प्रदेश ५ मा सरकार गठनको दौड शुरू, को को छन मन्त्री बन्न लागेकाहरू?

प्रदेश ५ मा सरकार गठनको दौड शुरू, को को छन मन्त्री बन्न लागेकाहरू?

बुटवल, २३ माघ (रासस) ः प्रदेश नं. ५ को पहिलोे प्रदेशसभा बैठक सकिएसँगै दलहरु अब प्रदेश सरकार गठन तथा सभामुख, उपसभामुख चयन लगायतका विषयमा केन्द्रित भएका छन् ।

संसदीय दलका नेताका लागि पनि पार्टीहरुमा प्रदेश सदस्यहरुको चर्चा शुरु भएको छ । प्रदेशसभाबाट निर्वाचित जनप्रतिनिधिले माघ ३ गते शपथ लिएपछि यस प्रदेशमा नेकपा (एमाले) बाहेक अन्य दलले संसदीय दलको नेता चुनेका छैनन् ।

यस प्रदेशमा नेकपा (एमाले)का ४१, माओवादी केन्द्र २०, नेपाली काँग्रेस १९, संघीय समाजवादी फोरम पाँच, राष्ट्रिय जनता पार्टी एक र राष्ट्रिय जनमोर्चा एक गरी ८७ जना प्रदेशसभा सदस्य छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिसकेका छैनन् ।

बुधबारको राष्ट्रियसभाको निर्वाचनमा केन्द्रित हुनु परेकाले पनि यसतर्फ अझै ध्यान पुग्न नसकेको दुवै दलका नेताले बताएका छन् । नेपाली काँग्रेसका केन्द्रय सदस्य तथा प्रदेश नं ५ को राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा संसदीय दलका नेता लगायतका विषयमा टुंग्याउने जिम्मेवारीमा रहनुभएका बालकृष्ण खाँणले संसदीय दलका नेता तथा सचेतकलगायत अन्य विषयगत समितिको चयनको विषय एउटा बैठकमा विषय प्रवेश गरेको तर राष्ट्रियसभाको निर्वाचन सकिएपछि सहमतिबाट नभए प्रक्रियामा टुङ्ग्याइने जानकारी दिनुभयो ।

उहाँले संसदीय दलका नेता तथा अन्य पदका लागि अहिलेसम्म आफूसँग कसैले दाबी नगरेको बताउँदै प्रक्रियामा जाँदा स्वभावैले धेरै आकांक्षी देखिने भएकाले यसको छिट्टै टुंगो लगाइने बताउनुभयो ।

नेपाली काँग्रेस यो प्रदेशमा प्रमुख प्रतिपक्षी रहने हुनाले संसदीय दलको नेता नै विपक्षी दलको नेता हुने व्यवस्थाअनुसार काँग्रेसमा पनि धेरै आकांक्षीको चर्चा छ । यस प्रदेशमा काँग्रेसबाट संसदीय दलको नेताका लागि दाङका डिल्ली चौधरी, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, रुपन्देहीका अष्टभुजा पाठक लगायतको चर्चा छ ।

प्रदेश नं ५ को सरकार बनाउने स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले सरकार गठनबारे औपचारिक गृहकार्य शुरु नगरे पनि अर्को महिनाको पहिलो सातासम्म प्रदेश सरकार बनिसक्नेछ । यस प्रदेशबाट सरकारको नेतृत्व एमाले नेता शंकर पोखरेलले गर्ने चर्चा पनि त्यतिकै छ ।

नेकपा (एमाले)को यही माघ ३ गते बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत रुपमा नेता पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

नेकपा एमालेलाई मुख्य मन्त्री दिएपछि माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको छ । सभामुखका लागि रुकुमका पूर्ण घर्तिमगर, गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाका कुलप्रसाद केसीले कसरत गरिरहेका छन् । माओवादी केन्द्रले सभामुख लिएपछि एमालेबाट उपसभामुख हुने चर्चा छ ।
मन्त्रीका बन्ने दौडमा रहेका प्रदेशसभा सदस्यहरुमध्ये एमाले वैजनाथ चौधरीको नाम अग्रपंक्तिमा देखिएको छ । उहाँलाई मन्त्री बनाउँदा मधेश र थारू समुदायको समेत प्रतिनिधित्व हुने र यसअघि संविधानसभामा रहेर केन्द्रीय सांसदको जिम्मेवारी निर्वाह गरिसकेकाले पनि उहाँलाई मन्त्रीका बनाउन एमालेमा दबाब बढेको छ ।

