मध्यमाञ्चलले जित्यो जुडाेमा पाँच स्वर्ण

मध्यमाञ्चलले जित्यो जुडाेमा पाँच स्वर्ण

झापा, पुस १० । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ ।

शनिबार सम्पन्न भएको नौवटा प्रतिस्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।

मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६६ किलोमुनिमा इन्द्रबहादुर श्रेष्ठ, ८१ किलोमुनि मोहन सुनुवार र १०० किलोमुनि रविन श्रेष्ठले तथा महिला प्रतिस्पर्धामा ६० किलोमुनि सुनिता मगरले स्वर्ण पदक जितेका छन् ।

यसैगरी नेपाली सेनाका लागि पुरुषतर्फको ४५ किलोमुनि सुबोध मण्डल तथा महिलातर्फ ५७ किलोमुनिमा मनिता श्रेष्ठ प्रधानले स्वर्ण पदक हात पारेका छन् । यस्तै महिला स्पर्धामा नेपाल प्रहरीका ४८ किलोमुनिको तौलमा सरिता चौधरीले स्वर्ण पदक जितेका छन् भने ७८ किलोमाथिको तौलमा सुदूरपश्चिमाञ्चलकी सुनिता बोहराले स्वर्ण पदक हासिल गरे ।

जुडोको पुरुषतर्फको ४५ किलोमुनिको तौलमा पूर्वाञ्चलका अमितकुमार रामले रजत तथा मध्यमाञ्चलका निशान लिम्बू र सुदूरपश्चिमाञ्चलका कुमार शाहले कास्य पदक जिते ।

पुरुष ५५ किलोमुनि नेपाली सेनाका कर्मा तामाङले रजत तथा सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेन्द्र तामाङ र नेपाल प्रहरीका रोहन थापामगरले कास्य पदक पाएको छ ।

यसैगरी पुरुष ६६ किलोमुनिमा नेपाल प्रहरीका टीकाराम चौधरीलाई रजत तथा पश्चिमाञ्चलका सुमन्त क्षत्री र एपिएफका विजय तामाङले कास्य पदक प्राप्त गरे । पुरुष ८१ किलोमुनि तौलमा नेपाल प्रहरीका सन्तोष सुनारले रजत तथा सेनाका दिलबहादुर मगर र पश्चिमाञ्चलका मङ्गलु मेचेले कास्य पदक हात पारेको थियो ।

पुरुष १०० किलोमुनि तौलमा नेपाली सेनाका शिवराम बरामले रजत तथा नेपाल प्रहरीका रियाज श्रेष्ठ र सुदूरपश्चिमाञ्चलका राजन ओझाले कास्य पदक जिते । यसैगरी महिला ४८ किलोमुनिको तौलमा मध्यपश्चिमाञ्चलका शारदा खत्रीले रजत तथा नेपाली सेनाका सुष्मिता लावत र पश्चिमाञ्चलका माया लुहारले कास्य पदक जित्न सफल भएको छ ।

महिला ५७ किलोमुनितर्फ मध्यमाञ्चलका शर्मिला तामाङले रजत पाउँदा मध्यपश्चिमकै निर्मला कुँवर र नेपाल प्रहरीका विष्णु थापाले कास्य पदकमा चित्त बुझाएको छ ।

यस्तै महिला ६० किलोमुनिको तौलमा मध्यपश्चिमका सम्झना चौधरीले रजत पदक पाउँदा नेपाली सेनाका गङ्गा चौधरी र नेपाल प्रहरीका रेणुका थापाले कास्य जितेका ।

महिलाको ७८ किलोमाथिको तौलमा नेपाली सेनाका आकृति जोशीले रजत तथा पश्चिमाञ्चलका सीमा ठकुरीले कास्य पदक जितेका छन्।

