राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

राष्ट्रिय खेल भलिबलको भविष्य अन्योलमा

काठमाडौं, चैत १४ । राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रिय खेल भलिबलका बारेमा स्पष्ट व्यवस्था नुहँदा राष्ट्रिय खेलको भविष्य अन्योलमा परेको हो ।

विसं २०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । नेपालको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी र मुलुकभर व्यापक पहुँचका आधारमा भलिबललाई त्यतिबेला राष्ट्रिय खेल बनाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो ।

अहिले खेलकूद ऐन परिमार्जनको अवस्थामा रहेको र प्रस्तावित विधेयकमा यसबारे स्पष्ट उल्लेख नभएका कारण राष्ट्रिय खेलको मान्यता अन्योलमा परेको हो । प्रस्तावित विधेयकको परिच्छेद–८ को उपधारा २९ मा नेपाल सरकारले राष्ट्रिय खेलकूद परिषद्को सिफारिसमा नेपालको राष्ट्रिय खेल घोषणा गर्ने उल्लेख गरिएको छ । तर अहिले भलिबल नै राष्ट्रिय खेलको रूपमा रहेको छ । यस्तो अवस्थामा यस बुँदाले अन्योल सिर्जना गरेको छ ।

नेपाल भलिबल सङ्घले राष्ट्रिय खेल भलिबल नै रहेको र उक्त बुँदा परिमार्जन गरी नेपालको राष्ट्रिय खेल भलिबल नै राख्न माग गर्दै विभिन्न तहमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय खेल भलिबलबारे विधेयकमा देखिएको अन्योल हटाउन माग गरेको छ ।

नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलले राष्ट्रिय खेलको मान्यता पाइसकेको अवस्थामा विधेयकमा यसबारे स्पष्ट व्यवस्था गरी अगाडि बढ्नुपर्ने बताए । “हामीले सम्बन्धित सबै निकायमा ज्ञापनपत्र बुझाएका छौँ, उनीहरुले विधेयकमा संशोधन गरिने आश्वासन दिएका छन्”, उनले भने ।

राष्ट्रिय खेल भनेको देशको पहिचान भएकाले यसलाई मेटाउन नहुने बताउहुनुन्छ भलिबलका प्रशिक्षक जगदीश भट्ट । “विधेयक तर्जुमा गर्दा केही कमजोरी भएको छ, कमजोरी हटाइ राष्ट्रिय खेलबारे ऐनले नै संरक्षण गर्नुपर्छ”, उनले भने ।

तत्कालीन अवस्थामा युवा तथा खेलकुद मन्त्रालयको सुझावका आधारमा सरकारले भलिबललाई राष्ट्रिय खेलको रूपमा मान्यता दिएको तत्कालीन युवा तथा खेलकूदमन्त्री दलजित श्रीपालीले बताए । मन्त्रालयले चार वर्षअघिदेखि कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने विषयमा सुझावसमेत सङ्कलन गरेको थियो ।

भौगोलिक पहुँच, जिल्ला खेल सङ्घहरुको अवस्था, देशमा सबैभन्दा बढी खेलिने खेलको रूपमा त्यतिबेला सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबलको अहिले ७७ वटै जिल्लामा जिल्ला सङ्घ रहेका छन् । नेपाल भलिबल सङ्घको दानबहादुर तामाङको नेतृत्वमा रहेको कार्यसमितिले भलिबललाई राष्ट्रिय खेल बनाइनुपर्ने मागसहित देशव्यापी हस्ताक्षर सङ्कलनसमेत गरी सरकारलाई सुझाव दिएको थियो ।

महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदै, यस्तो छ खेल तालिका

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको सातौं संस्करण आज सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात हुनेछ। खेल साँझ ५ः३० बजे सुरु हुनेछ। सन् २०१० देखि सुरु भएको साफ च्याम्पियनसिपको ६ संस्करणमा ५ पटक विजेता बनेको‌ थियो। दुई वर्षअघि नेपालमा भएको पछिल्लो संस्करणमा भने भारत सेमिफाइनलमा पराजित भएको थियो। त्यति बेला नेपालसँग पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो। नेपालले भारतलाई महिला फुटबलमा‌ हराएको त्यो पहिलो पटक थियो। भारत सदा जस्तै प्रतियोगिताको मुख्य दाबेदार मध्येको‌ टोली हो। पाकिस्तानको भने साफ च्याम्पियनसिपमा‌ कमजोर उपस्थिति रहँदै आएको छ। २०१० मा‌ बाहेक पाकिस्तान सेमिफाइनलमा पनि पुग्न सकेको‌ छैन। भारतलाई रोक्न सके वा हराउन‌ सके पाकिस्तानी फुटबलका‌ ठूलो नतिजा ‌हुनेछ। भारत, पाकिस्तानसँगै बंगालादेश समूह एमा‌ छन् । नेपालसहित भुटान, श्रीलंका र माल्दिभ्स अर्को समूहमा छन्। भुटानसँग शुक्रवार खेल्दै नेपालले च्याम्पियनसिपको सुरुवात गर्नेछ। खेल ५ः३० बजे सुरु हुनेछ।‌ त्यसअघि शुक्रवार श्रीलंका र माल्दिभ्स बीच खेल हुनेछ। नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिपको‌ आयोजना गर्दैछ। हेर्नुहोस् खेल तालिका   

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभएको छ । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रियता प्रवर्धन गर्ने, देशको विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजाने एउटा महत्वपूर्ण क्षेत्र खेलकुद हो ।’ यसकै आधारमा आफूले खेलकुदलाई प्राथमिकता दिंदै आएको उहाँले बताउनुभयो । त्यस्तै संस्कृति अर्को महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘संस्कृतिले देशका सबै जातजाति, भाषाभाषी, क्षेत्र समुदायलाई जोड्दै सबै नेपालीलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्न यसको विशेष महत्व छ ।’ आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारको रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरिएको र त्यसमा सरकारको तर्फबाट दिल खोलेर सहयोग गरेको उहाँले स्मरण गराउनुभयो । खेल र संस्कृति यी दुबै क्षेत्र राष्ट्रियता प्रवर्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्वपूर्ण क्षेत्र भएको उहाँले स्पष्ट गर्नुभयो । नेपालको खेल क्षेत्रमा अहिले पनि आफूले भरोसा गरेका व्यक्तिहरुले नेतृत्व गरेको र खेल क्षेत्रले ऐतिहासिक परिणाम हात पारिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले ६० वर्षको इतिहासमा पहिलोपटक नेपालले ओलम्पिकमा पदक प्राप्त गरेकाले यो वर्ष नेपाली खेल क्षेत्रका लागि अविस्मरणीय वर्ष बन्ने पुगेको बताउनुभयो । त्यसका लागि खेलाडी र व्यवस्थापन पक्ष सबैलाई उहाँले बधाई र धन्यवाद पनि दिनुभयो । खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उहाँले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताउनुभयो । हिजो जनयुद्धकालमा जनमुक्ति सेना र पेशेवर कार्यकर्ताले खाली समय व्यति गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले चेसको विकास गर्ने अभियानमा त्यही क्रान्तिमा सामेल भएका पूर्वजनुक्ति सेनाहरुको नेतृत्वदायी भूमिका रहेको देख्दा खुशी लागेको बताउनुभयो ।  

रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं । सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पारेर फर्कनुभएको हो । 

एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्।  चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्।  एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।  सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो। सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन।  एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।  यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।

लोकप्रिय