१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली
बर्दिवास, भदौ १६ । ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने ।
बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए ।
बुवा–आमा र जेठा दाजुहरु गिरत (मालिक) को काममा जाने र आपूm उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसाको शिकार गर्ने गरेको बचपन आफैँले व्यहोरेका मञ्जे (मञ्जयको घरमा बोलाउने नाउँ) का लागि १२ कक्षा उत्तीर्ण गरेको सफलता चानचुने होइन ।
“हामी मुसहर जन्मले नै कमारा (नोकर) भएर जन्मन्थ्यौँ”, मञ्जेले विगत सम्झँदै भने, “मुसहरका घरमा नयाँ छोरा जन्मनासाथ ऊ कुनै मालिकका लागि बचनमा बाँधिने चलन थियो ।” आफ्नो पुरानो परिवेश कोट्याएका मञ्जेले अगाडि भने, “यस्तो परिवेशमा जन्मेको आपूmलाई आज १२ कक्षा उत्तीर्ण गरेँ भन्न पाउँदा निकै खुशी लागेको छ ।”
बर्दिवासमा बसोबास गर्ने मुसहर समुदायको चौथो पुस्ताका मञ्जे १२ कक्षा उत्तीर्ण गर्ने अहिलेसम्मकै पहिलो व्यक्ति हुन् । अशिक्षा, गरिबी र सामाजिक पछौटेपनमा पारिएका मुसहर समुदायमा छोराछोरी पढाउने कुरा कसैले सोच्ने कुरै थिएन ।
खेल्न जाँदा बर्दिवासको मुसहर बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्न आउने गिरतका छोराछोरीसँगको उठबसले कहिलेकाहीँ कापीका पाना, कुनै पुस्तक बोकेर मञ्जे घर आउन थालेपछि यो नौलो काम गर्छ कि जस्तो लागेको मञ्जेका दाजु बिल्टु सादा बताउँछन् । “हाम्रो बुबा लक्ष्मी सादा बस्तीको अगुवा हुनुहुन्थ्यो”, भाइ मञ्जेको पढाइप्रतिको लगावबारे विगत कोट्याउँदै बिल्टुले भने, “अनि घरको कान्छो भाइ, बुबाआमा हामी सबैको प्यारो…! नियमित स्कूल जान थाल्यो, हामी सबैले जाओस् भन्यौँ र पो आज यो सफलता हात लाग्यो ।”
हुन पनि हो, आफ्नो पढाइमा बुबाआमा, दाजु–भाउजू, वरपरका आफन्त र गाउँका गिरतका छोराछोरीले समेत आफूलाई माया गरेका मञ्जेको ठम्याइ छ । “खै किन हो मैले सबैको माया पाएँ”, मञ्जेले भने, “विद्यालयमा पनि गुरुहरु मलाई विशेष माया गर्नुहुन्छ जस्तो लाग्थ्यो, यसले मलाई पढाइको निरन्तरता दिन ऊर्जा दिन्थ्यो ।”
बिशेषगरी २०७२ सालको हिउँदमा हास्य कलाकार धुर्मुस र सुन्तली आफ्नो बस्तीमा पहिलोपटक आएर शिक्षाबारे सबैलाई सम्झाइबुझाइ गरेपछि आफ्नो बस्तीबाट विद्यालय जानेको संख्या निकै बढेको मञ्जे बताउँछन् । “विसं २०७२ को हिउँदमा पहिलोपटक हाम्रो बस्तीमा आउनुभएका धुर्मुस–सुन्तलीले नमूना बस्तीमात्र नभई मुसहरको मन नै उज्यालो बनाइदिनुभएको छ ।” मञ्जेले भने त्यतिखेर भर्खर एसएलसी पास गरेको म अगाडि पढ्थेँ, पढ्दैनथेँ ठेगान थिएन, तर धुर्मुस–सुन्तलीको न्यानो मायाले पढाइ जारी राख्न सकेँ र आज यो सफलता पाएको छु ।” अब उच्च शिक्षा जारी राख्ने मञ्जेले आफ्नो संकल्प पनि सुनाए ।
मञ्जे १२ कक्षा पास भएपछि अहिले मञ्जे र उनका परिवारमात्र नभएर सिङ्गै ५० घरपरिवार बसोबास भएको एकीकृत नमूना मुसहर बस्तीमा खुशी छाएको छ । “हामी सबै खुशी छौँ”, बस्तीका करिया सादाले भने, “यिनी पढ्नुपर्छ भनेर बाटो देखाउने हाम्रो आँखाका नानी हुन्, अब त झण्डै १०० भन्दा बढी नानी स्कूल गइरहेका छन्, हाम्रो खुशी दिनदिनै बढिरहने छ ।” मञ्जेको यो सफलतामा हास्य कलाकार धुर्मुस–सुन्तलीले पनि खुशी व्यक्त गरेका छन् ।
“हामी पहिलोपटक मुसहर बस्ती पुग्दा नांगै–भुतंगैै नाकमा सिँगानको लत्को झार्दै दौडने नानीहरु अब सफासुग्घर भएर विद्यालय गइरहेका छन्”, धुर्मुसले टेलिफोनबाट भने, “मञ्जेको सफलताले हामी (आफू र सुन्तली) धेरै खुशी छौँ, अब लाग्छ, हामीले मुसहरलाई घरमात्र हैन सफा मन पनि दिन सकेछौँ ।”
महोत्तरीमा पिछडिएको दलित समुदायको मुसहर जातिबाट १२ कक्षा उत्तीर्ण गर्ने मञ्जे १० भित्र परेका छन् । जिल्लामा करिब ३० हजार जनसंख्या रहेको आफ्नो मुसहर समुदायमा शिक्षाको प्रसार गर्नु जीवनकै मुख्य उद्देश्य बनाएको मञ्जेको भनाइ छ ।
जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै
काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ । यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ । कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ । ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ । काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ । खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस
सबै शिक्षकको काज फिर्ता गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो । शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति