मूल्य घट्दा किसान मारमा

काभ्रे, फागुन १० । बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् ।

व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए, मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्र दिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए। उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्ने गरेको छ ।

‘दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, तर व्यापारीले उचित मूल्य दिँदैनन्’, उनले भने । व्यापारीले मनोमानी रुपमा तरकारीको मूल्य तोक्ने गरेको घिमिरेको आरोप छ ।

टुकुचा नालामा सबैभन्दा बढी मुला उत्पादन हुन्छ । विगत वर्षमा जस्तो किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । उचित मूल्य नपाउँदा तरकारीमा मेहनत गर्न छाडेको स्थानीयवासी भवानी घिमिरे बताउनुहुन्छ । एक्कासि तरकारीको मूल्यमा कमी आएको हो ।

गङ्गा र भवानी जस्तै यहाँका अन्य किसान तरकारीको उचित मूल्य नपाएपछि मारमा परेका छन् । ‘प्रमुख आयस्रोत नै तरकारी खेती हो, उचित मूल्य नपाउँदा खर्च धान्न मुस्किल भएको छ,’ उग्रचण्डी नाला– ७ का सीताराम दाहालले भने ।

कालीमाटी बजारमै तरकारीको मूल्यमा कमी आएपछि त्यसको मार किसानलाई परेको उग्रचण्डी कृषि बजारका व्यापारी जितेन्द्रप्रसाद गुप्ताले बताउनुभयो ।

उग्रचण्डी तरकारी बजारमा दैनिक उग्रचण्डी नाला, टुकुचा नाला, देवीटार, नयाँगाउँ, देउपुर गाविसलगायतका किसान तरकारी बिक्री गर्न आउने गरेका छन् ।

उक्त बजारमा हाल मुलाको खरिद मूल्य प्रतिकिलो रु.८ देखि रु १०, काउली रु १० देखि रु १२ तथा मटरकोसाको रु ४४ देखि रु ४६ सम्म रहेको छ ।

गत वर्षभन्दा सस्तोमा तरकारी बिक्री भइरहेको छ ।

मापदण्ड पुरा गरी घर बनाइएका घरहरुलाई एकमुष्ट ३ लाख अनुदान

काठमाडौं, फाल्गुन ६ । भूकम्प प्रतिरोधी मापदण्ड पुरा गरी बनाइएका घरहरुलाई सरकारले एकमुस्टै तीन लाख अनुदान दिने भएको छ । सरकारको मुख नताकी घर बनाइसकेकाहरुले सो रकम पाउने भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डाक्टर गोविन्द पोखरेलको संयोजकत्वमा शुक्रबार बसेको कार्यकारी समितिको बैठकले सो निर्णय रहेको हो । भूकम्प प्रभावित जिल्लामा आवश्यक मापदण्ड र प्रक्रिया पुरा गरी निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका लाभग्राहीहरुलाई अनुदान वापत पाउने सबै रकम एकमुष्ट दिने निर्णय गरिएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ कम्पनीले नेपालमा तीन खर्ब लगानी गर्ने

फाल्गुन ६ । चिनियाँ लगानीकर्ताहरुले झण्डै तीन खर्व नेपाली रुपैयाँ (१८ अर्ब ५० करोड चिनियाँ युआन) को लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली दूतावासले बेइजिङस्थित ‘नेपालमा लगानीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएको हुन् । सेमिनारमा उपस्थित विश्वकै उत्कृष्ट पाँच सय ठूला कम्पनीहरुमा सूचिकृत चिनियाँ कम्पनीहरुले वर्षौंदेखि नेपालमा लगानी गरिरहेका र आगामी दिनहरुमा पनि नेपालमा थप लगानी गर्ने बताएका हुन् । सेमिनारमा नेपालमा लगानी गरिरहेका पावर चाइना, गेजुवा कम्पनी, जेडटिईलगायत चीनकै प्रख्यात चाइना इन्जिनियरिङ कर्पोरेसन, चाइना रेलवे कन्ट्रक्सन कम्पनी, एभिक कम्पनी, युन्नान कन्ट्रक्सन कम्पनी, साइनो पेक, इनर्जी चाइनालगायतका कम्पनीले सेमिनारमा भाग लिएका थिए । सेमिनारमा उनीहरुले लगानी सम्मेलनमा नेपालका एजेन्डा तथा चीनले गर्न सक्ने लगानीका क्षेत्रमा समेत चासो राखेका थिए । सेमिनारमा विभिन्न कम्पनीका ६४ प्रतिनिधिहरुले भाग लिएका थिए । सेमिनारमा भाग लिएका मध्ये १८ कम्पनीका ५१ जना प्रतिनिधिहरुले नेपालले आगामी मार्च २ र ३ मा गर्ने भनेको लगानी सम्मेलन भाग लिने बताएका थिए ।