यता रुपन्देहीबाट लिला गिरी र भोजप्रसाद श्रेष्ठ दुवैले मन्त्री बन्ने इच्छा देखाएर लाग्नुभएको छ । एमाले नेता श्रेष्ठले पार्टीले मूल्याङ्कन गरेर जस्तोसुकै जिम्मेवारी दिए पनि आफूले सकेसम्म निर्वाह गर्ने बताउनुहुन्छ । माओवादी केन्द्रबाट भने रुपन्देहीका दधिराम न्यौपाने पनि मन्त्री बन्ने दौडमा हुनुहुन्छ । पार्टी पोलिटब्यूरो सदस्य न्यौपाने सभामुख नपाए राम्रो मन्त्रालयका लागि पहल गरिरहनुभएको छ । मन्त्री हुने लाइनमा महिलामा माओवादी नेता दामा शर्मा, बाँकेबाट प्रत्यक्षमा चुनाव जितेकी कृष्ण केसीको पनि दाबेदारी छ । सभामुख नपाएको अवस्थामा गुल्मीका सुदर्शन बराल, प्यूठानका कृष्णध्वज खड्का र रोल्पाबाट निर्वाचित कुलप्रसाद केसी पनि मन्त्री बन्ने चर्चामा हुनुहुन्छ ।

माओवादी केन्द्रका नेता न्यौपानेले अहिले पदमा पुग्नका लागि चाहना हुनु स्वाभाविकै भएको बताउँदै अहिलेसम्म कुनै पनि पदका लागि कसैको पनि टुंगो लागि नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाको भोलि मतदानपछि मात्र औपचारिक छलफल गरी टुङ्ग्याउँछौँ ।”

कानूनतः सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्नेछ । प्रदेश नं ५ ले नौभन्दा नबढ्ने गरी मन्त्रिमण्डल बनाउने तयारीमा एमाले माओवादी गठबन्धनमा रहेका छन् । सरकारमा जाने तयारी गरेको माओवादी केन्द्रले संसदीय दलको नेता र प्रमुख सचेतक छानिसकेको छैन । यसले गर्दा पनि मसिनो छलफल र गृहकार्य हुन नपाएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो । माओवादी केन्द्रले संसदीय दलको नेता चयनपछि दुवै पार्टीका संसदीय दलका नेताले आफूहरुसँग सरकार गठनका लागि बहुमत रहेकाले सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखलाई निवेदन दिने बताउँदै उहाँले भन्नुभयो, “भोलि बुधबारको राष्ट्रियसभाको निर्वाचनपछि सबै विषय अगाडि बढनेछ ।”

कानूनतः यस प्रदेशमा मुख्य मन्त्रीसहित सात मन्त्रालय रहने व्यवस्था छ । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन तथा वन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र कृषि तथा सहकारी मन्त्रालय छन् ।

संवैधानिक व्यवस्थाअनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रदेश प्रमुखले बहुमत प्राप्त दललाई सरकार गठनको आह्वानका लागि गर्न सक्ने व्यवस्था छ । प्रदेश प्रमुख सचिव सनतकुमार दवाडीले प्रदेश प्रमुखले सरकार गठनको आह्वान संवैधानिक व्यवस्थाभित्र रहेर निश्चित समयमै गर्न विभिन्न तहमा छलफल र परामर्शमा रहनुभएको बताउनुभयो ।
–––

