सिरियामा अमेरिका, फ्रान्स र बेलायतको आक्रमण, कसले के भने ?

सिरियामा अमेरिका, फ्रान्स र बेलायतको आक्रमण, कसले के भने ?

काठमाडाैं । यो हमला झण्डै एक वर्षअघि सिरियाको हवाई अड्डामा अमेरिकी हमला भन्दा उल्लेखनीय थियो तर प्रारम्भिक रुपमा हेर्दा राष्ट्रपति ट्रम्पको भनाइ भन्दा हमला निकै सीमित छ।

गत वर्ष ५९ वटा क्षेप्यास्त्र प्रहार गरिएका थिए। यसपटक करिब दोब्बर संख्यामा क्षेप्यास्त्रहरू प्रयोग भएका छन्।

हालका लागि हमलाको क्रम रोकिएको छ। तर यदि असद सत्ता पुन: रासायनिक हमलामा उत्रिएमा अरु हमलाले निरन्तरता पाउने छन्।

अमेरिकी भनाइमा सिरियाली सर्वसाधारण र रुसीहरु नपरुन भनेर सावधानी अपनाइएको छ।

तर मौलिक प्रश्न कायम नै छ कि के सिरियाली राष्ट्रपति असद विचलित हुनेछन्?

गत वर्षको हवाई आक्रमणले उनको आचरणमा कुनै परिवर्तन ल्याउन सकेन। के यसपटक केही फरक हुनेछ?

सिरिया हमला ‘कानुनी रुपमा प्रश्न उठाउन सकिने खालको’ : ब्रिटिश विपक्षी नेता

ब्रिटेनका विपक्षी नेता जेरेमी कोर्बिनले सिरियाविरुद्ध हमला गर्ने निर्णय ‘कानुनी रुपमा प्रश्न गर्न सकिने कदम’ भएको बताएका छन्।

उनले प्रधानमन्त्री टरिजा मेले वासिङ्टनबाट निर्देशन लिनुको सट्टा संसदबाट स्वीकृति खोजेको भए हुने बताएका हुन्।

हवाई हमलामा ब्रिटेनको संलग्नता के थियो?

ब्रिटेनका चार वटा ‘टोर्नेडो’ जेटहरू एकाबिहानै साईप्रस आरएएफ अक्रोटीरीबाट उडे।

प्रत्येक जेटमा एक-एकवटा ‘स्ट्रोम स्याडो’ क्षेप्यास्त्रहरु रहेका थिए।

क्रूज क्षेप्यास्त्र ५ मिटर (१६ फिट) लामो रहेको छ र तीन सय माइल(४८० किलोमिटर) सम्म प्रहार गर्न सक्छ।

जीपीएसको माध्यमबाट तिनिहरुले आफ्नो निसानामा हान्न सक्ने गरि मिलाइएको थियो।

चार जेटहरूले निकै टाढादेखि सिरियाको हवाई अखडामा प्रहार गरे र सुरक्षित रुपमा फर्किए।

रक्षामन्त्री गेभिन विलियम्सनका अनुसार उक्त हमलामा ब्रिटेनको भूमिका सानो देखिन सक्छ तर यो संयुक्त प्रयासले राष्ट्रपति असदलाई स्पष्ट सन्देश दिएको छ।

सैन्य हमलाहरु अपराध हो: इरानी सर्वोच्च नेता

इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले सिरियामा पश्चिमाहरूको हमला अपराध भएको र त्यसबाट कुनै उपलब्धि हासिल नहुने बताएका छन्।

उनले भने, “अमेरिकाका साझेदारहरूले केही उपलब्धि हासिल गर्ने छैनन्। सिरियामा भएको आक्रमण अपराध हो”।

इरानी टेलिभिजनद्वारा उद्धृत उनको भनाइमा “अमेरिकी राष्ट्रपति, ब्रिटेनकी प्रधानमन्त्री र फ्रान्सका राष्ट्रपति अपराधी हुन्।”

इरान राष्ट्रपति बशर अल-असदको बलियो समर्थक हो।

उसले सिरियाली सरकारलाई मद्दत गर्न आफ्ना फौजहरू परिचालन गरेको छ र अर्बौं डलर खर्च गरेको ठानिएको छ।

टर्कीले स्वागत गर्दै भन्यो, ‘उपयुक्त’ हवाई हमला’

टर्कीको विदेश मन्त्रालयले एउटा विज्ञप्तिमार्फत् राष्ट्रपति बशर अल असदको शासनविरुद्ध गरिएको हवाई आक्रमणलाई ‘उपयुक्त प्रतिक्रिया’भन्दै त्यसको स्वागत गरेको छ।

गत साता डुमामा सिरियाली पक्षले गरेको भनिएको रासायनिक अस्त्रको प्रसङ्ग उल्लेख गर्दै टर्कीले ब्रिटेन, अमेरिका र फ्रान्सले चालेको कदमले “मानवीय चेतनालाई सहज” तुल्याएको टिप्पणी गरेको छ।

अंकाराका दृष्टिमा डुमामा सर्वसाधारणविरुद्ध भएको आक्रमण “मानवताविरुद्धको अपराध” सरह थियो र त्यसलाई दण्डित गर्नै पर्छ भन्ने उनको अडान छ।

सिरिया सरकारले उक्त घटनालाई बढाइचढाइ गरिएको दाबी गरेको छ। उसको साझेदार रुसले भने त्यो घटनामा ब्रिटेनको पनि संलग्नता भएको आरोप लगाएको छ।

टर्कीले सिरियाली सरकारविरुद्ध लडिरहेका विद्रोहीहरूलाई सघाएको छ। तर उसले उत्तरी सिरियामा रहेका कुर्द फौजविरुद्ध पनि सैन्य कारबाही सुरु गरेको छ।

उत्तरी सिरियामा हवाई आक्रमण गर्नका लागि टर्कीले रुससँग एउटा सहमति गरेको बताइएको छ।

सिरियाका कुन-कुन स्थानमा हवाई आक्रमण भए?

