मानसिक रोग परामर्शबाट निको हुन्छ

मानसिक रोग परामर्शबाट निको हुन्छ

काठमाडौँ । मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो ।

“मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन”, उहाँले भन्नुभयो, “तीनलाई औषधिभन्दा बढी परामर्श आवश्यकता पर्छ । परामर्शबाट नै रोग निको हुने गर्दछ ।”

केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ ।

अध्यक्ष डा उपाध्यायले भन्नुभयो, “पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता हुन्छ ।”

टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेकोजस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उहाँले एक प्रतिशतमात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोजप्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमान्ले परामर्श गरेर निको पार्न सक्छन् भन्नुभयो ।

उहाँका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उहाँले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

पुरुषमा कडा र महिलामा कम कडाखालको मानसिक रोग देखिने गरेको तर धामीझाँक्री वा झारफुकबाट यस्तो रोग निको नहुने त्यस बखत बताइएको थियो ।

केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिैदै उहाँले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराउनुभयो । अहिलेसम्म उक्तकेन्द्रबाट दुई हजार ७६० जनाले मनोपरामर्श पाएका छन् ।

बालमनोविद् मधुविलास खनालले विद्यालय तहदेखि नै के गर्दा गल्ती र के गर्दा सही हुन्छ भनेर सिकाउनुपर्ने बताउनुभयो ।

उक्त केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । रासस

यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार  पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ ।  यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन  (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।

डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ ।  अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।   परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति  ऋषि भुसालले जानकारी दिए ।  उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे ।  डेंगुको मुख्य लक्षण  डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका  डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ । 

सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना

बिरामीको शरीरबाट निकालियो कीटनाशक औषधिको बोतल

गोरखा । गोरखाका एक पुरुष आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगे। अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सिकको टोलीले रोगको पहिचानका लागि परीक्षण गर्न सुरु गरे। उपचारका लागि आएका पुरुषको जाँचका क्रममा भिडियो एक्स–रे गरेर हेर्दा स्वास्थ्यकर्मी त्यतिबेला अचम्ममा परे जतिबेला उपचारका लागि आएका गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय ती पुरुषको मलद्वारमा धातुको बोतल अड्किएको देखियो। मलद्वारमा बोतल देखिएपछि चिकित्सकले सोधपुछ गर्दा एक महिनादेखि नै मलद्वारमा बोतल अड्किएको रहस्य खुल्यो। समस्याको पहिचान भएपछि बिरामीलाई तुरुन्तै अस्पतालको शल्यक्रिया कक्षमा राखेर दुरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण नफैलिएको पत्ता लागेपछि शल्यक्रिया गरेर ती पुरुषको मलद्वारमा अड्किएको धातुको बोतल निकालिएको गोरखा अस्पतालका सूचना अधिकारी लिपासा श्रेष्ठले जानकारी दिए। ‘ती पुरुषको मलद्वारमा विगत एक महिनादेखि कीटनाशक औषधिको बोतल अड्किएको रहेछ’, उनले भने, ‘जब उपचारका लागि आइतबार बिहान १० बजे अस्पतालको आकस्मिक कक्षमा आएँ, त्यहाँ एक्स–रे गरेर हेर्दा मलद्वारमा बोतल देखिएपछि तत्काल शल्यक्रिया गरेर निकालिएको हो।’ मलद्वारमा बोतल अड्किएर उनको ठूलो आन्द्रासमेत अवरुद्ध भई सङ्क्रमण शरीरमा फैलिसकेको अवस्थामा चिकित्सकले शल्यक्रिया गरी बोतल निकालेका हुन्। अस्पतालका सर्जनद्वय डा जीतेन्द्रकुमार सिंह र डा विश्वराज खड्का तथा एनेस्थेसियोलोजिष्ट डा शम्भु अधिकारीलगायतका चिकित्सकको टिमले पुरुषको मलद्वारको सफल शल्यक्रिया गरेको उनले बताए। चिकित्सकले तीन घण्टा लगाएर गरिएको शल्यक्रियाबाट पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लम्बाइ र ७.८ सेन्टिमिटर गोलाइको डब्बा निकालिएको हो। ती पुरुषको मलद्वारमा बोतल कसरी अड्कियो भन्नेबारेमा भने खुल्न बाँकी रहेको अस्पतालले जनाएको छ। शल्यक्रियापश्चात् बिरामीको अहिले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

लोकप्रिय