बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी स्पष्ट कानुन बन्दै

बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी स्पष्ट कानुन बन्दै

काठमाडौँ। बैङ्क खाता रोक्का तथा फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न नेपाल राष्ट्र बैङ्कले मस्यौदा तयार हुँदैछ।

राष्ट्र बैङ्कले ‘बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१’ तयार गरी कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको हो । विनियमावलीको मस्यौदा सार्वजनिक गर्दै राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याउनु अगाडि सरोकारवालासँग आवश्यक राय सुझाव समेत मागिएको छ ।

राष्ट्र बैङ्कले तयार गरेको मस्यौदामा भनिएको छ, बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका बैङ्क खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बाञ्छनीय भएकाले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण)ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागु गरिएको हो ।

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ को मस्यौदा अनुसार खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गरी तीन भागमा विभाजन गरिएको छ ।

सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ भने निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने व्यवस्था गरिएको छ । त्यस्तै आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत् रूपमा प्रयोग गर्न सक्ने मस्यौदामा उल्लेख गरिएको छ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागलाई हुने मस्यौदामा उल्लेख छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकार प्राप्त अधिकृतस्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिन सक्ने छन् भने सम्बन्धित व्यक्ति वा संस्थाका अधिकार प्राप्त अधिकारीले निवेदन दिएको अवस्थामा खाता फुकुवा हुने व्यवस्था मस्यौदामा गरिएको छ ।

खाता रोक्का गर्नका लागि अधिकार प्राप्त अधिकारीले कानुनको व्यवस्था अनुसार स्पष्ट उल्लेख गरी खाता रोक्का गर्नुको कारण र खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा अन्य नेपाल सरकारले जारी गरेको परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण खुलाई लिखित रूपमा राष्ट्र बैङ्कसमक्ष अनुरोध गरेमा इजाजतपत्र संस्थालाई अविलम्ब खाता रोक्का गर्न निर्देशन दिने व्यवस्था मस्यौदामा छ ।

कानुनी व्यक्तिको हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ । यस्तै कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा भने रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैङ्कको विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने मस्यौदामा उल्लेख छ । गोरखापत्रमा खबर छ ।

पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ।   त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।

१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबारको तुलनामा आज अमेरिकी डलर, युरो, स्टर्लिङ पाउन्ड, क्यानेडियन डलर, चिनियाँ युआन लगायतको मूल्य घटेको छ । कुवेती दिनार, थाईभाटलगायतको भने मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५  रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । यस्तै, युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कले स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५  पैसा तथा बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको जनाएको छ । आजका लागि क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा तथा बिक्री दर ९६ रुपैयाँ ८० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०४ पैसा तथा बिक्रीदर एक सय रुपैयाँ ४९ पैसा कायम गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३  पैसा तथा बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैङ्कले जनाएको छ । यस्तै, थाईभाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा, तथा बिक्रीदर तीन रुपैयाँ ९२ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १८ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ३१ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर नौ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर नौ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा तथा बिक्रीदर १२ रुपैयाँ २२ पैसा, डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर १८ रुपैयाँ ९३ पैसा र हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा तथा बिक्रीदर १७ रुपैयाँ ४० पैसा तय गरेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ तथा बिक्रीदर चार सय ३९ रुपैयाँ ९५ पैसा र बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर तीन सय ५९ रुपैयाँ २८ पैसा निर्धारण गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ २० पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । केन्द्रीय बैङ्कले आजदेखि ओमानी रियालको खरिद बिक्री सुरु भएको जनाएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष ढकालले यो धारणा नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको एक कार्यक्रममा व्यक्त गर्नुभएको हो । ढकालले सुधारका लागि पहिलो सन्देश सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनुपर्ने रहेको बताउनुभयो ।  सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने बताउँदै ढकालले यदि कुनै ठाउँमा बदमासी छ भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ, तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्छ भन्नुभयो । उहाँले व्यवसाय दर्ता, नविकरण वा राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा पनि जोड दिनुभयो । साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याउँदै महासंघले यसको जोखिम न्युनिकरण र सञ्चालनका लागि अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी ढकालले दिनुभयो । नेपाल दुई वर्षपछि विकासोन्मुख मुलुकमा स्तरोन्नति हुने कुरामा योजना आयोगको रणनीतिले जोखिम न्यूनीकरण गर्न सक्षम नभएको उहाँको टिप्पणी छ । ढकालले निजी क्षेत्र रणनीति बनाउन तयार रहेको बताउँदै २०२१ मै यस सम्बन्धी पहिलो प्रतिवेदन सार्वजनिक गरेको स्मरण गराउनुभयो । ढकालले विगत दुई वर्षदेखि बजार नियन्त्रणका लागि अपनाइएका नीतिहरूले अर्थतन्त्रमा समस्या सिर्जना गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार कम मागका कारण बजारमा चहलपहल छैन र उद्यमीहरू लगानी गर्न हतोत्साहित भएका छन् । महासंघले दशैं–तिहार लक्षित सर्वेक्षणबाट गत वर्षको तुलनामा बिक्री ४० प्रतिशत सम्म घटेको देखाएको जानकारी पनि उहाँले दिनुभयो । तर, ढकालले अर्थतन्त्र निराशाजनक नभएको र सुधारको सम्भावना रहेको औंल्याउनुभयो । उहाँका अनुसार केही सूचकहरूले सुधारलाई बल दिन सक्छन् । हिजो मात्रै सार्वजनिक भएको नेपालको पहिलो क्रेडिट रेटिंगले बीबी माइनस देखाएको छ, जसले अर्थतन्त्र अहिले स्थिर भए पनि सानो झटकाले जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । नेपालमा लगानी गर्न चाहने लगानीकर्ताहरूका लागि यो सकारात्मक सन्देश रहेको उल्लेख गर्दै ढकालले महासंघको पहलमा नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन भएको छ, जसमा अहिले निजी क्षेत्रलाई पनि समावेश गरिएको छ भन्नुभयो । यसले निजी क्षेत्रलाई थप अवसर र सम्मान दिनेछ ।