ब्रिटिश विदेशमन्त्रीद्वारा स्वागत

ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सिरियाविरूद्धको कारबाहीमा ब्रिटेन संलग्न भएकोमा स्वागत गरेका छन्।

उनले भने, “रासायनिक अस्त्रको जस्तोसुकै प्रयोगविरूद्ध उत्रिन विश्व एकताबद्ध छ, खासगरी सर्वसाधारणविरूद्ध प्रयोग गरिँदा।”

इरानद्वारा समर्थित लेबननी लडाकु समूह हिज्बुल्लाहले हमलाको निन्दा गरेको छ।

उसका हजारौँ लडाकुहरूले सिरियाली युद्धमा त्यहाँको सेनालाई सघाउँदै आएको छ।

हिज्बुल्लाहले एउटा वक्तव्यमा भनेको छ, “अमेरिकाले जुन युद्ध सिरिया, त्यस क्षेत्रका जनता, प्रतिरोध र मुक्ति आन्दोलनविरूद्ध गरिरहेको छ त्यसले आफ्नो उद्देश्य पुष्टि गर्नेछैन।”

रुसी अखडाहरू ‘अछुतो’

अमेरिकी नेतृत्वको हमलाले सिरियास्थित रुसी नौसैनिक र हवाई अखडा नजिकको क्षेत्रहरूलाई निशाना नबनाएको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

सिरियाली राष्ट्रपति बशर अल असदको समर्थनमा रुसी सेनाले सन् २०१५ मा हवाई आक्रमण शुरू गरेको थियो जुन असदको पक्षमा युद्ध पार्नका लागि महत्त्वपूर्ण साबित भयो।

युरोपेली परिषद्‌का अध्यक्ष डोनल्ड टुस्कले शनिबार बिहान ट्वीटरमार्फत सिरियामा पश्चिमा शक्तिहरूले गरेको हवाई हमलाबारे प्रतिक्रिया जनाएका छन्।

उनले भनेका छन्, “अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको हमलाले स्पष्ट पारेको छ कि सिरियाली सत्ता रुस र इरानसँग मिलेर अब यो मानवीय विपद्‌लाई निरन्तरता दिन सक्दैन, कम्तीमा कुनै मूल्य नचुकाइ।”

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रमध्ये तीन मुलुक अमेरिका, ब्रिटेन र फ्रान्सले आक्रमण गरेका विवरणहरूलाई नियालिरहेको बताएका छन्।

उनले ‘राष्ट्रसंघीय बडापत्र तथा सामान्य अन्तर्राष्ट्रिय कानून अनुसार कदम चाल्न’ उनीहरू जिम्मेवार रहेको बताए।

गुटेरसले थपे, “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी हो। म परिषद्का सबै सदस्य राष्ट्रहरूलाई एकढिक्का हुन र जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दछु।”

“म सबै सदस्य राष्ट्रहरूलाई यो खतरनाक स्थितिमा संयम अपनाउन र त्यहाँको स्थिति तथा सिरियाली जनताको पीडालाई झन् बिगार्न सक्ने अवस्था आउन नदिन आग्रह गर्दछु।” बीबीसी

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

काठमाडौं, १९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै उहाँले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो। पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले देशब्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने बताउनुभयो । पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उहाँले जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो । जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको बताउनुभयो ।   सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो वर्ष दसैं तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताको साथमा रहेर जनताको पक्षमा आन्दोलनको नेतृत्व गर्नु भएको बताउनुभयो । जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पको बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयनको बेलामा सत्तापक्ष र बिपक्षको आँखाले नहेरी पुनर्निर्माण, संविधान निर्माण र कार्यान्वयनको कुशलतापूर्वक नेतृत्व गरेकाले पनि माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनताको विश्वास रहेको बताउनुभयो । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो । पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उहाँले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको बताउनुभयो । देशभित्र मात्र होइन, इटलीको खाद्य सम्मेलन, संयुक्त राष्टसंघको महासभा र कोप २८ सम्म सरकारको नेतृत्वको रुपमा माओवादी केन्द्रको नेतृत्व गरेको कुशल नेतृत्व तथा भारत र चीनसँग निर्वाचन गरेको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायसामु ऐतिहासिक रुपमा स्थापित भएको बताउनुभयो ।  कार्यक्रममा पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पार्टीको सिंगो केन्द्रीय समिति अध्यक्ष प्रचण्डको नेतृत्वमा गोलबन्द र एकताबद्ध रहेको उल्लेख गर्दै आगामी केन्द्रीय समितिको बैठकले संगठन निर्माण र जनपरिचालनका कार्यक्रम अघि सार्ने बताउनुभयो । उहाँले सबै दलका नेताहरुको विवेक र चेतनाको परीक्षण भएको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा अग्रगामी र परिवर्तनकारी भएकाले माओवादी केन्द्रका हरेक सदस्य मुलुक र जनताको हितमा गम्भीर हुनुपर्ने बताउनुभयो ।  

दाउन्नेमा एकतर्फी यातायात खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि  आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।  उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। 

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसैगरी देशको पूर्वी तथा मध्य भागमा बंगलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।  यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ।  देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि अहिले राम्ररी घाम लागेको छैन। आकाशमा बादल छ।  आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला आइतबार र सोमबारको मौसम? २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २१ गते सोमबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको हुँदा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय