राष्ट्रिय सरसफाई वर्ष घोषणा गर्न प्रधानमन्त्री ओली सहमत, अभियन्तादेखि गायिकासम्मको माग

राष्ट्रिय सरसफाई वर्ष घोषणा गर्न प्रधानमन्त्री ओली सहमत, अभियन्तादेखि गायिकासम्मको माग

काठमाडौँ । विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार माग पत्र बुझाइएको छ ।

वाग्मती सफाइ महाअभियान र गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणाको माग गर्दै १७६ विशिष्ट व्यक्तिले गरेको हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्नुहँदै प्रधानमन्त्री ओलीले सरसफाइ सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । “राजधानीलगायत देशभर चलेको सफाइ अभियानका बारेमा म जानकार छु, अभियान अझै विस्तारित र सशक्त बनाउन आवश्यक छ, यसका लागि सरकारले सहयोग गर्छ, सरसफाइ वर्ष घोषणाका लागि के के तयारी गर्नुपर्छ, त्यो सबै गरेर ल्याउन सम्बन्धित मन्त्रालयलाई भन्नेछु”, उहाँले भन्नुभयो ।

सरसफाइ वर्ष घोषणा गर्न आवश्यक नीति निर्माणको गृहकार्य पनि सरकारले अघि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । सरसफाइ जनस्वास्थ्य र सभ्यतासँग जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ थियो । यसमा सरसफाइ वर्षको घोषणा गरी सरकारले नयाँ कामको थालनी गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाउनुभएको ज्ञापन पत्र बुझाउन जानुभएका गैरआवासीय नेपाली संघ सरसफाइसम्बन्धी अन्तर्राष्ट्रिय युवा समितिका संयोजक खेम शर्माले राससलाई जानकारी दिनुभयो ।

‘समृद्ध नेपालको निर्माणका लागि पहिलो कदमका रुपमा सम्पूर्ण देशलाई सफा र स्वच्छ बनाउने उद्देश्यले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष घोषणा गर्न नेपाल सरकारलाई विशेष अनुरोध गर्दछौँ र यस पुनीत कार्यमा मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ व्यहोरामा पूर्वराष्ट्रपति डा रामवरण यादव र पाँच जना पूर्वप्रधानमन्त्रीसहित आर्थिक, सामाजिक, धार्मिक, पुरातात्विक, कलाकारिता, पत्रकारितालगायत क्षेत्रका १७६ विशिष्ट व्यक्तिले हस्ताक्षर गर्नुभएको छ ।

सरसफाइ वर्ष घोषणाको माग गर्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री हिसिला यमी, नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष हरेराम श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी नायिका एवम् वाग्मती सफाइ सद्भावनादूत मनीषा कोइराला, नायक राजेश हमाल, कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, प्रियंका कार्की, सीताराम कट्टेल, एनआरएनएका संरक्षक उपेन्द्र महतो, डा भगवान् कोइराला, डा भोला रिजाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, कर्ण शाक्य, रवि लामिछाने, बालगुरु आदित्य दाहाल र व्यवसायीले पनि सरसफाइ वर्ष घोषणाको मागमा हस्ताक्षर गर्नुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले माग पत्रमा हस्ताक्षर गर्दै ‘हरेक व्यक्तिमा सफाइका विषयमा सचेतना जगाउन विसं २०७५ सफल हुन सकोस्’ भन्ने कामना गर्नुभएको छ । सरसफाइ वर्ष घोषणासँगै जथाभावी फोहर गर्नेलाई कारबाहीका लागि कडा कानून बनाई कार्यान्वयन गरेर सफा नेपालको अभियान शुरु गर्ने तयारी भएको छ ।

नायिका एवम् वाग्मती सफाइदूत कोइरालाले सफा नेपाल बनाउनु सबै नेपालीको कर्तव्य हुनुपर्ने उल्लेख गर्नुहुँदै जन्मभूमिको सफाइमा जुट्न सरसफाइ वर्षको आवश्यकता रहेको हस्ताक्षर पत्रमा उल्लेख गर्नुभएको छ । साहित्यकार डा झमककुमारी घिमिरेले नेपाल सफा, नेपाली मन सफा, स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने धारणाप्रति ऐक्यबद्धता जनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिनुपर्ने उल्लेख गर्नुभएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ ।

उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट शुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख शहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । रासस

आजबाट कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द हुने

काठमाडौं । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ । विजया दशमीको अवसरका लागि आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने विज्ञप्तिमार्फत जनाइएको छ । घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिएर सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनुभयो । गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

लोकप्रिय