सिधैं बाजुरा–काठमाडौं डिलक्स चल्ने

कैलाली, ५ फागुन । सुदूरपश्चिम यातायात व्यवसायी संघले बिहीबारबाट बाजुरा–काठमाडौं सिधैं डिलक्स बससेवा सुरु गरेको छ । बस सेवाको सुभारम्भ गर्दै बाणिज्य संघका अध्यक्ष देबबहादुर रोकायाले सुदूरपश्चिम यातायात व्यवसायी संघले दुर्गम र विकट स्थानहरुबाट स्तरीय सेवा दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै सेवाको निरन्तराको लागि यातायात संघको ध्यानाकर्षण गराएका थिए । बाजुराको मार्तडीबाट दैनिक बिहान ६ बजे र काठमाण्डौ नयाँ बसपार्कबाट विहान ११ बजे खप्तड डिलक्स बस छुट्ने संघका बरिष्ठ उपाध्यक्ष सापकोटाले जानकारी दिए । प्रति यात्रु २ हजार ८ सय १० रुपैयाँ भाडादर तोकिएको डिलक्स सेवाले यात्रुहरुलाई काठमाडौं सम्मको दूरी अब आरामदायी हुने संघले जनाएको छ ।

कृषि मन्त्रालयकाे यस्ताे छ याेजना

जुम्ला, फागुन छ । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गतवर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डव गुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो । चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । सिफारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव, बड्की, शनिगाउँ, बुम्रमाडीचौर र मालिकाबोता गाविसमा खटाइएको छ । गत वर्ष कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकलाई एफपिओ जारी गर्न धितोपत्र वोर्डले रोक्यो

काठमाडौं, फागुन ४ । नेपाल धितोपत्र बोर्डले स्टान्डर्ड चार्टर्ड बैंकलाई तत्काल थप नयाँ साधारण सेयर (एफपीओ) जारी नगर्न निर्देशन दिएको छ । बोर्ड सम्बद्ध स्रोतले बजारमा तरलता अभाव भएकाले एफपीओ जारी हुँदा झन् ठूलो समस्या बिकराल हुनसक्ने भएकाले बोर्डले स्वीकृति दिए पनि तत्काल जारी नगर्न निर्देशन दिईएको जनाएको छ । बोर्डले सोमबार स्टान्डर्ड चार्टर्डलाई २५ लाख ५८ हजार १४० कित्ता १२९० रुपैयाँ प्रति कित्ता दरमा एफपीओ जारी गर्न निर्देशन दिएको थियो । सेयर लगानीकर्ता संघले सेयर बजारमा प्रतिकुल असर पर्ने भन्दै एफपीओ जारी गर्ने प्रक्रिया तत्काल रोक्न आग्रह गरेपछि बोर्ड बैठकले बैंकलाई नयाँ निर्देशन दिएको हो । लगानीकर्ता संघका महासचिव नबराज सुबेदीले लगानीकर्ताहरुले तरलता अभाव र मार्जिन कर्जा बन्दको सामना गरिरहेको बेला एफपीओ जारी गर्दा सेयर बजार अरु खस्कने भएकाले रोक्न पहल गरिएको बताए ।

एनसेलको फेसबुक फ्रि अफर

काठमाडौं, फागुन ३ । एनसेलमा मोबाइल डेटा सपोर्ट गर्ने मोबाइल फोनबाट अब सित्तैमा फेसबुक चलाउन पाइने भएको छ । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत एनसेलले फेसबुकसँगको सहकार्यमा ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बित्तिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन् । फेसबुक फ्रि अफर यहि बुधबारबाट लागु भई ९० दिनको लागि रहने एनसेलले जनाएको छ । ‘फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । जस्तै ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्नेछ’ एनसेलले जनाएको छ ।

आज फेरि घट्यो नेप्से

काठमाडौँ, फागुन ३ । आज फेरि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार विहानैदेखि नेप्से परिसुचक घट्न थालेको नेप्से ४ दशमलब ४२ अंकले घटेको हो । लामो समयपछि हिजो २६ दशमलब ४८ अंकले वृद्धि भएको नेप्से आज पुन ओरालो लागेर १ हजार २ सय ७४ दशमलब ५६ अंकमा झरेको हो । कारोबार भएका ८ कम्पनी समुह मध्ये ६ वटा कम्पनी समुहका उपसुचकमा गिरावट आएको छ । सबैभन्दा बढी बिमा समुहको उपसुचक ९३ दशमलब ९४ अंकले हस आएको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँले कमी आएको छ । कूल १ सय ३७ कम्पनीको ५ हजार ७७ कारोबारबाट ४० करोड १० लाख ३४ हजार ३० रुपैयाँ बराबरका १० लाख ५ हजार ४ सय ७७ कित्ता शेयर किनबेच भएका छन् ।

चौध करोडको सुन्तला बिक्री

पोखरा, फागुन ३ । कास्कीमा यसवर्ष रु.१४ करोडको सुन्तला बिक्री भएको छ । जिल्लामा यसवर्ष ६ हजार २०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गतवर्ष ६ हजार ५०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ । यसवर्ष जिल्लामा ७८० हेक्टरमा सुन्तला लगाइएको छ। जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।

एफपीओ निकाल्न स्टान्डर्ड चार्टर्ड बैंकले पायो अनुमति

काठमाडौँ, फागुन ३ । नेपाल धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टर्ड बैंकलाई थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले बैंकलाई सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशनको स्वीकृति दिएको हो । प्रतिकित्ता एक सय रुपैंयामा ११९० रुपैंया प्रिमियम थप गरी बैंकले १२९० रुपैंयाको दरले एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशनको स्वीकृति पाएको हो । जसमध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैयाँ थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ । दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक वर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पु¥याएको छ । नयाँ सेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ । अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।

रसुवागढी भन्सारको राजस्व संकलन १२३ प्रतिशतले बढ्यो

रसुवा, फागुन ३ । चीनसँग सीमा जोडिएको एकमात्र नाका रसुवागढीले लक्ष्यभन्दा १२३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । वार्षिक २ अर्ब ४२ करोड राजस्व संकलनको लक्ष्य राखेको रसुवागढी भन्सारले माघ महिनासम्ममा १ अर्ब ६० करोड ७६ लाख ३४ हजार राजस्व संकलन गरिसकेको भन्सार कार्यालयले जनाएको छ । लक्ष्य भन्दा बढी राजस्व संकलन हुने यो नाका व्यवस्थित गर्न नसके राजस्व ‘डाइभर्ट’ हुन सक्ने तर्फ सबै सचेत हुनुपर्ने प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले सचेत गराए । नाका व्यवस्थित गर्न सक्ने हो भने राजस्व संकलन अझै बढ्ने उनको दावी छ । आर्थिक अनियमितता आरोप मात्रै प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले भन्सार कार्यालयमा आर्थिक अनियमितता भएको भन्ने कुराको खण्डन गरे । व्यावसायीसँग मिलेर सामानको गुणस्तर र मात्रा नक्कली बनार्इ भन्सार कार्यालयले आर्थिक अनियमितताको कारण पनि भन्सार कार्यमा ढिलासुस्ती हुने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रमुख भन्सार अधिकृत कोइरालाले कार्यालयले सिसी क्यामेराबाट निगरानी गरिरहेको र कार्यालयले अनुगमन गरेका कारण आर्थिक अनियमितता हुन नसक्ने दावी गरे । उनले भने–‘ हाम्रो कार्यालयको कन्टेनर राखिएको यार्डमै सिसि क्यामेराहरु जडान गरिएको छ, त्यसैबाट भन्सार महानिर्देशनालयले निरन्तर अनुगमन भइरहेको हुन्छ कसरी आर्थिक अनियमितता हुनसक्छ र ?’ आफु भर्खरै भन्सार प्रमुख भएर आएको र आफ्नो कार्यकालमा यस्ता कुनै पनि आर्थिक अपारदर्शी काम नभएको दाबी गर्दै भने–‘आफु प्रमुख भएर भन्सारमा रहुन्जेल त्यस्ता गतिविधि हुन नदिने उनले स्पष्ट पारे । कोइराललाले कन्टेनर व्यावसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले समस्या उत्पन्न गरेको बताए । ‘कन्टेनर व्यावसायीहरु आपसमा तछाँड मछाँड गरिरहेका छन्, यसले नाकालाई समस्यामा पार्ने देखिन्छ, सरोकारवालाहरु सचेत नहुने हो भने नाका कमजोर हुने र राजस्व संकलनमा पनि असर पर्ने देखिन्छ,’ उनले भने । कोइरालाले भन्सार कार्यालयमा केही कठिनाई रहेको स्वकारे । भन्सार कार्यालयको काम छिटो, सरल र पारदर्शी बनाउन आफु प्रयत्नशील रहको उनले जानकारी दिए ।

