यस्ताे बन्ने छ काेटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग

यस्ताे बन्ने छ काेटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग

रमेश गिरी 
भक्तपुर, माघ २० ।  दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल हुँदै सिन्धुली जाने तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक हुँदै चीन जोड्ने तातोपानी नाकासम्म जाने एक मात्र सडक अरनिको राजमार्गमा दैनिक जाम बढेपछि यसलाई कम गर्न सुरुङ मार्ग निर्माण गर्ने अवधारणा अगाडि सारिएको बस्नेतले बताए ।

पूर्वमन्त्री बस्नेतले भने, “हामीले कोटेश्वर र साँगामा सुरुङ मार्ग निर्माण गर्ने, जडीबुटीदेखि जगातीसम्म सात वटा मुख्य चोकमा व्यापारिक प्रयोजनसहितको आकाशे पुल राख्ने, आशापुरी महादेव जाने साँगाको बाटोबाट चित्तपोलको अग्लो कैलाशनाथ महादेवसम्म जान झोलुङ्गे पुल निर्माण गर्ने, आशापुरीको पानीलाई अण्डर ग्राउण्डका रुपमा ल्याएर चित्तपोलमा ड्याम बनाइै डुङ्गा चलाउने, आशापुरीको पानीलाई शुद्धीकरण गरी वितरण गर्ने व्यवस्था मिलाउने कार्ययोजना अगाडि बढाएका छाै‍‌ ।”

सडक विभागअन्तर्गत वैदेशिक शाखाका उपनिर्देशक सञ्जय श्रेष्ठले पटक पटक भएको छलफलपछि सुरुङ मार्ग निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने, “सुरुङ मार्ग निर्माणको अध्ययन सम्पन्न भइसकेको छ, अब यही फेब्रुअरीको अन्तिममा जापानबाट आउने टोलीले काभ्रेको साँगामा स्थानीयवासीसँग एक पटक छलफल गरी भक्तपुर–साँगा सुरुङ मार्ग निर्माण कार्य थालनी गरिनेछ ।”

उनका अनुसार जाइकाको ऋण सहयोगमा भक्तपुरको पलाँसेबाट साँगा निस्कने गरी करिब १.५ किमी सुरुङ मार्ग निर्माण हुनेछ । सुरुङमा भेन्टिलेटर र प्रशस्तै बत्तीको व्यवस्था हुनेछ । चौबीसै घण्टा उज्यालो देखिन्छ । यहाँ अक्सिजन सुरक्षित हुनेछ । सिसी क्यामरा जडान गरिएका हुनेछन्, आगलागी भएमा तत्कालै नियन्त्रण गर्न सकिने गरी व्यवस्थापन हुनेछ ।

सुरुङ मार्ग निर्माणका लागि करिब ९५ प्रतिशित काम अगाडि बढिसकेको जानकारी दिँदै श्रेष्ठले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए । पलाँसेबाट प्रवेश गरेर साँगा नासिका स्थानमा निस्कने गरी सुरुङ मार्ग निर्माण हुनेछ । सो सुरुङबाट एकै पटक चार वटा गाडी प्रवेश गर्न सक्नेछन् । यस्तै कोटेश्वर–जडीबुटी भक्तपुर सडकमा अत्यधिक बढ्दो सडक जाम घटाउनका लागि कोटेश्वरको मुनिभैरव स्थानबाट जडीबुटी निस्कने गरी अर्को सुरुङ मार्ग निर्माण हुने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरु भएको श्रेष्ठले बताए । जाइकाकै सहुलियत ऋण सहयोगमा सुरुङ मार्ग निर्माण गर्न जाइका तत्पर रहेको जानकारी दिँदै उनले यहाँको सुरुङ मार्गमा पनि बत्ती र क्यामरा राख्ने तथा त्यसको निरीक्षण बाहिरबाट गर्नसक्ने गरी व्यवस्थापन गरिने बताए । उनका अनुसार यसका लागि आवश्यक सर्वेक्षण तत्कालै अगाडि बढाइनेछ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जय गौतमले सुरुङ मार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न संस्था तयार रहेको बताए । प्राधिकरणकै इञ्जिनीयर धु्रव बाथेगया र निर्देशक बाबुराम पौडेलले विमानस्थललाई कुनै पनि बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न सकिने स्पष्ट पारे।

विमानस्थलको सर्वे लाइट र सुरक्षालाई कुनै बाधा नपर्ने गरी सुरुङ मार्ग निर्माण गर्न उपयुक्त हुने उनीहरुको भनाइ थियो । कोटेश्वर–धुलिखेल छ लेन सडक विस्तार आयोजनाका प्रमुख राकेश महर्जनले काटेश्वरबाट भक्तपुर हुँदै पूर्व जाने सडकमा सवारी चाप अत्यधिक बढ्दै गएकाले सडक विस्तार र सुरुङ मार्ग निर्माणमा ढिलाइ गर्न नहुने प्रतिक्रिया दिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्रनाथ खनालले अहिलेकै सडक संरचनामा सवारी चापलाई व्यवस्थापन गर्न कठिन भइसकेकाले सुरुङ मार्गको काम तत्कालै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रदेश सांसद शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले सुरुङ मार्गसँगै सरकारले गाडी गुड्ने आकाशेपुल निर्माणमा पनि चासो दिनुपर्ने बताए । रासस

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय