सहकारी ठगीविरुद्ध काँग्रेसको विरोध प्रदर्शन आज

काठमाडौँ । सहकारी ठगीविरुद्ध विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शन गर्दै छ।सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाएर कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै संघीय संसद्मा निरन्तर अवरोध गर्दै आएको काँग्रेस अब त्यही मुद्दा लिएर विरोध प्रदर्शनका लागि सडकमा उत्रिएको हो । 

पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको काँग्रेसले यहाँका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा आइतबार काठमाडौंमा गृहमन्त्री लामिछानेको रवैयाविरुद्ध विरोध प्रदर्शन गरिने काँग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए । 

काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई भव्य बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् । प्रदेश सभापति बानियाँका अनुसार सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसद्भित्र सत्तापक्षका नेताहरूको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको विरुद्ध कांंग्रेसले प्रदर्शन गर्न लागेको हो । 

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले बजेट अधिवेशन सुरु भएयता संघीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ ।

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक भोलि बिहान बस्ने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार(आज) बस्न सकेन  शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो। तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्यमा समस्या देखिएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कार्यदल सदस्य शिशिर खनालले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ । शनिबार बसेको कार्यदलको बैठकले कार्यादेशको विषयमा लगभग सहमति जुटाएको र अन्तिम रुप शीर्ष नेताको बैठकले दिने कार्यदलको संयोजन गरेका कानुनमन्त्री पदम गिरीले बताएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : सीके राउत

कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सीके राउतले राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले समाजवादउन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए। “वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,” उनले भने। अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था नभएको बताए। उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रका रूपमा सामाजिक लोकतन्त्रको विषय उठाएको उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैंगिक विभेद न्यूनीकरण भएको जिकिर गरिन् । उनले अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक संकटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सत्तापक्ष र प्रतिपक्ष राखेर कार्यादेश टुंग्याउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमति नजिक पुगेको छ । कार्यदलमा जुटेको सहमतिलाई अन्तिम रुप दिन प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षी दुबैसँग बालुवाटारमा छलफल गरिरहेका छन्। कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक कानून मन्त्रालयमा बसेको थियो तर विषयको टुग्गो लगाउन प्रधानमन्त्रीले कांग्रेस र सत्ता पक्षका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरिरहेको कानून मन्त्री पदम गिरीले बताए । कार्यदलको बैठकमा सहकारी र कम्पनीको नाम उल्लेख गर्ने, तर गृहमन्त्री रवि लामिछाने व्यक्तिमा नजानेगरी छलफललाई निष्कर्षमा पुर्याउन लागिएको हो। यसका सहमति नजुटेपछि शीर्ष नेताहरूबिच छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्रीले पहल गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । प्रधानमन्त्रीसँगको बैठकमा कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल पिन सहिभाग छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता कृष्ण सिटौला सहभागी छन् । यस्तै सत्ता पक्षबाट एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ,सांसद विष्णु पौडेल सहभागी छन् ।  यस्तै, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे  सहभागी छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छैनन् । देउवालाई सन्चो नभएको बताइएको छ भने ओलीले पौडेल र महासेठलगायतलाई पठाएका छन् ।

कम्पनीको नाम तोकेर संसदीय समिति बनाउन ‘सहमति’ !

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलमा कम्पनीको नाम उल्लेख गरेर समिति बनाउने गरी सहमति बनेको बताइएको छ। शनिबार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा यस्तो सहमति जुटेको बताइएको हो । यद्यपी, शीर्ष नेताहरूबीचको बैठकपछि मात्र अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बनाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार, शीर्ष नेताहरूको बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। शीर्ष नेताहरूको बैठकपछि मात्र संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

सहमतिका लागि जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो। कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्न सहमति हुन सकेको छैन। 

सहकारी छानबिनसम्बन्धी समितिको कार्यादेशमा सहमति जुट्छ : पदम गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्।   गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताए। उनले सत्तापक्ष र प्रतिपक्ष लचिलो भएर टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।  उनले आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए। बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए।   उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्नो अडानबाट पछि हटिसकेको भन्दै मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए । उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिनपछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनको भनाइ छ।   मन्त्री गिरीका अनुसार आइतबार संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए।  उनले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे।  “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उनले भने। रासस

सहकारी प्रकरण  कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना के छ ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ।यद्यपी कानुन मन्त्री पदम गरीले कांग्रेस लचिलो भएको र छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

बालुवाटारको छलफल सकारात्मक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा छलफल सकारात्मक भएपनि भने भएन।  शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सकारात्मक छलफल भएको नेताहरुले बताएका हुन्।यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिए भने सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।  

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे। उनले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए।  सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पर्‍याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे ।

बालुवाटारमा शीर्ष दलको बैठक जारी

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, रमेश लेखक सहभागी छन् ।   सहकारीको बचत रकम अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गर्न लागिएको बताइएको छ।  प्रतिपक्ष नेपाली कांग्रेस समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडानमा छ। सत्तापक्ष रविको नाम किटान गर्न नहुने अडानमा छ। दुवै पक्षको आ–आफ्नो अडानका कारण सदनको गतिरोध अन्त्य हुन सकेको छैन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका विषयमा पनि बैठकमा छलफल हुन लागेको बुझिएको छ।  

कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेस्नलकी महासचिव कालामारबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहेकी एम्नेष्टि इन्टरनेस्नलकी महासचिव डा। आग्नेस कालामारले भेट गरेकी छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँगको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारको विषयमा उनले चासो राखेकी थिइन्।

राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभा र जर्मनी भ्रमणमा निस्कने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा हुनेछन् । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत भने गरिसकेको छैन ।

जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैन  : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताएका छन्।  नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १ १८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिए।  उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराए। सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उनले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिए।  “प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवा सुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ”, उनले भने । सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रूपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।  प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी सङ्कलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिए। उनले लैङ्गिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रूपमा प्रहरी सङ्गठन खरो रूपमा उत्रिनुपर्ने बताए।  समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो। सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले दीक्षित भई कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतलाई शपथ ग्रहण गराएका थिए।  समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए। 

कांग्रेसको विरोधपछि संसद बैठक स्थगित

काठमाडौं । कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ। शुक्रबारको पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने छ।

कार्यदलले सकेन ‘टीओआर’ टुंग्याउन, शीर्ष नेतासँग सल्लाह गर्ने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि बन्ने संसदीय समितिको क्षेत्राधिकार ‘टीओआर’ बनाउने कार्यदलको बैठक बिनासहमति टुंगिएको छ। बिहीबारको बैठकमै दुवै पक्षले एक अर्कालाई लचक भएको भनेर सहमतिनजिक रहेको सन्देश दिन खोजिएको भएपनि आजको बैठक बिनासहमति नै टुंगिएको हो । स्रोतका अनुसार नेपाली कांग्रेसले लामिछानेको नाम नराखी समितिको टीओआर बनाउन अहिले पनि सहमति दिएको छैन। नेपाली कांग्रेसले गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेमाथि छानबिन गर्ने भन्ने नरम भाषा बनाउन प्रस्ताव गरेपछि त्यसमा सत्तारूढ दलहरूले आफ्ना नेतासँग सहमति लिने खोजीमा निस्किएका हुन् ।