एभरेष्ट दैनिक

कुवेतमा राजपरिवारका एक सदस्य सहित सात जनालाई मृत्युदण्ड

एजेन्सी, कुवेत सिटी, माघ १३ । कुवेत सरकारले विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई मृत्युदण्ड दिएको छ । उनीहरूलाई केही समयअघि मृत्युदण्ड फैसला सुनाएको थियो । उनीहरुलाई बुधबार एकठाउँमा झुण्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्युदण्डको सजाय कार्यान्वन गरिएको हो । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । उनीहरूले केही अघि विभिन्न समयमा चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । मृत्युदण्डको सजाय पाउने सात जना अपराधीमा एक जना बङ्गलादेशी, एक जना फिलिपिन्सको, एक जना इथियोपियाली, दुई जना इजिप्टेली र दुई जना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । त्यस्तै कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आई नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काई दिएकी थिइन् । भयङ्कर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए । मृत्युदण्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ । विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अबैध बन्दुकलगायतका हातहतियार गैरकानुनी रुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनलाई लागेको थियो । मृत्युदण्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । पावालाई घरेलु कामदार भई आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो । जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत छन् । उनले जाकातियालाई आम माफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पु¥याए । फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदण्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनैतिकस्तरबाट सक्दो प्रयास ग¥यो । तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए ।