सीमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

सीमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

काठमाडौँ । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

सिमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही चैत २३ गतेदेखि हुँदैछ । दुई देशबीचको खुला सीमा र सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तटबन्ध, सडक, निकुञ्ज र आरक्षजस्ता संरचनाका कारण सिमानाका नेपालीले समस्या भोग्नुपरेको उनीहरुको गुनासो छ ।

जीविकोपार्जनसँग प्रत्यक्ष रुपमा जोडिएका विषय तथा खाद्य अधिकारसमेत हनन हुने अवस्था उत्पन्न भएको जनाउँदै उनीहरुले सीमावर्ती क्षेत्रमा सिर्जित समस्या समाधानका निम्ति ठोस प्रयास गर्न तथा ती विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउन अनुरोध गरेका छन् ।

सीमावर्ती क्षेत्रमा निर्माण भएको महलीसागर, लक्ष्मणपुर, कलकलवा, रसियालखुर्दलोटन, कैलाशपुरी, कोइलाबास, लुना, खाँडो बाँध तथा तटबन्धका कारण वर्षायाममा नेपाली भूमि डुबानमा परेको र समस्या समाधानका लागि पटक पटक प्रयास भए पनि त्यसबाट कुनै निष्कर्ष ननिस्केको उनीहरुको दुःखेसो छ ।

नेपालमा वर्षेनी डुबान र कटानपटान भइरहेको तथा हरेक वर्षायाममा सीमावर्ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको यथार्थ सुनाउँदै स्थानीयवासीले डुबानका कारण खेतीयोग्य जमीन बगरमा परिणत भएको, बालीनाली नष्ट भएको तथा पशुचौपाया र धनमाल गुमाउँदै आएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्नैपर्ने माग उनीहरुको छ ।

राष्ट्रियसभाका सदस्य रामलखन हरिजनका अनुसार नेपालबाट बग्ने नदीको प्राकृतिक बहावमा अवरोधका कारण जनजीविकामा नै असर परेकाले लाखौँ नेपाली प्रभावित भएका छन् । वर्षायाममा सीमाक्षेत्रमा निर्माण गरिएका बाँधका ढोका बन्द गर्न नहुने, बाँधका कारण विस्थापित र जोखिममा परेका परिवारलाई क्षतिपूर्ति सहित सुरक्षित पुनःस्थापनाको व्यवस्था गरिनुपर्ने, लक्ष्मणपुर बाँधबाट प्रभावित खेतीयोग्य जमीनको कटान एवं गाउँ बस्ती डुबान र पटानबाट जोगाउन भारतसँग भएका सम्झौताबमोजिम राप्ती नदीको दुवै किनारामा पक्की तटबन्ध निर्माण गर्नुपर्ने, गण्डक नहरमा भारत सरकार र प्रभावित स्थानीयवासीबीच भएको २१ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने बाँध सरोकार मञ्चका अध्यक्षसमेत रहनुभएका हरिजनको आग्रह छ ।

झापाका हरि उप्रेती सीमावर्ती क्षेत्रका दुधुवा राष्ट्रिय निकुञ्ज र महानन्द राष्ट्रिय वन्यजन्तु आरक्षबाट आउने हात्ती, बाघलगायत जंगली जनावरले झापामा सबैभन्दा बढी प्रभाव पारेको बताउनुहुन्छ । उहाँका अनुसार झापाको बाहुनडाँगीमा मात्रै जंगली हात्तीका कारण १९ जनाको ज्यान गइसकेको छ । दुधुवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाका अनुसार कञ्चनपुरको पुनर्वास क्षेत्रमा मात्रै ११ नागरिकको वन्यजन्तुको आक्रमणमा परी ज्यान गएको छ । झापा, बर्दिया, कैलाली, कञ्चनपुर आदि जिल्लामा वर्षेनी मानवीय र भौतिक क्षति बढिरहेको छ । किसानले लगाएको अन्नबालीको क्षति ठूलो मात्रामा छ । जंंगली जनावरले खेतीबाली नष्ट गर्दा किसानलाई खेतबारी बाँझो नै राख्नुपर्ने बाध्यता छ ।

सीमा बचाऊ अभियानका अभियानकर्मी देवनारायण यादवका अनुसार सप्तरीको तिलाठी र बाँकेको हिरमिनियाका बासिन्दाले हरेक वर्ष नदी कटानका कारण समस्या भोग्दै आएका छन् । सीमावर्ती क्षेत्रमा करीब तीन मिटरदेखि सात मिटर उचाइ तथा ३० मिटर चौडाइको सडक निर्माण हुँदा वर्षामा बाढी तथा डुबानको समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि पहल गरिदिन यादवले परराष्ट्रमन्त्रीसँग आग्रह गर्नुभयो ।

लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति बाँकेका सचिव राजकुमार शुक्ला निर्माण भइरहेका संरचनाका कारण नदीको प्राकृतिक बहाव रोकिने गरेकाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सो विषयले प्राथमिता पाउनैपर्ने बताउनुहुन्छ । उहाँले नेपाल–भारतबीच रहेको विवादास्पद सीमांकनको तत्काल समाधान गरिनुपर्ने र नेपाली जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