किक बसिङ्गका बादशाह अविरल घिमिरेलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, चैत ४ । प्रोफेसन्ल किक बसिङ्गका खेलाडी अविरल घिमिरे हिम चितुवालाई त्रिभुवन विमान स्थलमा भव्य स्वागत गरिएको छ । जापानमा सम्पन्न ‘किक बक्सिङ’ उनले ११ वटा भिडन्तमा १० वटा फाईटमा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई ‘नेपाल सि–क्योक’सिन कराँते एशोसियसन र चन्द्रागिरि नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो । आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गतसाता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए । ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो । दुई दर्जनभन्दा बढी व्यावसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । विमानस्थलमा सञ्चार्कमिहरूसँग प्रतिक्रिया दिँदै उनले आगामी दिनमा खेललाई सशक्त बनाउदै लैजाने र खेलकूदबाट देशको नाम रोशन बनाउने वताए । उनलाई स्वागत गर्न नेपाल सि–क्योकी ’सिनका महासचिव ब्रान्च चिफ सुर्य बुडाथोकी पुर्व खेलाडीहरू, शुभ चिन्तकहरूको भीड लागेको थियो । करीब दुई दर्जन व्यावसायिक किक बक्सिङ्ग खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ वर्षीय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले १०औं पटक नेपालको झण्डा फहराउन सफल भएका थिए । सो अगाडि बोलभिया, ब्राजिल जापान लगायतका खेलाडीहरूलाई पाखा लगाउदै सफलताको शिखर चुमिसकेका छन् । केही तस्वीरहरुको झलक- तस्वीर : रोशन दानी  

एसियन युथ एथ्लेटिक्समा नेपालले जित्यो स्वर्ण पदक

काठमाडौं, चैत ३ । हङकङमा जारी एसीयाली यूथ एथ्लेटिक्स च्याम्पियनसिपमा अजितकुमार यादवले नेपालका लागि ऐतिहासिक स्वर्ण जितेका छन्। एसियाली स्तरको एथ्लेटिक्समा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। हङकङमा आइतबार भएको ३ हजार मिटरको प्रतिस्पर्धामा अजितले निर्धारित दूरी ८ मिनेट ३० दशमलव ३२ सेकेन्डमा पार गरेर स्वर्ण जितेका हुन्। उनले भारतका अमित जानगिन र यमनका गुमिल अल हमातीलाई पछि पार्दै ऐतिहासिक सफलता हात पारे। अमितलाई अजितले ६ सेकेन्डले पछि पारेका थिए। अमितले निर्धारित दूरी ८ मिनेट ३६ दशमलव ३४ सेकेन्डमा पार गरे भने तेस्रो बनेका यमनका हमातीले ८ मिनेट ३८ दशमलव ६० सेकेन्डमा निर्धारित दूरी पुरा गरे। एसियाली युथ एथलेटिक्समा ४० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। जसमा अहिलेसम्म सबैभन्दा बढी चीनले १२ स्वर्ण जितेको छ। भारतले ८, जपानले ६, चाइनिज ताइपेइले ३, काजकिस्तान र इरानले २–२ स्वर्ण जितेका छन्। नेपालसहित ७ देशले १–१ स्वर्ण हात पारेका छन।

तङ्ग–इल मो–दो संघको नेतृत्वमा पौडेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघको दोस्रो राष्ट्रिय महाधिवेशनले सन्तोष पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको उपाध्यक्षद्वयमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा विष्णु गिरी ‘निश्चल’, सचिवमा रवि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा लीलानाथ घिमिरे, दिपक बास्तोला, सुनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोककुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्रमुर्ति पन्त, केशव श्रेष्ठ, ढुण्डीराम खनाल र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्वाचित पदाधिकारीलगायत सदस्यहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद विभाग प्रमुख कुलबहादुर थापाले शपथ खुवाएका थिए । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले गरेका थिए । सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको छ । यसलाई खेलले मात्रै स्वच्छ बनाउन सक्छ ।’ खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा आफूले खेलसम्बन्धी नीति निर्माणमा पहल गर्ने बताए। कार्यक्रममा पूर्वसांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेल विश्व प्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने बताईन् । तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै तङ्ग–इल मो–दो यसमा सफल हुँदै गएको बताए । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको उल्लेख गरे । महाधिवेशन उद्घाटनको अवसरमा तङ्ग–इल मो–दोका खेलाडीहरुले खेल कौशल पनि प्रस्तुत गरेका थिए । महाधिवेशन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधिहरुको सहभागिता रहेका थिए ।

म महिला हुँ त के भो, पुरुषसरह बक्सिङ खेल्छु : रावल

काठमाडाैं । सुदूरपश्चिम बाजुराकी पुनम रावल बक्सिङकी राष्ट्रिय खेलाडी हुन्। व्यवहार नरम र स्वभाव लजालु। खेलकुदको यो चुनौतीपूर्ण विधामा भने नितान्त भिन्न रूप। सात वर्षदेखि निरन्तर बक्सिङ खेलिराखेकी रावलले आफूलाई राम्रो अन्तर्राष्ट्रिय खेलाडीका रूपमा स्थापित गरेकी छन्। अहिले उनी आसन्न एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन छानिएकी छन् र त्यसैका लागि तयारी गर्दैछिन्। विकट बाजुराकी यी चेलीलाई खेलकुदमा आफ्नो भविष्य बनाउन त्यति सहज थिएन। त्यसमाथि बक्सिङ खेल्न थालेको थाहा पाएर घरगाउँलेले उपहास पनि गरेका थिए।  उनी भन्छिन्, ‘पहिला कतिले पागल भन्थे। अहिले गाउँमा मात्र हैन, पूरा देशमै सम्मान पाइएकी छु।’ पुनम भन्छिन् पुरुष सहकर्मी र अभिभावकको राम्रो साथ छ। गाउँमा बक्सिङ प्रशिक्षक योगेन्द्र थापाले उनलाई बक्सिङको आधारभूत प्रशिक्षण दिएका थिए। राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको लुम्बिनी च्याम्पियनशिपमा नेपाली सेनाकी खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई सेनामै भर्ना हुने निम्तो आयो। त्यो आकर्षक निम्तो थियो। त्यसैले आफ्नो बक्सिङ करिअरलाई नै नयाँ मोड दिएको रावल बताउँछिन्। यसले केही गर्न सक्छे भनेर आँट र हिम्मत सेनाका अभिभावकहरूले सधैँ दिनुहुन्थ्यो। त्यसले मेरो आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्यो,’ उनी भन्छिन्। शारीरिक शक्ति अत्यन्त आवश्यक पर्ने अनि कुट्ने र कुटाइ खानुपर्ने बक्सिङ खेलको प्रकृति कतिले महिला सुहाउँदो मान्दैनन्। तर रावल त्यो मान्यतासँग विमति राख्छिन्। भन्छिन्, ‘हामी महिला कुनै कुरामा पुरुष भन्दा कम छैनौँ। उनीहरू जति दौडिन्छन्, हामी पनि त्यति नै हो। प्रशिक्षण बराबरी नै हो। शक्तिमा पनि हामी कम छैनौँ।’ रावलका अनुसार बक्सिङ खेल्दा पुरुष र महिला खेलाडीबीच प्रशिक्षणका बेला वा अरू व्यवहार र सुविधामा कुनै भेदभाव हुँदैन। सबैबाट सहयोग पाएको बताउँछिन्। भन्छिन्, ू‍हामीलाई प्रशिक्षणमा सघाएकै छन्। कमजोरीहरू खुट्याइदिन्छन्।ूकुट्ने र कुटाइ खाने अनुभव बारे उनको भनाइ पनि रोचक छ। भन्छिन्, ‘बक्सिङ खेलाडी भएर पनि अलिअलि कुटाइ सहन सकिएन भने के बक्सिङ खेलाडी ? अनि कुट्ने बेला माया गर्न थाल्यो भने कसरी जित्ने ?’ राष्ट्रिय च्याम्पियन रावलसँग केही अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। गएको वर्ष भारतमा भएको प्रतियोगितामा उनले कास्य पदक जितेकी थिइन्। उनको अबको लक्ष्य इन्डोनेशियामा हुने एशियाली खेलकुदमा पदक जित्ने। उनी भन्छिन्, ‘विपक्षीको पनि दुई हात हो र हाम्रो पनि। मेहनत र भाग्यले साथ दिए इन्डोनेशियाबाट पदक लिएर आइन्छ।’ बीबीसी

लोकप्रिय