सहकारी पीडितको रकम ठगेको समूहले नै फिर्ता गर्नुपर्छ : आरजु राणा
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् ।
आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताएकी हुन् ।
सभापति राणाले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् । उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताइन् ।
उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने भन्दै समस्या समाधानका लागि नीतिगत सुधार गर्न प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन् ।
सभापति राणाले प्रधानमन्त्री तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताइन् । उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताइन् ।
राणाले भने,‘ सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ ।’
उनले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाइले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताइन् । जुन सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरित रहेको उनले बताइन् । उनले २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताइन् ।
नायणगढ-मुग्लिन सडक दुर्घटना : मृतक पाँचै जनाको सनाखत
नारायणगढ। नारायणगढ–मुग्लिन सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा गोर्खा आरुघाटका राजबहादुर गुरुङ, विद्युतीय सवारी साधनका चालक चितवन खैरहनीका अनोज अधिकारी, नवलपरासी विनयत्रिवेणीका सन्तोष भुषाल, सविना भुषाल र भारत घर भएर पोखरा बस्ने कुमार साह हुनुहुन्छ। भरतपुर महानगर पालिका वडा नम्बर २९ सत्र किलोमा शुक्रबार बिहान विद्युतीय गाडी र बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।
टेनिस खेलाडी सेलिशाको निधन
काठमाडौँ। नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ। टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबल टेनिस च्याम्पियन्सीप र सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा खेल्नुभएको थियो। उहाँले सन् २००९ मा भारतको जयपुरमा भएको ओएजिसी दक्षिण एसियाली जुनियर टेबल टेनिस च्याम्पियन्सीपमा सेलिशाले नेपाललाई काश्य पदक दिलाउनुभएको थियो। अखिल नेपाल टेबल टेनिस संघले सेलिशाको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता पनि आयोजना गरेको थियो। सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो।
सुर्खेतमा फोर्स गाडी दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु, २५ घाइते
काठमाडौं । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्य भएको छ । शुक्रबार अपराह्न सुर्खेतको वीरेन्द्र नगरपालिका–१४ स्थित रातानाङ्लामा भएको दुर्घटनामा घटनास्थलमै उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य २५ जना घाइते भएका छन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
नारायणगढ–मुग्लिन सडकमा सवारी दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आज बिहान भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएको थियो । माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको भरतपुर अस्पताल र तीनजनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस