साइबर सुरक्षा सरकारको प्राथमिकतामा : मन्त्री शर्मा
प्यूठान, २६ असोज । सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा सरकारको प्राथमिकता रहेको बताइन् ।
राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतना सम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले पनि यो सरकारको प्राथमिकतामा राखिएको बताएकी हुन् ।
उनले साइबर स्पेसलाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको बिधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिइन् । सूचना प्रविधिको क्षेत्र क्षणक्षणमा परिवर्तन भए पनि यसलाई व्यवस्थापन गर्ने कानुन नभएकाले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।चाडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने उनले जानकारी दिइन् ।
साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँगाउँमा लैजानुपर्ने बताइन् । साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माले बताइन् ।
सूचना प्रविधि आयार्जनको महत्त्वपूर्ण आधारको रुपमा स्थापित हुँदै गएको औल्याउँदै उनले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्व वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट गरिन् । सूचना प्रविधिलाई समृद्धिको आधार बनाउन नेपाल सरकारले यससम्बन्धी व्यवसायिक तालिममा जोड दिन थालेको उल्लेख गर्दै मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरि छोटो अवधिका तालिम सन्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिइन् ।
सूचना प्रविधि सिमानाबिहीन हुने भएकाले यसले भूपरिवेष्टित मान्यता पनि तोडेको र देशभित्रै बसेर वैदेशिक मुद्रा आर्जन गर्न सकिने भएकाले नेपालका लागि यसको ठूलो सम्भावना रहेको बताइन् । उनले भनिन् ‘सूचना प्रविधिको राम्रो जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न सकिने छ ।’
नेपालमा सूचना प्रविधिको क्षेत्रमा कृयाशील कम्पनी र कार्यरत जनशक्तिको सरकारी तवरबाट अध्ययन नभएकाले यसमा सहयोग पुग्ने गरी डिजिटल च्याम्पियन र आइसिटी एक्जिविसनजस्ता कार्यक्रम पनि गर्न थालिएको मन्त्री शर्माले जानकारी दिइन्।
राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको सम्मेलनमा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामणी बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी र नेपाल टेलिकमका इन्जिनियर आशिष ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका प्रमुख रेशम गिरीले स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।
अब के हुन्छ मनाङेको सांसद पद ?
काठमाडौं । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ । दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि मंगलबार न्यायालयले अन्तिम फैसला गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सर्वोच्चबाट लिखित फैसला भने जारी हुन बाँकी छ । फैसलामा लेखिने बेहोराले मनाङेको सांसद पद के हुन्छ भन्ने तय गर्नेछ । प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा प्रदेशसभा सदस्यको अयोग्यतासम्बन्धी १० वटा प्रावधान छन् । त्यसमध्ये उपदफा (घ) को व्यवस्था मनाङेका हकमा लागू हुने देखिन्छ । उपदफा (घ) मा ‘भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति प्रदेशसभा सदस्य हुन नसक्ने उल्लेख छ ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
एकीकृत समाजवादीमा एक पद एक व्यक्ति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।