भारतीय निकुञ्ज तथा आरक्षबाट आउने वन्यजन्तुबाट हुने क्षतिको दिगो रोकथामका लागि संरक्षणसम्बन्धी संरचना विद्युतीय तारबार र टे«न्चको व्यवस्थाका साथै निकुञ्ज तथा आरक्षभित्रै निर्माण गर्नुपर्ने दुधुवा निकुञ्ज वन्यजन्तु पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले परराष्ट्रमन्त्री ज्ञवालीलाई आग्रह थियो ।

वन्यजन्तु, बाढी तथा डुबानपीडितको समस्या समाधान गर्न सरकारले आन्तरिक रुपमा विशेष पहल तथा भारत सरकारसँग पनि निरन्तर कूटनीतिक संवाद जारी राख्नुपर्ने सुझाव नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य घनश्याम यादवको छ । “हामीले आन्तरिक रुपमा के कति गर्न सक्छौँ, त्यो पहिला गरौँ र भारत सरकारसँग सुल्झाउनुपर्ने विषयलाई कूटनीतिक तहबाट सुल्झाऔँ”, यादवले भन्नुभयो ।

एकीकृत राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले लामो समयदेखि विवादमा रहेको नेपाल–भारत सीमा क्षेत्रको व्यवस्थापनका लागि वर्तमान सरकारले विशेष पहल गरोस् भन्ने आफ्नो माग रहेको बताउनुभयो ।

भ्रमणमा सीमा समस्या उठाइने
परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यी विषयले प्राथमिकता पाउने र समस्या समाधानका लागि अधिकतम पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वभौससत्ताको रक्षाका लागि वर्तमान सरकार एक इञ्च पनि दायाँबायाँ गर्न सक्दैन । हामी सबै समस्यालाई क्रमशः समाधान गर्ने दिशामा नै छलफललाई केन्द्रित गर्छौं । आशा छ दुई देशबीचका समस्या समाधान हुन्छन् ।”

मन्त्री ज्ञवालीले स्थानीयवासीको मागसँग सरकार जानकार रहेको र समस्या समाधानमा नै ध्यान दिएको स्पष्ट पार्नुभयो । “मानवीय कारणबाट सिर्जित समस्या वार्ताका माध्यमबाट तथा प्राकृतिक रुपमा आएका समस्या आन्तरिक तथा बाह्य रुपमा नै समाधान गरिन्छ”, मन्त्री ज्ञवालीले भन्नुभयो । रासस

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

पूर्वसचिव उपाध्याय भन्छन्: प्रचण्ड बाहेक अरू शीर्ष नेता जनतामाझ जान डराए

  काठमाडौं । पूर्वसचिव भिम उपाध्यायले नेकपा(माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेकका नेताहरु बिपतको स्थलगत अवलोकन र अनुगमनमा जान डराएका हुन ? भनेर प्रश्न गरेका छन् । सामाजिक तथा राजनीतिक विषयमा सामाजिक संजालमार्फत धारणा राख्दै आएका उपाध्यायले आज सामाजिक संजालमा  लेख्दै विपतका बेला प्रचण्ड मात्रै फिल्डमा देखिएको टिप्पणी गरेका हुन् । उनले सामाजिक संजालमा लेखेको स्टाटस जस्ताको तस्तै यो बाढी पहिरोबाट भएको बिपतको स्थलगत अवलोकन र अनुगमनमा जाने शिर्ष नेताहरूमध्ये एक मात्र प्रचण्ड रहेको देखिन्छ। अरूलाई जनतासंग डर रहेको हो र? पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड डुबान, बाढी तथा पहिरो प्रभावित जनताको घरदैलोमा पुग्नुभएको थियो ।  गत साताको बाढी र पहिरोमा प्रभावित बनेका जनतालाई राहतका लागि उपाध्यायले समन्वय र सहयोग गर्दै आएका छन् । 

वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड

काठमाडौं, १८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित वस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताउनुभयो । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित वस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बाढी, पहिरो, डुबान, भूकम्पलगायत सबैखाले विपतबाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र वस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपत् व्यवस्थापन विभागको पहलमा विज्ञहरुले तयार पारेको प्रतिवेदन महत्वपूर्ण अध्ययन सामग्री हुने उल्लेख गर्दै उहाँले यसका आधारमा चाँडै सरकारलाई ज्ञापनपत्र दिने पनि जानकारी दिनुभयो । वैज्ञानिक वस्ती विकास र पूर्वाधार निर्माणसँगै विपत् व्यवस्थापनका लागि सन्दर्भमा पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्धरुपमा अघि बढ्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले उद्धार मात्र होइन, राहत र पुनर्स्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरु कसरी प्रभावकारीरुपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। माओवादी केन्द्रका विपत् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदी पथिकले पछिल्लोपटक बाढी पहिरोले प्रभावित गरेको क्षेत्रमा गएर विज्ञहरुसहितको टोलीले समस्याको पहिचान र समाधानका उपाय समेटेर प्रतिवेदन तयार पारिएको जानकारी दिनुभयो । विभागले प्रचार विभागको समेत सहयोग लिएर पार्टी कार्यालय पेरिसडाँडामा आपतकालीन हेल्प डेस्क खडा गरेको छ । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ।  दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी आज राति पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला शनिबार र आइतबारको मौसम?  २०८१ असोज १९ गते शनिबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी प्रदेश प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

लोकप्रिय