एभरेष्ट दैनिक

दाङमा काटिएका रुखको विवरण र राजस्व सङ्कलन हुन सकेन

दाङ । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तारका क्रममा चार वर्षअघि काटिएका रुखको विवरण तथा त्यसबाट उठ्नुपर्ने राजस्व डिभिजन वन कार्यालय घोराहीले हालसम्म प्राप्त गर्न सकेको छैन ।  काटिएका रुखको आधिकारिक विवरण, काठ–दाउराको तथ्याङ्क र राजस्व सङ्कलन नहुँदा चार लेन सडक अन्तर्गत सडक सीमाभित्र बाँकी रहेका रुख कटानमा समेत समस्या उत्पन्न भएको छ । सडक निर्माणका लागि २०७५ माघ १४ गते ठेक्का सम्झौता भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा २०७९ चैत २६ गते ठेक्का तोडिएको थियो । पटक–पटक म्याद थप गरिँदासमेत सडक निर्माण अलपत्र परेपछि ठेक्का रद्द गरी नयाँ ठेक्कामार्फत काम अघि बढाइएको छ । तर, पुरानो ठेक्का अवधिमा काटिएका रुखको विवरण र राजस्व हालसम्म डिभिजन वन कार्यालयले प्राप्त गर्न नसकेको हो । डिभिजन वन कार्यालय घोराहीका प्रमुख डिभिजनल वन अधिकृत बसिन्द्रराज सुवेदीका अनुसार रुख कटानका लागि डिभिजन वन कार्यालय घोराही र सडक विभाग अन्तर्गत भालुवाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर तथा लमही–घोराही–तुलसीपुर चार लेन सडक आयोजनाबीच २०७७ असार २६ गते सम्झौता भएको थियो । सम्झौताअनुसार घोराही–तुलसीपुर सडकखण्डमा पर्ने एक हजार २७५ वटा रुखमध्ये एक हजार एक सयभन्दा बढी रुख काटिएको अनुमान गरिएको छ । उनका अनुसार काटिएका रुखको विवरण, तिर्नुपर्ने राजस्व, सङ्कलन भएको काठ र दाउराको तथ्याङ्क पटक–पटक तत्कालीन सडक आयोजनासँग माग गरिए पनि हालसम्म उपलब्ध गराइएको छैन । डिभिजन वन कार्यालयसँग आयोजनाकै प्रत्यक्ष सम्झौता भएकाले सम्पूर्ण जिम्मेवारी आयोजनाको नै हुने उल्लेख गर्दै सुवेदीले भने, “हामीले पटक–पटक ताकिता गर्दै पत्राचार गरेका छौँ । तर अहिलेसम्म न काटिएका रुखको विवरण प्राप्त भएको छ, न काठ–दाउरा बुझाइएको छ, न त राजस्व नै आएको छ ।” सुवेदीका अनुसार रुख कटानबापत तत्कालीन सडक आयोजनाले काठको मूल्य बराबर करिब ३८ लाख ६९ हजार १३३ रुपैयाँ राजस्व बुझाउनुपर्ने देखिन्छ । सोही विषयमा पछिल्लो पटक २०८० असार २० गते आयोजनाका नाममा पत्र पठाइए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए ।  घोराही–तुलसीपुर चार लेन सडक भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माण हुन लागेको थियो । उक्त आयोजनाको ठेक्का मुम्बईस्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो । सडकको केन्द्र रेखाबाट दुवैतर्फ १५–१५ मिटरभित्र पर्ने रुख कटानका लागि आयोजनाले २०७७ भदौ मसान्तसम्मको म्याद पाएको थियो । कोभिड–१९ महामारीका कारण ४८५ वटा रुख कटान गर्न बाँकी रहेको भन्दै आयोजनाले म्याद थपको माग गर्दै २०७७ भदौ १ गते वन कार्यालयमा निवेदन दिएको थियो । सो निवेदनका आधारमा डिभिजन वन कार्यालयले २०७७ भदौ ५ गते नै असोज मसान्तसम्म म्याद थप गरिदिएको थियो । तर थपिएको म्यादमा कति रुख काटियो भन्ने विवरणसमेत आयोजनाले वन कार्यालयमा नपठाएको सुवेदीले बताए । त्यसैको परिणामस्वरूप अहिले सडक विस्तारका क्रममा पुनः रुख कटान गर्नुपर्ने अवस्था आएको र त्यसको विवरण सङ्कलन प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । डिभिजन वन कार्यालयका अनुसार सडक विस्तारका क्रममा सिसौ, आँप, सिमल, जामुना, इपिलिइपी, चिउरी, बकाइनो तथा वर–पिपललगायतका बहुमूल्य रुख कटान गरिएको थियो ।