मीनभवनको तरकारी बजार भत्काएकोमा बिरोध
काठमाडौँ, २५ मङ्सिर । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले २०५८ सालदेखि सञ्चालित बानेश्वर मीनभवनस्थित तरकारी बजार कुनै विकल्प नदिई राज्यको ठूलो साधनस्रोत प्रयोग गरी, प्रहरी प्रशासनको बलमा बलजफ्ती भत्काइएकोमा विरोध जनाएको छ ।
महासङ्घले आज विज्ञप्ति जारी गरी तीन सयभन्दा बढी व्यवसायी र हजारौँ किसानको प्रत्यक्ष जीविकोपार्जन खोस्ने तथा लाखौँ उपभोक्ताको तरकारी उपभोग गर्ने अधिकार हनन हुने गरी चालिएको सो कदमको भत्र्सना गरेको छ ।
अन्य विकल्पको खोजी गरी व्यवसायी स्वयम् अन्य ठाउँमा बजार स्थानान्तरण गर्ने प्रयास गरिरहेको बेला डोजरको प्रयोग गरी बलजफ्ती भौतिक संरचना, कृषि उपज तथा धनमाल नष्ट गरिएको र राज्यको उक्त कदमले किसानले उत्पादन गरेका एक सय ५० टनभन्दा बढी कृषि उपज बजारसम्म नपुगी खेरजाने अवस्था सृजना भई करोडौँ आर्थिक क्षति पुगेको महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बजार भत्काइएपछि विस्थापित हुन पुगेका व्यवसायीलाई तत्काल अर्को बजारको व्यवस्था गरी पुनस्र्थापना गर्न, व्यवसायिक ग्यारेन्टी र स्थायित्व प्रदान गर्न तथा क्षति हुन पुगेका धनमाल र कृषि उपजको क्षतिपूर्ति उपलब्ध गराउन महासङ्घले सरकारसमक्ष माग गरेको छ ।
देशैभरका कृषि बजार सङ्कटमा रहेको सन्दर्भमा महासङ्घले पटक–पटक कृषि ऐन निर्माण गरी नयाँ कृषि बजारको निर्माण तथा व्यवस्थापन गर्न, सञ्चालनमा रहेका बजारमा देखापरेका समस्या समाधान गर्न ध्यानाकर्षण गराउँदै आएकामा उल्टै दादागिरी शैलीमा राज्य उत्रिएकाबाट कृषक, व्यवसायीका समस्या समाधान गर्न तथा कृषि क्षेत्रको विकास गर्न राज्य उदासिन छ भन्ने प्रष्टिएको विज्ञप्तिमा उल्लेख छ । रासस
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक वा आंशिक असर पर्नसक्ने हुनाले सम्बन्धित सबैलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सत्र किलोमा बस माइक्रो ठोकिदा चारजनाको मृत्यु, ६ घाइते
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय सवारी साधन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएका थिए । विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुईजनाको भरतपुर अस्पताल र चारजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।