विश्वकप फुटबलः आज एशियाली राष्ट्र जापानको अग्नी परीक्षा !
मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुँदै छन् । आजको पहिलो खेलमा ४ अंक जोडेको जापान नकआउट चरण यात्रा पक्का बनाउन पोल्याण्डसँग खेल्दैछ । खेल भोल्गोग्राड रंगशालामा नेपाली समयअनुसार पौने आठ बजे हुने छ ।
एशियाली राष्ट्र जापान रुस विश्वकपको समूह एचमा शीर्ष स्थानमा छ । समूहका यसअघिका ३ खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको लेवाण्डोस्कीको टोली पोल्याण्डका लागि भने आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।
यस समूहबाट जापानको ४ अंक, सेनेगल ४ अंक र कोलम्बिया को ३ अंक छ । यी मध्ये दुई टोली नकआउट चरणमा पुग्नेछन् । जापानले पोल्याण्डसँग खेल्दा कोलम्बियाले इंग्ल्याण्डको सामना गर्दैछ । जापानले पोल्याण्डसँग बराबरी खेले पनि अघिल्लो चरणमा जाने पक्का छ ।
कोलम्बियाविरुद्ध २-१ को जित र सेनेगलसँग २-२ को बराबरीले जापान सन्तुलित समूह एचमा केही हदसम्म आश्चर्यजनक रुपमा शीर्ष स्थानमा देखिन्छ । जापानको रुस यात्रा सफल रहेको देखिन्छ । पोल्याण्डको भने उसको घरेलु समर्थक र मिडियाबाट निक्कै आलोचना खेप्नुपरेको छ । -एजेन्सी
साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा
काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।
रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी
काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।
राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै
काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।