सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।
सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका हुन् ।
“सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।”
हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध बताए ।
तपाईंहरूले आफूलाई प्राप्त सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमान्दारीता एवं व्यावसायिकताका साथ सम्पादन गरिरहेकामा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले भने, “सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्व सङ्कलनमा पुर्याउनुभएको योगदान, महत्त्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु ।”
देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्जाका करिब छ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ । साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।” उनले आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
प्रधानमन्त्री प्रचण्डले संगठनमा आवद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारले उच्च प्राथमिकतामा दिने बताए । उनले वार्षिकोत्सवका अवसरमा एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड, एपिएफ विशेष सम्मान तथा उत्कृष्ट बाहिनी रनिङ्ग ट्रफीबाट सम्मानित हुने व्यक्ति एवं इकाइप्रति हार्दिक बधाइ ज्ञापन गरे ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।