मतदानको सार्वभौम अधिकार प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

मतदानको सार्वभौम अधिकार प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

चितवन, कात्तिक १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताएका छन ।

नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनी, २०७४ को आज यहाँ उद्घाटन गर्दै उनले भने, “नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक छ ।”

उपराष्ट्रपति पुनले राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्छ, यसका लागि सरकार, राजनीतिक दल र सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु भने ।

“विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुन्छ, यसले संविधान कार्यान्वयनले सुखद रुप लिन्छ,” उनले भने, “निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्न म आम मतदातालाई आग्रह गर्दछु ।”

उपराष्ट्रपति पुनले चितवन पोल्ट्री क्षेत्रमा राम्रो प्रगति गरेको उल्लेख गर्दै झण्डै छ दशक लामो इतिहास बोकेको पोल्ट्री क्षेत्र आज देशको आत्मनिर्भर क्षेत्रका रुपमा विकास भएको बताए ।

यो क्षेत्रलाई आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रमुख भूमिका रहेको बताउँदै उहाँले यसलाई उदाहरणका रुपमा लिएर अन्य क्षेत्रलाई पनि आत्मनिर्भर बनाउने योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमाले पोल्ट्री क्षेत्रको व्यवसायीकरण र बजारीकरणका लागि सरकारले सक्दो सहयोग गरिरहेको बताउँदै विसं २०६८ मा पक्षी नीति निर्माण गरी नीतिगतरुपमा पोल्ट्री क्षेत्रको विकासका लागि टेवा पु¥याउने काम भइरहेको छ भने ।

आत्मनिर्भर हुँदै गएको यो व्यवसायको विकासमा निजी क्षेत्रको योगदानको उच्च कदर गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले यो व्यवसायको विकास र विस्तारका लागि सरकारी सहयोगको खाँचो रहेको बताउँदै विश्वका विभिन्न देश पुगेर अवलोकन गर्नुपर्ने प्रदर्शनी स्वदेशमै हुनु आफैँमा महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, उपाध्यक्ष टीकाराम पोखरेललगायतले पोल्ट्री व्यवसायको विविध पक्षमाथि प्रकाश पारे ।

आजबाट शुरु भएको प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, ताइवान, इटली, इजराइल, बंगलादेशलगायत देशका १७० वटा कक्ष रहेको नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए ।

प्रदर्शनीका क्रममा स्वदेश र विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला गरिँदैछ । प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीका लागि करिब ५०० विदेशी यहाँ आएका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय