोː कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। रातिː कोसी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।  आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  देशका पहाडी भूभागका  एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित  हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिकरआंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

तुलसीपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

तुलसीपुर ।  तुलसीपुरमा शनिबार बिहान जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते छन् । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका  छन् ।  रोल्पाबाट सल्यान हुँदै तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका–३ साततले नजिकै सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए । दुर्घटनामा परी कपुरकोट–६ की ३१ वर्षीया देवा वली, उनका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन्। उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ ।

मुस्ताङमा लेक लागेर तीन जनाको मृत्यु

मुस्ताङ । मुस्ताङमा लेक लागेर तीन दिनको बीचमा दुई विदेशी नागरिकसहित तीन जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका  एक जना अमेरिकन, एक भारतीय र एक जना नेपाली पर्यटक गरी तीन जनाको लेक लागेर मृत्यु भएको हो।  जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी सूर्यबहादुर बोगटीले मुक्तिनाथ दर्शन गर्न आएका दुई विदेशी  र एक नेपालीको लेक लागेर मृत्यु भएको जानकारी दिए। गोरखा नगरपालिका—६ स्थायी वतन भई काठमाडौं नागार्जुन नगरपालिका—१ बस्ने ७० वर्षीय कुलनारायण जोशीको लेक लागेर मृत्यु भएको हो।  मुस्ताङ भ्रमणका लागि साथीहरूसँगै आएका जोशी घरपझोङ—४ जोमसोमस्थित होटल मेसोकोन्दोमा बास बसेका थिए। राति टाउको दुखेपछि जोशी होटलको डाइनिङ हलमा ढलेका थिए। त्यसपछि उनलाई होटलका स्टाफ र प्रहरीको सहयोगमा मुस्ताङ अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। बिहीबार मुक्तिनाथ दर्शन गरी फर्किएका २२ जनाको समूह थासाङ गाउँपालिका—२ होलिडे क्याम्पमा बास बसेको थियो। जसमध्ये अमेरिकन नागरिक ६३ वर्षीय मिलो गोल्डसेजर (पासपोर्ट नं. ए ४७०६४९५९ नाम गरेका पर्यटकको लेक लागेर मुस्ताङ अस्पताल पुर्‍याउँदा मृत्यु भएको डीएसपी बोगटीले जानकारी दिए। 

खबरदारी सभाको पूर्वसन्ध्यामा अखिल (क्रान्तिकारी)ले गर्‍यो ‘टर्च मार्च’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल ‘क्रान्तिकारी’ले आज ‘टर्च मार्च’ गरेको छ । काठमाडौँ क्याम्पस जिल्ला समितिको आयोजनामा शुक्रबार साँझ गरिएको टर्च मार्चमा उपत्यकामा रहेका क्रान्तिकारीका नेताकार्यकर्ताको सहभागिता रहेको क्याम्पस जिल्ला समितिका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने  गर्दै छ । पार्टीको उक्त कार्यक्रमको पूर्वसन्ध्यामा भातृ संगठन क्रान्तिकारीले साँझ ६ बजे बागबजार स्थित केन्द्रीय कार्यालय अगाडि उक्त प्रदर्शन गरेको हो ।  

लोकप्रिय