सिरहामा चुनावी अभियान तीव्र

सिरहामा चुनावी अभियान तीव्र

लहान, भदौ २० । तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएकोे छ ।

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राजपालगायत दल अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन्।

संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले सिरहाका लहान, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासहित बरियारपट्टी, औरही गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको नाम टुंग्याउन सकेको छैन । उक्त दलका जिल्ला सभापति रामचन्द्र यादवले उम्मेदवार तय गर्न बाँकी रहेको स्थानीय तहमा छिट्टै उम्मेदवारको नाम टुंग्याउने बताउनुभयो ।

काँग्रेसले तय गरेका अन्य नगरपालिका र गाउँपालिकाका उम्मेदवारले घरदैलो र मतदातासँग भेटघाट व्यस्त छन् भने प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष तय गर्न बाँकी रहेको नगरपालिका र गाउँपालिकामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले मुख्य पदका आकांक्षीसँगै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन् ।

काँग्रेसले जिल्लाका मुख्य शहर तथा ग्रामीण भेगमा पार्टीको चुनाव चिह्नअंकित झण्डा र तुल राखेका छन् । एमालेको २ नं प्रदेश कमिटीले गत जेठ १४ गते जिल्लाका १७ वटै स्थानीय तहका उम्मेदवारको नाम टुंग्याएको थियो । एमालेका तर्फबाट सिरहाका स्थानीय तहमा तय भएका उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अहिले घरदैलो अभियानसँगै प्रचारप्रसारमा व्यस्त भएका छन् ।

एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिह्नअंकित झण्डा, ब्यानर छ्याप्छ्याप्ती बनाएको छ । माओवादीले पनि जिल्लाका केही स्थानीय तहबाहेक अधिकांशमा आफ्नो उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसारमा जुटेको छ । पार्टीका तर्फबाट उम्मेदवार भएकाहरुसँगै नेता कार्यकर्ता जिल्लाभरि नै घरदैलो र जनतासँग भेटघाटमा व्यस्त रहेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले बताउनुभयो ।

माओवादी केन्द्रका उम्मेदवारले पनि जुलुससहित मतदाता भेटघाट, घरदैलो अभियानसंगै चुनावी सभालाई तीव्र बनाएका छन् । धनगढीमाई नगरपालिकामा प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङसहित माओवादी नेता कार्यकर्ताको घरदैलो अभियानमा नगरका सबै वडामा पुगिसकेको माओवादी केन्द्र चुनाव प्रचारप्रचार समितिले जनाएको छ ।

माओवादी केन्द्रले मिर्चैया, कर्जन्हासहित अन्य नगरपालिका र गाउँपालिकामा अन्तिम चरणको घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताउनुभयो ।

समाजवादी फोरमले पनि सबै स्थानीय तहका प्रमुख, उपप्रमुख पदमा उम्मेदवार तय गरेर प्रचारप्रसारलाई तीव्रता दिएको छ । पार्टीका तर्फबाट उम्मेदवार भएका व्यक्ति नारा जुलुससहित चुनावी तयारीमा जुटेको केन्द्रीय सदस्य सत्यनरायण यादवले जानकारी दिनुभयो ।

यस्तै नेपाल लोकतान्त्रिक फोरमले पनि स्थानीय तहमा आफ्नो पकड बनाउन घरदैलो र चुनावी अभियानलाई तीव्र गतिमा अगाडि बढाएको छ । पार्टीका पक्षमा वातावरण बनाउन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यसले पार्टीको पक्षमा ठूलो वातावरण बनेको सो पार्टीका नेता कार्यकर्ताले बताएका छन् ।

राप्रपा र राजपा पनि प्रचारमा तेस्रो चरणको निर्वाचनमा पार्टीलाई स्थापित गराउन र आफ्नो पक्षमा चुनावी वातावरण बनाउन गाउँगाउँ पुग्न थालेका छन् । राप्रपाका तर्फबाट लहान नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछिको स्थानीय निर्वाचनमा लहानमा प्रमुख जितेका लगनलाल चौधरीलाई यस पटक पनि नगरप्रमुख पदमा उठाउने तयारीका साथ प्रचारप्रसार भइरहेको छ ।

नवगठित राजपा पनि चुनाव प्रचार अभियानमा जुटेको छ । औपचारिक रुपमा उम्मेदवार तय गर्न नसकेको राजपाले पनि कार्यकर्तालाई चुनाव प्रचारमा खटाएको छ । कुल आठ नगरपालिका र नौ गाउँपालिका तहका १६४ वटा वडा रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सिरहामा ४२६ वटा मतदान केन्द्र र २२१ मतदानस्थल छन् ।

विपक्षी दलको पत्रकार सम्मेलन, यस्तो छ संयुक्त वक्तव्य (पूर्णपाठसहित)

काठमाडौं । प्रतिपक्ष ल र सरकारमा रहेका सात राजनीतिक दलले संयुक्त वक्तव्य जारी गरेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तव्यमा अध्यादेश, विद्युत् महसुल उठाउन ढिलाइ, संसद् छल्नेलगायत सरकारका कामप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वक्तव्यमा भनिएको छ, ‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ । सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद् छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै सङ्कट ल्याउने हाम्रो ठहर छ । तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसद्‌को मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसद्‌को हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौँ । सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिँदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा सङ्घर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ ।’ विगतमा अघि बढाइएका गिरीबन्धु टी(स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गा लगायतका भ्रष्टाचारका फाइलहरू सरकारले बन्द गरेको सात दलको आरोप छ ।

आज विपक्षी दलहरुको बैठक, लगत्तै संयुक्त पत्रकार सम्मेलन

काठमाडौं ।  विपक्षी दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यालय नयाँ बानेश्वरमा बस्ने भएको हो ।  बैठकपछि विपक्षी दलले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्ने छ ।  दिउसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्न लागिएको हो ।  यसअघि बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक बसेको थियो ।  यो बैठकले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने र संसद् बैठक आह्वानको लागि दबाब दिने निर्णय गरेको थियो । 

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´  उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले भन्नुभयो- `तपाइहरु जो नदीको तीरमा बसेर डुङ्गगा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरुको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।´ चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गर्नुभएको थियो । बोटे समुदायका अगुवाहरुले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बोटे समुदायको राजधानीको रुपमा चिनिने यो गाउँमा पुगेर उहाँले बोटे संस्कृतिसँग साक्षत्कार गर्नुभएको थियो ।

बेचन झालाई छाड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा विचौलियाको भूमिका निर्वाह गरेर हाल जेल जीवन बिताइरहेका बेचन झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो । झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो । बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

लोकप्रिय