लक्ष्मी परियारको हत्या आरोपीहरु रिहा

लक्ष्मी परियारको हत्या आरोपीहरु रिहा

काभ्रे , भदौ ८ । बोक्सी आरोपमा हत्या गरिएकी काभ्रे सानो बाङ्थली ७ की लक्ष्मी परियारको हत्या आरोपीहरु अन्तत स् रिहा भएका छन् ।

काभ्रे जिल्ला अदालतले हिजो मंगलबार हत्या आरोपीहरुलाई कैद मुक्त गरेको हो । जिल्ला न्यायाधीश श्याम सुन्दर अधिकारीको इजलाशबाट हत्या आरोपमा पुर्पक्षको लागि थुनामा रहेका हिरा लामा, काइली तामाङ, निरमाया तामाङ र मिलन परियार न्युनतम सजाय पाई रिहा भएका हुन् भने फूलमाया तामाङले सफाई पाएकी छिन् ।

प्रतिवादीहरु मध्ये हिरा लामा र काइली तामाङलाई कर्तव्य ज्यान मुद्दामा जनही ८ महिना कैद र बोक्सीको आरोपमा जनही २० हजार रुपैयाँ जरिवाना गरिएको छ भने मिलन परियार र निरमाया तामाङलाई कर्तव्य ज्यानमा ८ महिना कैद सजाय तोकिएको थियो ।काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीका अनुसार प्रतिवादीहरु मंगलबार नै रिहा भएका छन् । ‘प्रत्येकलाई भिन्न भिन्न सजाय भएको छ । तर, उहाँहरु हिजो नै छुट्नु भएको हो ।’

जिल्ला सरकारी वकिल कार्यालय काभ्रेको तर्फबाट सरकारी वकिल राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र सिताराम घले परियारले बहस पैरवी गरेका थिए भने प्रतिवादी मिलन परियारको तर्फबाट अधिवक्ता मोहन साशंकर र श्याम विश्वकर्माले बहस गरेका थिए ।प्रतिवादी हिरा लामा, काइली तामाङ, निरमाया र फूलमाया तामाङको तर्फबाट बरिष्ठ अधिवक्ता रमेश प्रसाद मैनाली, राजु प्रसाद धिमाल, सुदर्शन थपलिया र अश्विन कुमार राइले बहस गरेका थिए ।

गत २०७३ मंसिर २० गते काभ्रे सानोबाङथली–७ की लक्ष्मी परियारलाई सुर्योदय माविको प्राङ्गणमा बोक्सीको आरोप लगाई मलमुत्र खुवाइ कुटपीट गरी हत्या गरिएको थियो । उक्त समयमा लक्ष्मीलाई नाम्लोले बाँधेर दाउराको चिरपटले प्रहार गरिएको कुरा उनका छोरा सुमन नेपालीले बताएका थिए । सो घटनाबाट गम्भिर घाइते बनेकी लक्ष्मीलाई उनका श्रीमान मिलन परियारले समेत मंसिर २४ गते कुटपीट गरेको भन्ने सरकारी पक्षको आरोप थियो ।

घटना पश्चात प्रहरीले पीडितको जाहेरी लिन समेत इन्कार गरेको थियो । तर, चौतर्फी दबावपछि जाहेरी लिएपनि जाहेरीमा लक्ष्मीका श्रीमान मिलन परियारलाई समेत दोषी बनाउन प्रहरीले अप्रत्यक्ष दबाव दिएको अधिकारकर्मीहरुले बताएका थिए ।कर्तव्य ज्यान जस्तो गम्भिर मुद्दामा काभ्रे जिल्ला अदालतले न्युनतम सजाय गरेपछि पीडितहरुले न्याय नपाएको महशुस गरेका छन् ।

यो मुद्दामा लामो समय देखि बहस गर्दै आएका अधिवक्ता मोहन साशंकर अदालतको फैसलालाई निकै गम्भिरतापूर्वक हेरिनुपर्ने बताए ।

‘पहिलो कुरा यो मुद्दामा प्रहरी अनुसन्धान नै कमजोर ढंगले हुन गयो । अर्थात मृतक लक्ष्मीका श्रीमान मिलन परियारलाई मुख्य अभियुक्त बनाउने किसिमले अनुसन्धान गरिएको थियो,’ साशंकरले दियोपोस्टसँग भने,‘यसैले पनि घटनाको मुख्य दोषी उम्कने खतरा देखिएको थियो ।
सोही आधारमा अदालतले फैसला गर्दा आफ्नो न्यायीक स्वविवेक प्रयोग गर्नसक्ने भएकाले मुख्य दोषीहरुले कम सजाय पाई उन्मुक्ती पाएको अवस्था हो । यद्यपि मिसिललाई सुक्ष्म ढंगले अध्ययन गर्दा मुख्य दोषीले यति कमभन्दा कम सजाय पाउनु पर्ने अवस्था थिएन ।

अधिवक्ता साशंकरका अनुसार चिकित्सकको वक पत्रमा समेत लक्ष्मीको मृत्यु विभिन्न गम्भिर चोटहरुको कारणले भएको भन्ने उल्लेख छ ।सो गम्भिर चोटहरु पु¥याउने मुख्य अभियुक्त हिरा लामा नै हो भन्ने कुरा मिसिलबाट प्रष्ट हुन्छ, यसो हुँदा हुँदैपनि हिरा लामा समेतलाई ८ महिनामात्रै कैद हुनुले हाम्रो न्याय प्रणालीमाथि पीडितले कसरी भरोसा गर्नसक्लान भन्ने प्रश्न उब्जिएको छ । तर, पनि फैसला गर्दा लिएको मुख्य आधारहरु के–के हुन् भन्ने कुरा फैसलाको पूर्णपाठ नआएसम्म भन्न सकिँदैन,’ अधिवक्ता साशंकरले भने । दियोपोस्टमा खबर छ ।

देउवाले किन बोलाए कांग्रेसका मन्त्रीहरु बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई आज बुढानीलकण्ठस्थित निवास बोलाएका छन् ।  मन्त्रीहरुसँग सामूहिक छलफल गर्न  उनले विहीबार (आज) बिहान ८ बजे बुढानीलकण्ठस्थित निवासमा मन्त्रीहरुलाई बोलाएका हुन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काम प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो । सोही तालिका अनुसार देउवाले मन्त्रीहरुसँग छलफल गर्न लागेको बताइएको छ । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरुलाई पनि बोलाइएको छ ।

समाजवादी मोर्चाले माघ १६ गते वृहत कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले  माघ १६ गते वृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार आलोकनगरमा बसेको मोर्चाको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकबारे जानकारी दिँदै कार्यदल सदस्य खड्गबहादुर विश्वकर्माले यो कार्यक्रमले बाहिर सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।  समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको जानकारी गराउँदै उनले शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने जानकारी गराए । कार्यदलले माघ १० गतेदेखि १२ गतेभित्र प्रतिवेदनलाई अन्तिम रुप दिएर शीर्ष नितालाई बुझाउने विश्वकर्माले जानकारी दिए । यसैगरी सरकारको गतिविधिबारे गम्भीर छलफल भएको उनले बताए । ‘ओली सरकारले ल्याएको अध्यादेशबारे गम्भीर छलफल भएको छ । जननिर्वाचित संसद् छ । तर सरकारले संसद् छलेर भटाभट अध्यादेश ल्याएको छ । यसबारे गम्भीर छलफल भएको छ’, उनले भने ।  आजको बैठकमा सुरुमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको तर  पछिल्लो समय अगाडि बढाउन गति धिमा भयोबारे समीक्षा भएको उनले बताए ।

सरकारले संसद्को नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने विपक्षी दलहरूको तयारी

काठमाडौं । सरकारले संसद्को नियमित संसद् अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बसेको विपक्षी पाँच दलको बैठकले विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय गरेको हो ।  बैठकको निर्णयबारे जानकारी दिँदै माओवादीको उपमहासचिव वर्षमान पुनले सरकार संसद् छलेर अलोकतान्त्रिक तरिकाले अध्यादेशबाट शासन गर्न लागेको आरोप लगाए । पुनका अनुसार संसद्को नियमित अधिवेशन बोलाउन सरकारलाई दबाब दिने नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्ने निर्णय भएको जानकारी  दिए ।  ‘सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक गरिरहेको छ ।  ओलीमा स्वेच्छाचारी ढङ्गले शासन गर्ने विगतको प्रवृत्ति थियो । अलिकति सच्यो कि भनेको फेरि त्यही दोहोरिएको छ । महँगी बढेको छ । अनियमितता बढेको छ । यस्तो अवस्थामा नियमित अधिवेशन बोलाउन विपक्षी दलले माग गरेको छ । नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन बोलाउन पहल गर्नेर्छौं’, पुनले भने ।  बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरू पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताउनुभयो । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उहाँले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास ग¥यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो । उहाँले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताउनुभयो । नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिंदै उहाँले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताउनुभयो । आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो । सुकुटेको पर्यटन प्रवर्धनका अभियान नै चलाएको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराउनुभयो । ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’ कार्यक्रमका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

लोकप्रिय