नाइजिरियाको सूचना मन्त्रालयका अनुसार अपहृत ११० मध्ये ७६ जनालाई बुधवार पू्र्वाह्णमा फिर्ता ल्याइएको हो।
उनीहरूलाई छुटाउन अनौपचारिक प्रयासहरू गरिएका थिए।
कसैको ज्यान नजाओस् भनेर सेनाले दाप्चा क्षेत्रमा आफ्नो गतिविधिलाई विश्राम दिएको थियो, विज्ञप्तिमा भनिएको छ।
तर उक्त विज्ञप्तिमा केही छात्राहरूको मृत्यु भएको विवरणहरूबारे केही उल्लेख गरिएको छैन।
सूचना तथा संस्कृति मन्त्री अल्हाजी लाइ मोहम्मदका अनुसार ती छात्राहरूलाई ‘देशका केही साथीहरूको सहयोगमा’ ‘विनाशर्त मुक्त’ गरिएको हो।
“सरकारले हिंसा र मुठभेडबाट ती बालिकाहरूको ज्यान जोखिममा पर्ने र कुनै निकास ननिस्कने भन्ने बुझेको थियो,” उनले भने, “त्यसैले अहिंसात्मक उपाय नै विकल्पमा रोजिएको थियो।”
कसैलाई हस्तान्तरित नगरिएको र उनीहरूको औपचारिक सङ्ख्या पनि नलिइएको भन्दै उनले मुक्त छात्राहरूको सङ्ख्या बढी पनि हुनसक्ने बताए।
एक जना अभिभावक कुन्डिली बुकारले बीबीसीलाई भने – बुधवार बिहान सबेरै गाडी चढेर नगरमा बोको हराम भन्ठानिएका विद्रोहीहरूले स्थानीय समुदायलाई ती बालिकाहरू जिम्मा लगाए। त्यसपछि उनीहरू तत्कालै फर्किए।
उनका अनुसार बालिकाहरू जीर्ण र थकित देखिन्थे। तर तिनमध्ये केही आफू मुक्त भएपछि दौडेर घरतिर गएका थिए।
अर्का अभिभावक मानुगा लावलले आफ्नी छोरीसँग फोनमा कुराकानी गरेको बताए।
दाप्ची नगरमा आक्रमण गर्न आएका विद्रोहीहरूको एउटा समूहले ती बालिकाहरूलाई फेब्रुअरी १९ को साँझ एउटा स्थानीय विद्यालयबाट लिएर गएका थिए।
पहिला अधिकांश बालिकाहरू भागेका र कसैको अपहरण नभएको दाबी गरिएको थियो।
तर त्यसको एक हप्तापछि सरकारी पक्षले ती बालिकाहरूलाई इस्लामिक विद्रोहीहरूले लगेको स्वीकार गरेको थियो। बीबीसी