एभरेष्ट दैनिक

सुर्खेतमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सुरु

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को ब्रिहत एकता सभा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा शनिबार सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिस्ट घटकहरूबीचको एकता तथा ध्रुवीकरणपछि कर्णालीमा पहिलो पटक प्रदेशस्तरीय ‘एकता सन्देश सभा’ आयोजना गरिएको हो । वीरेन्द्रनगरको घण्टाघर परिसरमा सञ्चालित सभामा नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता छ । कार्यक्रम सुरु हुनुअघि एरी चोक, मंगलगढी चोक लगायतका स्थानबाट निस्किएका विशाल र्‍यालीहरू बजार परिक्रमा गर्दै मुख्य सभास्थलमा केन्द्रित भएका थिए । सभालाई सम्बोधन गर्न पार्टीका शीर्ष नेताहरू मञ्चमा आसीन छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भीम रावल लगायतका विशिष्ट नेताहरूको उपस्थिति छ ।