राहत र पुनर्स्थापनामा राष्ट्रिय एकताका साथ अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहरी क्षेत्रको पूर्वाधार विकासमा देखिएको समस्याका कारण नै काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै अब यसमा ध्यान दिनुपर्ने बेला आएको बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र काठमाडौंको खल्खु, ललितपुरको नक्खु र भक्तपुरको हनुमन्तेखोला तथा आसपासको क्षेत्रमा भएको क्षतिको स्थलगत अवलोकन गरेपछि स्थानीयबासीलाई सम्बोधन गर्दै उहाँले प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको आफूले पाएको बताउनुभयो । यसअघि आजै अध्यक्ष प्रचण्डले काठमाडौंको बल्खुबाट स्वयंसेवक परिचालन अभियानको उद्घाटन पनि गर्नुभएको थियो । हनुमन्तेखोलाले क्षति पुर्याएको क्षेत्रमा करिब एक किलोमिटर पैदल यात्रा गरेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हनुमन्तेखोलाको करिडोरमा पर्खाल नबन्नु नै यस क्षेत्रको क्षतिको मुख्य कारण देखियो, जसका कारण सयौं किसानले लगाएको करोडौंको तरकारीमा क्षति पुगेको छ ।’ यो सडकमा बजेट अभाव नभई कानुनी अड्चनका कारण तटबन्धसहितको पर्खाल बन्न नसकेको स्थानीय जनप्रतिनिधिबाट जानकारी पाएको उल्लेख गर्दै उहाँले निर्माणाधीन संरचनालाई पूर्णता नदिंदा सुविधाबाट वञ्चित हुने मात्रै होइन, प्रकोपको क्षति पनि बढ्ने यसले देखाएको बताउनुभयो । ललितपुरको नख्खुखोलामा पनि निर्माणाधीन करिडोर नै क्षतिको कारक देखिएको उल्लेख गर्दै उहाँले अन्य स्थानमा पनि कतै ढल निकास नहुनु त कतै पूर्वाधार निर्माण सम्पन्न नहुनुले काठमाडौं उपत्यकामा क्षति बढेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो योजनाहरु खासगरी कानुनी समस्या देखिएका संरचनाको समस्या स्थानीय तह र प्रदेश सरकारले मात्रै समाधान गर्न नसक्ने भएकाले संघीय सरकारले नै पहल लिएर समस्या समाधान गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो । यो समस्या समाधानका लागि आफूले पार्टी अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सहयो गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । पछिल्लो विपतका कारण क्षति बढ्नुको एउटा कारण सरकारको प्रतिकार्य तयारीको अभाव रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘मौसमविद्हरुले पूर्वाअनुमान गरिरहेका थिए, मैले पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले असोज ९ गते नै सरकारको ध्यानाकर्षण गराएको थिए तर सरकारले गम्भीरतापूर्वक ध्यान दिएन ।’ यो पीडाको बेलामा सबै मिलेर जनताको घाउमा मलम लगाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म सरकारलाई गाली गर्न त चाहन्न तर अब बाँकी राहत, पुनस्र्थापनार  पुननिर्माणको काम युद्धस्तरमा अघि बढाइनुपर्छ । सरकारले गर्ने राम्रो कामको पक्षमा हामी सहयोग गर्न तयार छौं तर जनताको गुनासो लामो समयसम्म रहे खबरदारी पनि गर्न सुरु गर्ने छौं ।’ २०७२ को भूकम्पमा आफू प्रतिपक्षी दलको नेता हुँदा पनि सत्तापक्षकै भूमिकामा रहेर पुनर्निर्माण र संविधान निर्माणको नेतृत्व गरेको स्मरण गराउँदै उहाँले यसपटक प्रतिकार्यको काम पनि राम्रोसँग नगरेको र सर्वदलीय बैठक बोलाउनसमेत ढिलाई गरेपछि आफूले प्रतिपक्षी दलको नेताको हैसियतले बैठक बोलाएको तर पछि सरकारले बैठक बोलाएपछि आफूले बोलाएको बैठक स्थगित गरेर आफ्नो पार्टीका प्रतिनिधि सोही बैठकमा पठाएको जानकारी दिनुभयो ।

जनगणतन्त्र चीनको स्थापना दिवसमा अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत शुभकामना दिनुभएको हो ।  ‘जनवादी गणतन्त्र चीन स्थापनाको ७५ औं वार्षिकोत्सवको शुभ अवसरमा म महामहिम राष्ट्रपति सी जिनपिङ, चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनतालाई निरन्तर सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रा दुई देश र पार्टीहरूबीचको मित्रताको सम्बन्ध आगामी वर्षहरूमा अझ बलियो हुनेमा म विश्वस्त छु।

बाढीपहिरो अपडेटः २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाको मृत्यु भएको छ । विपदमा परि २८ जना बेपत्ता छन् । प्राकृतिक विपदमा १४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । विपदमा परि काभ्रेमा सबैभन्दा बढीको मृत्यु भएको छ । काभ्रेमा ६५ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ३९, धादिङमा ३९, ललितपुरमा १७, सिन्धुपाल्चोकमा १०, दोलखामा र मकवानपुरमा ७–७, पाँचथरमा ६, भक्तपुर र सोलुखुम्बुमा ५–५, झापा, धनकुटा, महोत्तरी, रौतहट, सिन्धुली र रुपन्देशीमा २–२ तथा उदयपुर, इलाम, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जना गरी २१७ जनाको ज्यान गएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए । उनले अहिलेसम्म ४ हजार ३३१ जनाको उद्धार गरिएको बताए । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी,मधेश र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही ठाउँ, वाग्मती र गण्डकी प्रदेशका पहाडी ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी ३ दिनको मौसम पूर्वानुमान २०८१ असोज १५ गते (मंगलबार) दिउँसोː कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिː कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १६ गते (बुधबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र वाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । २०८१ असोज १७ गते (बिहीबार) दिउँसोː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति ː कोशी प्रदेश,मधेश प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लोकप्रिय