थप ४९६१ मा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै तीन हजार ३४७
२ माघ, २०७८
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो सङ्ख्या शनिबार देखिएको नयाँ सङ्क्रमितभन्दा ३२५ ले बढी हो। शनिबार देशभरमा चार हजार ६३६ नयाँ सङ्क्रमित पुष्टि भएको थियो। उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ सङ्क्रमित थपिएका छन्। जसअन्तर्गत काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। नयाँ सङ्क्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो। १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा जम्मा परीक्षणमध्ये औषत सङ्क्रमणदर ३६ दशमलव एक प्रतिशत छ। यही अवधिमा ४३५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्। कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यसैगरी भेन्टिलेटरमा २९ र आइसीयूमा १२२ जना रहेका छन्। होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन्। यसैबीच सरकारले आजदेखि अग्रपङ्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताउनुभयो।