बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

महोत्तरी । वर्षौं वर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ। नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन्। यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि यो वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ।

“यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भन्नुभयो, “अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन्।” यसअघि लगत सङ्कलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने उहाँको भनाइ छ।

“वि.सं. २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौँ र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो”, उहाँ भन्नुहुन्छ, “यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लट–प्लटमै पुगेर जग्गा नापजाँच ग¥यौँ, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो।” चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको कार्यकारी अधिकृत पराजुलीको भनाइ छ।

अहिले लालपुर्जा वितरण गरिने गरी काम बढेको सुनेपछि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमामा नयाँ आशाको सञ्चार भएको छ। “हामी त गत असारमा सरकार फेरिएपछि अब लालपुर्जा पाउने काम फेरि अड्कियो भनेर निराश भएका थियौँ”, बर्दिबास–३ गौरीडाँडामा वर्षौँदेखि घर बनाएर बस्नुभएकी अव्यवस्थित बसोबासी गीता खतिवडाले भन्नुभयो, “तर अहिलेको सरकारले पनि पहिले भएका कामलाई निरन्तरता दिएछ, हाम्रो नगर नेतृत्वले समन्वय गरेछ, अब लालपुर्जा पाइन्छ भन्ने सुनियो।” लालपुर्जा पाएर अब घर भएको जग्गा मेरै नाममा छ भन्ने दिन नजिक आएको कुराले खुलदुली झन् बढाएको खतिवडा बताउनुहुन्छ।

नगरपालिकाले नवगठित भूमि आयोग (केन्द्रीय)सँग भर्खरै गत पुस २४ गते फेरि सम्झौता गरेर पूर्वसरकारको पालामा भएका काम अघि बढाउन आवश्यक कार्यविधि स्वीकृत गराएपछि बल्ल लालपुर्जा वितरणको चरणमा प्रवेश गरेको हो। “अब चाँडै लालपुर्जा वितरण गरिन्छ”, बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो।

यसअघि पूर्ववर्ती सरकारले जिल्लामा राजेन्द्र साह नेतृत्वमा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर काम अघि बढाएको थियो। तत्कालीन समयमा भएका कामलाई वर्तमान भूमि आयोगले स्वामित्व ग्रहण गरेर निरन्तरता दिएपछि चाँडै लालपुर्जा वितरणको चरणमा प्रवेश गर्न सकेको हो।

“हामीले आधारभूत काम सकेका थियौँ, लगत सङ्कलनदेखि जग्गा नापजाँचको काम सम्पन्न भएको थियो”, तत्कालीन भूमि आयोगका अध्यक्ष साहले भन्नुभयो, “सरकार फेरिएर आयोग खारेज भएसँगै गरेको काम के होला भन्ने अन्योल थियो, तर खुशीको कुरा वर्तमान सरकारले ती कामलाई अघि बढाएछ।” अब बर्दिबास नगरभित्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै जग्गाधनी प्रमाणपुर्जा पाउने कुराले खुशी र उत्साही बनाएको साहको भनाइ छ।

आफ्नै घर भएको जग्गा पनि आफ्नो भन्न नपाएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कौतूहलतापूर्वक लालपुर्जा पाउने दिनको प्रतिक्षामा छन्। “लालपुर्जा पाएको दिन कस्तो होला भन्ने छ?” बर्दिबास–२ का भूमिहीन श्याम घले भन्नुहुन्छ, “हामी गरिबलाई त त्यो खास पर्वकै दिन हुनेछ।” लालपुर्जा पाएपछि त्यो आफ्नो सम्पत्ति हुने र यसका आधारमा स–साना व्यवसाय गर्न ऋण कर्जा पाइने भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भनाइ छ।

सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् ।  प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे ।  मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे । मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए । 

मिनी बस दुर्घटनामा दुईको मृत्यु

सुर्खेत। दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका(७ को गोजेनी जङ्गल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको सनाखत हुन बाँकी छ । बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूको उपचारको लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली कियरमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो । 

राष्ट्रिय सभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गरौं : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि अध्यक्ष दाहालले गतिरोध अन्त्यका लागि राष्ट्रिय सभालाई माथिल्लो सभाका हैसियतले अभिभावकीय भूमिका खेल्ने अवस्था बनाउन लाग्नुपर्ने बताए । “समस्या समाधानका लागि राष्ट्रिय सभालाई अभिभावकीय भूमिका खेल्ने गरी सल्लाह, सुझाव दिनेखालका गतिविधि आवश्यक छ । त्यसका लागि प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, अध्यक्ष दाहालले भने । उनले महत्त्वपूर्ण विधेयक, नीति तथा कार्यक्रममाथिको छलफल, बजेट प्रस्तुतिलगायत कार्यभार रहेकाले संसद्का बैठक नियमित सञ्चालनका लागि आग्रह गरे । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरुले भने आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले आजको बैठक स्थगन गरे । राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ८ गते मङ्गलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

इरानका राष्ट्रपति रइसीको निधनप्रति प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको घटनाले आफुलाई दुःखी बनाएको बताएका छन्।  आज प्रधानमन्त्री प्रचण्डले आफ्नो व्यक्तिगत एक्स हेन्डल मार्फत राष्ट्रपति इब्राहिम रइसी निधनप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोकको यस घडीमा दिवंगत राष्ट्रपति रइसीको परिवार र इरानको सरकार र मित्र राष्ट्र इरानका जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । हिजो पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका इरानी राष्ट्रपति रइसी सवार हेलिकोप्टर आइतबार दुर्घटनामा परेको थियो । उनका साथ इरानका विदेशमन्त्री र अरू उच्च अधिकारीसहित हेलिकोप्टरमा नौजना सवार थिए । I am deeply saddened by the tragic demise of H.E. Dr. Seyyed Ebrahim Raisi, President of the Islamic Republic of Iran. At this hour of grief, I extend my heartfelt condolences to the family of the late President Raisi, and to the government and friendly people of Iran. — ☭ Comrade Prachanda (@cmprachanda) May 20, 2024

लोकप्रिय