सडक बनेपछि खच्चडको ठाउँमा गाडी
तेह्रथुम, पुस ९ ।
तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो ।
वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत गर्न थालेका छन् ।
पर्यटकीय यी क्षेत्रका डाँडाकाँडामा सडक निर्माणसँगै सवारी साधनले खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तु ढुवानी गरिदिएका छन् । यसैकारण चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकहरूले पेशा परिवर्तन गर्नुपर्यो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको यो तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसको राजधानीको रुपमा चर्चित छ । यी क्षेत्रमा सडक पुगेपछि चौंरीलाई भारी बोकाएर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा फेरिएको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताए ।
धेरैजसोले चौंरी र खच्चड पनि बिक्री गरिसकेका छन् । पहिले यो मार्गमा भरियाले खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु बोकेर माथिल्लो क्षेत्रमा पुर्याउँथे । पछि यो काम चौंरी र खच्चडले गर्न थाले । भरियाको तुलनामा चौंरी र खच्चडले धेरै सामान बोक्ने भएकाले धेरै व्यवसायी यतातिर आकर्षित थिए तर, त्यो पनि अब रहेन सडकको सुविधा थपिएपछि ।
यही मार्ग भएर सडक निर्माण भएपछि भने सयौं चौंरी र खच्चड व्यवसायी एकैसाथ यो पेशाबाटै विस्थापित भएको गुफा बजारका होटल व्यवसायी हरि खनालले बताए । शुरुमा माथिल्लो क्षेत्रका भोटे समुदायले मात्र अपनाएको चौंरीलाई भारी बोकाउने व्यवसायमा पछिल्लो समय अन्य जाति र समुदायका मानिससमेत संलग्न भएका थिए ।
यो मार्गमा चौंरी र खच्चडलाई भारी बोकाउने व्यवसाय गर्दै आएका छिरिङ लामा अहिले यो व्यवसाय छाडेर निर्माण व्यवसायमा लागेका छन् । एक दशकअघिसम्म उनी यो मार्गमा ३० वटाभन्दा बढी चौंरी र खच्चडलाई वसन्तपुरबाट सामान बोकाएर ताप्लेजुङका विभिन्न ग्रामीण क्षेत्र र बजारसम्म पुर्याउने काम गर्ने गर्दथे । चौंरी धपाउने मार्ग भएर मोटर बाटो निर्माण भएपछि आफूहरूले बाध्य भएर पेशा नै परिवर्तन गर्नुपरेको लामाले बताए ।
त्यस्तै, गुफापोखरीमा ५० भन्दा बढी चौंरी र खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका ग्याबु शेर्पाले वसन्तपुर हँुदै निर्माण भइरहेको मोटर बाटो घरका आँगनसम्मै आइपुगेपछि सबै चौंरी र खच्चड बिक्री गरेर ल्यान्डरोभर गाडी किनेका छन् । पुर्खाले गर्दैआएको चौंरीलाई भारी बोकाउने पेशा सडकले खोसिदिएपछि बाध्य भएर अर्को पेशामा लागेको शेर्पा बताउँछन् ।
यही मार्गमा चौंरी र खच्चड किनेर भारी बोकाउने व्यवसाय गर्दै आउनुभएका पाँच पोखरीका डम्बर बुढाथोकी, धु्रब खड्का, हर्क राईलगायत धेरै व्यवसायीहरू पनि फरक पेशा र व्यवसायमा लागेका छन् । टुटे देउरालीदेखि तीनजुरे, चौकी, मंगलबारे, श्रीमाने, भालुखोप, लामपोखरी, गुफाबजार हुँदै दोभानसम्मको चौंरी हिँड्ने सडकमा अहिले सानाठूला सवारी गुड्छन् । यो मार्गको मंगलबारेमा व्यापार गर्दै आएका राम उप्रेती सडक निर्माणसँगै दैनिकी चलाउन सहज भएको बताउँछन्।
अहिले सुनसरीको धरानदेखि सिधै टिएमजे क्षेत्रसम्म दैनिक बस सेवा उपलब्ध छ । घुम्न जानेहरु बस चढेरै टिएमजे पुगिरहेका छन् । धरानदेखि कोशी राजमार्ग भएर तेह्रथुमको वसन्तपुर पुगेपछि निर्माणाधीन मदन भण्डारी राजमार्गबाट ताप्लेजुङको साँघुसम्म दैनिक बस सेवा उपलब्ध रहेको व्यवसायी कासाङ शेर्पाले बताए । उनले भने– “बसमा यात्रु खचाखच हुन्छन् । त्यसमध्ये आन्तरिक पर्यटक नै धेरै हुन्छन् ।” दैनिक यातायात सेवा उपलब्ध भएपछि टिएमजे क्षेत्रका बासिन्दालाई समेत सुविस्ता भएको छ ।
दैनिक उपभोग्य वस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको गुफाबजारका धार्के शेर्पाले बताए । “पहिले बिरामी पर्दा अस्पताल पुग्न नपाई मर्नुपथ्र्यो, त्यसमध्ये धेरै प्रसूति पीडाले मर्थे,” चौकीबजारका उदयकुमार तामाङले भने– “अहिले कमसेकम त्यो कहालिलाग्दो अवस्था हटेको छ ।”
अहिले दैनिक जसो टिएमजे क्षेत्रका डाँडाकाँडामा पर्यटक आइरहेका चौकीबजारका यज्ञ कार्की बताउँछन् । गुफापोखरी र यहाँको सुन्दरतामा रम्न हरेक साताजसो तेह्रथुम, धनकुटा, संखुवासभा र ताप्लेजुङका सर्वसाधारण पुग्ने गरेका छन् ।
निर्माणाधीन यो सडकलाई सरकारले मदन भण्डारी लोकमार्गको रुपमा नामकरण गरी प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । दुई वर्षभित्र सडकलाई स्तरोन्नति गरी बाह्रैमास सवारी सञ्चालन योग्य बनाउन पहल भइरहेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताए । सडकमा सवारी चल्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिका, संखुवासभाको मादी नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिका तथा ताप्लेजुङको मैयाखोला गाउँपालिकाका बासिन्दालाई दैनिकी चलाउन सहज भएको छ ।
गाउँबाट पूर्वी तराईको धरानसम्म पुग्न सहज भएको छ । सडकका कारण दैनिक आवतजावतसँगै बिरामी पर्दा समयमै अस्पताल पुग्न सहज भएको चौकीबजारका व्यवसायी उदयकुमार तामाङले बताए । तामाङका अनुसार सडक निर्माण भएपछि धेरै व्यवसायीहरू चौंरी र खच्चड बिक्री गरेर अन्य पेशा व्यवसायमा लागेका छन् ।
सडकले यहाँका ग्रामीण बजारहरुमा दैनिक उपभोग्य वस्तुहरुको मूल्य सस्तिएको छ । यहाँ आउने पर्यटकलाई समेत आवतजावतमा सहज भएको छ । तीनजुरे मिल्के जलजले क्षेत्रको मुख्य गन्तव्यको रुपमा गुफापोखरी क्षेत्रसम्म पुग्न आन्तरिक तथा बाह्य पर्यटकले बस चढेरै टिएमजे घुमेर फिर्न पाएका छन् । रासस
प्रधानमन्त्री ओलीलाई विप्लवको चेतावनीः 'जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरु बन्दुकको मोर्चाबाट कलमको मोर्चामा आएपछि रक्षात्मक भएको टिप्पणी गनुभएको छ। आज (बिहीबार)माओ दिवसको अवसरमा काठमाडोंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी वर्गप्रति इमानदार हुन नसकेको हो कि जस्तो देखिएको बताउनुभयो। अहिले माओवादीविरुद्ध भयाङ्कर गोलावारीहरु चलिरहेको उहाँले बताउनुभयो। ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ,’– विप्लले भन्नुभयो, ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’ सो क्रममा उहाँले जनयुद्धलाई विषयान्तर गर्न खोज्नेहरुलाई ढेडुको संज्ञा दिनुभयो । उहाँले अहिले नेपाल दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउनुभयो । माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्वादीहरुलाई पछार्न बाँकी नै रहेको विप्लवको भनाइ छ । माओवादीले युद्ध जित्नै बाँकी रहेको उहाँको भनाइ छ । साथै,उहाँले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउनुभयो। ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ?अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होईन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’ प्रश्न गर्दैै उहाँले भन्नुभयो । सम्बोधनका क्रममा विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिनुभयो। प्रकाश सपुतको गीत स्मरण गराउँदै उहाँले भन्नुभयो ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपीजीलाई सोध्नुपर्ने भएको छ– 'केपीजी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?'
