एभरेष्ट दैनिक

एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का किसानले दिएका छन्। पछिल्ला तीन वर्षदेखि यहाँका किसान कन्दमूल (तरुल) को व्यावसायिक खेतीमा आकर्षित भएका छन्। पहिले केराखेती गर्दै आएका किसानलाई हात्तीले गरेको क्षति बढेपछि उनीहरू वैकल्पिक बाली खोज्दै तरुलतर्फ आकर्षित भए। अहिले राजमार्गको उत्तरी भेगका जमिनमा जताततै तरुल खेती देखिन्छ। स्थानीय अगुवा किसान खेमराज कट्टेलले तीन वर्षअघि एक बिघामा तरुल खेती गरेर परीक्षण थालेका थिए। पहिलो वर्षमै खर्च कटाएर करिब सवा लाख रुपैयाँ बचत भएपछि उनले दोस्रो वर्ष खेती थप्दै साढे तीन बिघामा विस्तार गरे। दोस्रो वर्ष पाँच लाख रुपैयाँ आम्दानी भएपछि कट्टेलले यस वर्ष सात बिघामा तरुल लगाएका छन्। “रुखो खेत, सिँचाइ कम। केरामा हात्तीले बाली पनि नष्ट गर्थ्यो, जोखिम पनि थियो। त्यसपछि तरुलतर्फ लागेँ,” उनले बताए। यस वर्ष उनले विगतको आम्दानी दोब्बर बनाउने लक्ष्य राखेका छन्। हाल सुन्दरहरैंचाको ७ र ८ वडाका किसानले कूल १२५ बिघा क्षेत्रमा तरुलको व्यावसायिक खेती गरिरहेका छन्। बजारमा तरुल प्रतिकिलो १०० रुपैयाँमा बिक्री हुँदै आए पनि किसानले बारीबाट ४५–५० रुपैयाँमा बिक्री गर्छन्। कट्टेलका अनुसार आफूले करिब २३ लाख रुपैयाँको तरुल बेच्ने अनुमान छ। “सबै किसानको हिसाब गर्दा यस वर्ष मात्रै गाउँबाट करिब दुई करोड रुपैयाँभन्दा बढीको तरुल बजार जाने आँकडा छ,” उनले बताए। तरुल खेतीका लागि प्रति बिघा झण्डै ६ सय किलो बिउ आवश्यक पर्छ। घन्सी जातका घाँसे बिरुवा बीच–बीचमा रोपेर लहरा झाँगिन दिने चलन छ। एक पटक सामान्य गोडमेल गरेपछि तरुल उत्पादन गर्न सकिन्छ। कट्टेलका अनुसार तरुल खेती सुरु भएपछि स्थानीय कृषि मजदुरलाई पनि निरन्तर रोजगारी मिलेको छ। मौसमी भए पनि काम सुरु भएपछि दुई महिना लगातार चल्ने र आफूले २२ जना मजदुरलाई नियमित काम दिइरहेको उनले बताए। यहाँ उत्पादित तरुल मुख्यतः काठमाडौँमा खपत हुन्छ। हात्तीछाप जातको गुलाबी रङको, सजिलै खन्न सकिने भएकाले खेती गर्दा सहज हुने किसान देवीरमण खरेल बताउँछन्। केराखेतीमा हात्तीको आतंक र रोग बढेपछि उनले १२ बिघा जमिनमा तरुललाई विकल्पका रूपमा अपनाएका छन्। कट्टेल र खरेलले व्यावसायिक उत्पादन सुरु गरेपछि अहिले गाउँ नै ‘तरुलमय’ बनेको छ। राजु सिटौलाले ४ बिघामा, हेम उप्रेतीले डेढ बिघामा र शङ्कर उराँवले ६ बिघामा तरुल लगाएका छन्।