टेलिकमको एसएमएस सेवा अवरुद्ध, लाखौं सेवाग्राही मर्कामा

काठमाडौं, फागुन २ । नेपाल टेलिकमको जिएएसएम प्रिपेड र पोस्टपेडमा एसएमएस सेवा अवरुद्ध भएको छ । प्राविधिक समस्याका कारण सेवा अवरुद्ध हुन पुगेका टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिएका छन् । उनले समस्या समाधानका लागि लागिपरेको र चाँडै नै समाधान हुने बताएका छन् । आज दिउँसो दुईबजेदेखि मोबाइलमार्फत हुने एसएमएसमा समस्या आएको हो । टेलिकमले भने ३ बजेपछिमात्रै आफूले यसको जानकारी पाएको बताएको छ । सेवा अवरुद्ध हुँदा टेलिकमका लाखौं प्रयोगकर्ता समस्यामा परेका छन् ।

बिना धिताे २४ हजार ऋण दिने तयारी

काठमाडौँ, फागुन २ । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए। परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई रु पाँच लाखको निब्र्याजी ऋण उपलब्ध गराउनेछ । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्ने छ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्ने छ । उपाध्यक्ष ढुङ्गेलले योे कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताए । युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताए । नेकपा (एमाले) का सांसद रामेश्वर फुयाँलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा लगाउनु आवश्यक भएको बताए । नेकपा (माले) का सांसद कलशादेवी महराले युवाका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निकायबीच समन्वयको खाँचो औँल्याउनुभयो । मञ्चका अध्यक्ष विनिता पन्तले कार्यशालाबाट जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि परिषद्मा हस्तान्तरण गरिने जानकारी दिए ।

साढे दुई सय क्वीन्टल चामल खाद्य संस्थानमा थन्कियो

सोलुखुम्बु, फागुन १। माघ महिनाभरी एक किलो चामल पनि विक्री नभएपछि नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा चालम थन्किएको छ । बजार मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताएका छन् । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकेजी ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ । यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ । सोताङ डिपोमा विगत दुईवर्ष देखिनै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको प्रमुख रेग्मीले बताए । खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ । सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्वीन्टल चामल मौन्दात छ ।

पाल्पाबाट बाह्र करोडको सुन्तला निकासी

पाल्पा, माघ २९। यस वर्ष पाल्पाबाट रु १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसंगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पाल्पाबाट वार्षिक ५० हजार भन्दा बढी सुन्तलाका बिरुवासमेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् । जिल्लाको हिमाली क्षेत्रका जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो, जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भन्नुभयो– जिल्लाका हिमाली क्षेत्रका करिब दुई हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् । जिल्लाको छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त क्षेत्र मानिएको छ । पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा पनि भारतीय सुन्तालाको कारोबार यहाँ उच्च रहेको देखिन्छ ।

अर्थमन्त्रीले भने–“स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन”

धनगढी, माघ २९ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन्। राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘आर्थिक वर्ष २०७४ र ०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्रियामा उनले भने “राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो।” अर्थमन्त्री महराले “स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन,” भन्दै देशको समग्र अर्थनीतिको सवालमा अहिले देश निकै सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताए। कर र भन्सारका क्षेत्रमा सुधार गर्न लागिएको उल्लेख उनले भने– “देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको छ ।” अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका ७ नम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालले देशमा सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै अनुत्पादक क्षेत्रमा नभई उत्पादक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको समग्र विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायमा दश वर्षसम्म ‘कर फ्रि‘ गर्नुपर्ने लगायतका सुझाव दिए। कार्यक्रमका सहभागी उद्योगी, व्यवसायीले अर्थनीति करदाता मैत्री हुनुपर्ने, स्थानीय करको नाममा कृषिजन्य बस्तुको आयात निर्यातमा लिदैँ आएको दोहोरो कर हटाउनुपर्ने, ठूला करदाताका लागि सहज हुने ठाउँमा छुट्टै कार्यालय स्थापना गर्नुपर्ने र सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गर्नुपर्ने लगायतका सुझाव दिदै सुदूरपश्चिमको समग्र विकासका लागि ठोस नीति ल्याउनुपर्ने माग गरे।