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित
काठमाडौं। सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ। विज्ञ, अर्थ मन्त्रालय र कानून मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरुबीच विधेयकका विषयमा दफाबार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको अर्थसमिति सभापति सन्तोष चालिसेले बताउनुभयो। सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी,बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने उहाँले बताउनुभयो। सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरुलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताउनुभयो। उहाँले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताउनुभयो। समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पती धितो राखि गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल सम्पती भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटी भएपनि भन्ने शब्दहरुको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटी भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ।
माओत्सेतुङबाट प्रेरणा लिंदै नेपाली विशेषताको समाजवाद निर्माणमा जुट्न आवश्यकः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक माओत्सेतुङबाट वैचारिक प्रेरणा लिंदै नेपाली विशेषतासहितको समाजवाद निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ । माओत्सेतुङको जन्म दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठः आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन । यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा कमरेड माओत्सेतुङको जन्म भएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माओत्सेतुङ संसारभरिका वर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुन्छ । कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुभयो । कमरेड माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार विश्व सन्दर्भमा र नेपाली क्रान्तिको लागि पनि मार्गदर्शकको रुपमा रहँदै आएको छ । हामी यतिबेला नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत छौं । विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ । कमरेड माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिंदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताउनुभएको छ । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दशरथ रंगशाला त्रिपुरेश्वरमा आजदेखि सुरु भएका अन्तर्राष्ट्रिय प्रतियोगिता योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ र योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेशनल सिरिज २०२४ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाल विभिन्न खेलकुद गतिविधिहरूका लागि आकर्षक स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । यसले खेलकुद पर्यटनको केन्द्र र प्रमुख गन्तव्य बनाउने सम्भावना बढाउँदै लगेको छ ।’ खेलले विभिन्न क्षेत्र, भाषा, र संस्कृतिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘जसले खेल केवल प्रतिस्पर्धाका लागि नभई विभिन्न देशका खेलाडीहरू बीच सद्भाव, मित्रता, र समझदारीको प्रतीक हो भन्ने गहिरो अर्थ दिन्छ । अन्ततः खेलकुदले राजनीतिक सिमाना भन्दा परको वैश्विक सम्बन्ध निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।’ खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘म तपाईंलाई स्मरण गराउन चाहन्छु कि मेरो प्रधानमन्त्रीत्वकालमा मैले खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्ने महत्वपूर्ण पहलहरू सुरु गरेको थिएँ । आगामी दिनमा म नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहनेछु ।’ सरकार र सम्बन्धित निकायहरूले खेल पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उहाँले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुले नेपाललाई विश्वसँग जोड्ने र हाम्रो विकासलाई सहयोग गर्ने मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो । ब्याडमिन्टन विश्वमै एक लोकप्रिय खेल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो खेल युवा तथा वृद्ध सबै उमेरका व्यक्तिहरूले खेल्न सक्ने भएकाले नागरिकको स्वास्थ्य र व्यक्तित्व विकासका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । विश्व ब्याडमिन्टन महासंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले सबै उमेर समूहका साथै शारीरिक वा बौद्धिक चुनौती सामना गरिरहेका व्यक्तिहरूको लागि पनि कार्यक्रम आयोजना गर्दै आफ्नो पहुँच बढाएको उल्लेख गर्दै उहाँले यस समावेशिताले खेलको विश्वव्यापी महत्वव र बढ्दो लोकप्रियतालाई झल्काउने बताउनुभयो । ‘म यस्ता प्रयासहरूलाई प्रवद्र्धन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु । यस्ता ठूला स्तरका अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना हाम्रो देशको विकासका लागि महत्वपूर्ण आधार हुन्’– उहाँले भन्नुभयो– ‘हामीले यस्ता उच्चस्तरीय प्रतियोगिताहरूको निरन्तरताका लागि सामूहिक रूपमा काम गर्नुपर्छ र भविष्यमा अझ ठूला कार्यक्रमहरू नेपालमा ल्याउन प्रयास गर्नुपर्छ।’ अध्यक्ष प्रचण्डले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्राविधिक अधिकारीहरू, चिकित्सकीय टोलीहरू, विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसिया कन्फेडेरेसनका प्रतिनिधिहरूलाई नेपालमा स्वागत पनि गर्नुभयो । दुबै प्रतियोगितामा गरी पाँच महादेशबाट २२ देशका ३३५ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।