सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम

सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम

काठमाडौं, असार २८ । अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ ।

संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ ।

संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ ।

“नेपालको शिक्षा क्षेत्रको प्राविधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी देशको निम्न मध्यम वर्गीय जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो । तर बिडम्बनाको कुरा, राज्यले नै शिक्षाको दायित्व ग्रहण गर्नुको साटो शिक्षालाई व्यापारिक वस्तु झै बनाएकोले संस्था र राज्यमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केहि भ्रष्ट ब्यक्तिहरु र शैक्षिक माफियाका कारण यो संस्था सधैं अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको कुरा दुःखद छ ।

सिटिइभीटीको पारदर्शिता, प्राविधिक जनशक्ति उत्पादनमा प्रभावकारी भूमिकाको बढोत्तरी, निम्न मध्यम वर्गका जनताको पहुंचमा सिटिइभीटी हुनुपर्ने लगायत समग्र शैक्षिक प्रणालीको रुपान्तरणका निम्ति संघर्षरत हाम्रो संगठन अखिल (क्रान्तिकारी)द्वारा तपशिलका विषयहरुमा यो मागपत्र पेश गरिएकोछ ।

यी मागहरुको सुनुवाइको निम्ति १० दिनको समयावधी उपलब्ध गराउदछौं । अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउँदछौं” मागपत्रमा भनिएको छ ।

यी हुन् क्रान्तिकारीका ५ बुँदे माग

१) शिक्षा मन्त्रालयले गठन गरेको ‘शूल्क निर्धारण तथा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउन गरेको नियोजित प्रस्तावप्रति खेद प्रकट गर्दछौं । साथै शुल्क वृद्धि रोक्न जोडदार माग गर्दछौं । शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड अवलम्वन गरि लागु गरियोस ।

२) हाल प्रदान गरिएका विभिन्न कार्यक्रम अन्तर्गतका १० प्रतिशत छात्रवृत्ति कोटा लक्षित वर्गका विद्यार्थीको पहुँचमा पुग्न नसक्नुका साथै अपर्याप्त भएकोले उक्त छात्रवृत्ति कोटामा पारदर्शी प्रक्रिया अपनाइयोस् । साथै छात्रवृत्ति कोटा २० प्रतिशत पु¥याउन जोडदार माग गर्दर्छौ ।

३) हालको परीक्षा प्रणालीले मौका परीक्षाको व्यवस्था नगरेको हुँदा हजारौं विद्यार्थी एक वर्षसम्म परीक्षाको लागि पर्खिनुपर्ने र यसबाट विद्यार्थीलाई व्ययभार पर्ने र समय खेर जाने भएका कारण विद्यार्थी मर्कामा पर्ने भएकाले अनिवार्य रुपमा मौका परीक्षाको व्यवस्था गरी तुरुन्तै लागू गरियोस् ।

४) मापदण्ड अनुसार आवश्यक पूर्वाधार लगायतका प्रक्रिया पूरा नगरेका शैक्षिक संस्थाहरुलाई पहुँचका आधारमा, प्रलोभनमा परेर सम्बन्धन दिन खोजिएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो गरिएमा कडा संघर्षमा उत्रिन वाध्य हुनेछौं ।

५) मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन , नियमन र कार्वाही गर्न माग गर्दछौं ।

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि आह्वान गरेको हो । आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।

शर्माको स्मृतिमा श्रद्धाञ्जलीसभा

दाङ । दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको सातौं दिनको पुण्यतिथि पारेर जिल्लाका आठ बढी साहित्यिक संस्थाहरुले संयुक्त रुपमा घोराही–१८ मसिनामा श्रद्धाञ्जलीसभा गरेका छन्। राप्ती साहित्य परिषद् केन्द्र तथा जिल्ला समिति, सर्वोदय पुस्तकालय तथा वाचनालय, प्रगतिशील लेखक संघ, लेखक संघ, नेपाली लेखक संघ, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा र सिस्नोपानी नेपाल दाङ शाखालगायतका संस्थाहरुले दिवंगत शर्माप्रति श्रद्धाञ्जली दिन कार्यक्रम आयोजना गरेका हुन् । राप्ती साहित्य परिषद् केन्द्रीय समितिका अध्यक्ष टीकाराम उदासीको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने सबैजसो वक्ताहरुले स्वर्गीय गिरिराज शर्माको व्यक्तित्व, कृतित्व तथा उहाँसँगका व्यक्तिगत अनुभूति सुनाएका थिए । श्रद्धाञ्जलीसभामा गिरिराज शर्मासँगको २०१० सालदेखिको सामिप्यताबारे बोल्दै प्रमुख अतिथि शर्माले सरल र सबैसँग मिल्ने स्वभाव, सिर्जनशीलता तथा चोखो मनका धनीजस्ता उहाँका राम्रा कुराको अनुसरण गर्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्नुभयो । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल, परिवारका तर्फबाट छोरी रेखा शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका कार्यवाहक अध्यक्ष चन्द्रराज पन्त, प्रगतिशील लेखक संघ केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, सञ्चारकर्मीका तर्फबाट प्रेस काउन्सिल सदस्य शरद अधिकारी, राप्ती साहित्य परिषद् जिल्ला अध्यक्ष यम रेग्मी, लेखक संघका जिल्ला अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपालका जिल्ला अध्यक्ष लोकराज पराजुलीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । सभाको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटाले गर्नुभएको थियो ।

दशैंका लागि टिकट बुकिङ आगामी शनिवारदेखि

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको टिकट बुकिङ शनिबारबाट खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूको उपस्थितिमा भएको छलफलले टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । यात्रुवाहक सवारीसाधनका लागि घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिएको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार अग्रिम टिकट अनलाइनबाट समेत बुक गर्न मिल्ने व्यवस्था व्यवसायीले मिलाउनेछन् । सकेसम्म टिकट बुकिङ अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने र काउन्टरमा जाने यात्रुले पोसाक र परिचयपत्र लगाएका आधिकारिक कर्मचारीसँग मात्र टिकट लिने व्यवस्था मिलाउन भनिएको उहाँले जानकारी दिनुभयो । यातायात व्यवसायीका अनुसार दसैंका बेला उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गर्छन् । उपत्यकाबाट बाहिरिने सवारीको चाप बढ्ने हुनाले खाद्यान्नलगायत अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेकका ट्रेलर र ठूला सवारीसाधनलाई नारायणगढ हुँदै काठमाडौंसम्म आउन घटस्थापनादेखि कात्तिक १ सम्म रोक लगाउने निर्णय भएको छ ।  

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको संभावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। नेपालमा अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ।  जसको प्रभावस्वरुप अहिले काठमाडौँ उपत्यकामा पनि मौसम बदली छ। आकाशमा बादल लागेको छ भने उपत्यकाका केही ठाउँमा सिमसिम वर्षासमेत भैरहेको छ।  यतिबेला (बुधबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो पनि देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  कोसी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा राति हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। कस्तो होला बिहीबार र शुक्रबारको मौसम?  २०८१ असोज १० गते बिहीबार दिउँसोː देशभर साधारण बदलीदेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बाग्मती, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, मधेस र लुम्बिनी प्रदेशका  केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। २०८१ असोज ११ गते शुक्रबार दिउँसोː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस र बाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ। रातिː देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोसी र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।  

लोकप्रिय