९० प्रतिशतको मृत्युको कारणः प्रदूषण
ललितपुर, माघ २५। वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ ।
प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ ।
नेपालजस्ता विकासोन्मुख देशमा अधिक रुपले प्रदूषणकै कारण मृत्यु हुने मानिसको सङ्ख्या भने डरलाग्दो स्थितिमा पुगेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । यो सङ्ख्या नेपालको परिप्रेक्ष्यमा प्रदूषणका कारणले ९० प्रतिशत मानिसको ज्यान जाने गरेको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा खेम कार्कीका अनुसार एसिया क्षेत्रका देशमा प्रत्येक तीन मानिसको मृत्यु हुँदा दुई जना वायु प्रदूषणकै कारण हुने गरेको छ । प्रद्ूषण अधिक रुपमा विद्युत्भार कटौतीका समयमा हुने गरेको उहाँले बताउनुभयो ।
यसैगरी काठमाडौँ उपत्यकाका हकमा यहाँ सञ्चालित इँटाभट्टाबाट अधिकमात्रामा प्रदूषण बढ्दै गएको उहाँको भनाइ रहेको छ । उहाँका अनुसार प्रदूषण न्यून गर्नका लागि व्यवस्थित रुपमा कलकारखाना तथा उद्योग सञ्चालन गरिनुपर्छ ।
विद्युत्भार कटौतीको समयमा चलाइने जेनेरेटरका कारण आउने धुवाँले वायु प्रदूषणमा वृद्धि भइरहेको जनाइएको छ । उक्त समयमा ५७ दशमलव ५४ प्रतिशत वायु प्रदूषण हुने गरेको अध्ययनले देखाएको छ । उहाँका अनुसार वायु प्रदूषण मध्याह्नभन्दा बिहान बेलुका अधिकतम रहने गरेको छ । नेपालमा मात्रै बर्सेनि एक लाख ३६ हजार मानिसको प्रदूषणकै कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।
प्रदूषणले मानिसको स्वास्थ्यमा गहिरो असर पारिरहेको बताइएको छ । यसबाट मुटु, दमखोकी र फोक्सोमा अधिकतम असर पर्ने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार प्रदूषणले ७२ प्रतिशत मुटु, १४ प्रतिशत दमखोकी र १४ प्रतिशत फोक्सोमा रोग लाग्ने गरेको छ । प्रदूषणकै कारणले निमोनिया रोगमा वृद्धि तथा ट्राफिक प्रहरीलाई पनि अधिक समस्या ल्याएको पाइएको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वायु विशेषज्ञ भूपेश अधिकारीका अनुसार वायु प्रदूषणले मानिसको जीवनयापनमा थप चुनौती ल्याएको छ । यसले अकालमा बर्सेनि हजारौँ मानिसले ज्यान गमाउनु परेको उहाँले बताउनुभयो ।
प्रदूषणले अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज अवतरणमा समेत समस्या आइरहेको उहाँको भनाइ छ । हवाइजहाजको दृश्यपनमा समस्या आउनाले अवतरणमा जोखिम रहेको उहाँले बताउनुभयो ।
नेपाल जस्तो अविकसित देशमा प्रदूषण न्यून गर्न सम्बधित निकायको बेलैमा ध्यान नगए यसले दीर्घकालीन समस्या ल्याउनेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । प्रदूषण कम गर्ने उपायको खोजी गरेर समाधानतर्फ जानुपर्नेमा उहाँको जोड छ ।
उहाँका अनुसार मानिसले खोक्दासमेत वायु प्रदूषणमा असर देखिएको छ । खासगरी सडकमा गुड्ने यातायातका साधनबाट अधिक रुपमा दिनानुदिन वायु प्रदूषण वृद्धि भइरहेको उहाँको तर्क छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलका अनुसार वायु प्रदूषण नियन्त्रणका लागि राज्यले गर्ने लगानीमा वृद्धि गरिनुपर्छ । प्रदूषण न्यून गर्न नास्टले समेत समय समयमा आवश्यक भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । प्रदूषण नियन्त्रणम नागरिकलगायत राजनीतिक इच्छाशक्ति हुनु जरुरी रहेको उहाँको भनाइ छ । रासस
भारतीय सेना प्रमुख द्विवेदी आइपुगे नेपाल
काठमाडौं। भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी बुधबार काठमाडौं आइपुगेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ। नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीका रुपमा सम्मान गर्ने चलन छ। त्यही परम्परालाई निरन्तरता दिन भारतीय सेना प्रमुख द्विवेदी नेपाल आइपुगेका हुन्।
रुकुम पूर्वमा माओवादीले खोल्यो खाता, जगत् घर्ती निर्विरोध निर्वाचित
काठमाडौँ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ । पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित हुनुभएको हो । २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले २३४ मत ल्याएर विजयी हुनुभएको थियो भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गर्नुभएको थियो ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रचण्डको अपिल (भिडिओ)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताकासाथ अघि बढ्न सबैमा अपिल गर्नुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा बुधबार सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश जारी गर्दै प्रचण्डले यस्तो अपिल गर्नुभएको हो । प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशीला भएकोमा जोड दिनुभयो । ‘यहीँबाट नयाँ युगको सुत्रपात भएको मान्न सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘आजको दिन हामी सबैले स्मरण गर्नुपर्ने, हामी सबैले सम्मान गर्नुपर्ने दिन हो।’ प्रचण्डले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै न्यायपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन्। ‘हामी अहिले शान्ति सम्झौताको मूल स्पीरिटअनुसार शान्ति प्रक्रियाका बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ,’ प्रचण्डले भन्नुभयो, ‘मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठनको लागि आवश्यक विधेयकलाई अन्तिम रुप दिइएको थियो। आज यो प्रक्रिया निष्कर्षतिर जाँदैछ।’ प्रचण्डले यसप्रति खुसी व्यक्त गरेका छन्। ‘हामी सबै यसमा खुसी छौँ। हाम्रो प्रतिवद्धता के छ भने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रुपमा प्रस्तुत गर्न सकिन्छ।’ प्रचण्डले नेपाली जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन स्वीकारेका छन्। ‘जनताले संघीय गणतन्त्रमार्फत् विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ,’ उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पको साथ जरुरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने आवश्यकता छ। म यस अवसरमा शान्तिको निम्ति कामना गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनता प्रति पनि हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।’
उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न दिइने
काठमाडौं । स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसअघि उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगको कार्यतालिका छ। दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ। ३५ महिला, ४८ पुरुष र एक अन्य छन् । गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २ सय ९३ पुरुष र एक अन्य गरी जम्मा ३ सय २३ जनाको उमेदवारी परेको छ।